त्रियुगा १५ का पहिरो पीडितलाई राहत वितरण


उदयपुर ।

 एक साता अघि असार २५ गते अत्यधिक वर्षाका कारण पहिरोले घर बगाएर विस्थापित भएका त्रियुगा नगरपालिका १५ खाँबुको रानीवास तोरीबारी गाउँका पहिरो पीडित विस्थापितहरूलाई  जिल्ला समन्वय समिति उदयपुरका प्रमुख गौर बहादुर विश्वकर्मा र त्रियुगा नगरपालिकाका पूर्व नगर प्रमुख बलदेव चौधरीले बुधबार राहत वितरण गरेका छन् ।

एक साता अघि निरन्तर ३ दिनसम्म पानी परेका कारण माटो गलेर घरमाथिको पहिरो झर्दा चेतन समाल मगरको  छोरी ८ वर्षिया बालिका रुपकला मगरको ज्यान गएको थियो भने उनकी आमा हिराकुमारी मगर घाइते भै उपचारका लागि धरान लगिएको थियो । 

पहिरोका कारण तोरीबारी गाउँका करिब १५ घर परिवार विस्थापित भएको र सबै विस्थापितलाई (५२जना) रानीबास स्थित जनता माध्यमिक विद्यालयको भवनमा स्थानान्तरण गरिएको छ भने कतिपय घरहरु पहिरोले पुरिदा २९ थान बाख्रा, १३ थान सुँगुर लगायतका चौपाया समेतको ज्यान गएको थियो । २ थान खसी बाख्रा र १३ थान सुँगुरले ज्यान गुमाउँदा करिब  १५ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

विद्यालयमा आश्रय लिएर बसेका र ज्यान गुमाएका तथा घाइते भएका परिवारलाई लक्षित गरेर नेपाल कम्युनिस्ट पाटी समाजवादीका केन्द्रीय सदस्य रहेका पूर्व नगर प्रमुख चौधरीले १० परिवारलाई एक एक थानका दरले ग्यास सिलिण्डर, चुल्हो, दाल,चामल, नुन, तेल, साबुन लगायतका खाद्यान्न कपडा बुधबार राहत स्वरुप वितरण गरेका छन् ।