मेसी डेढ महिना मैदान बाहिर


एजेन्सी ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसी करिब डेढ महिना मैदान बाहिर बस्नुपर्ने अर्जेन्टिनी मिडिया टीवाईसी स्पोर्ट्सले जनाएको छ। टीवाईसी स्पोर्ट्सका अनुसार खुट्टामा चोट लागेर कोपा अमेरिकाको फाइनलबीचमै छोड्नु परेका मेसी कम्तीमा पनि ४०–४५ दिन मैदान बाहिर रहने बताइएको छ।

कोपा अमेरिकाको फाइनल खेल दौरान मेसीले चोट बोकेका थिए। चोटकै कारण उनले दोस्रो हाफमा खेल्न नसकी मैदान छाडेका थिए । बेन्चमा बसिरहँदा पनि मेसी भक्कानिँदै रोएका थिए।

मेसीको गोलीगाँठोमा चोट लागेको थियो। उक्त खेल दौरान नै मेसीको खुट्टा सुन्निएको थियो भने उनले राम्रोसँग टेक्न पनि सकिरहेका थिएनन्। तर, उनीबिना पनि अर्जेन्टिनाले कोलम्बियालाई हराएर लगातार दोस्रोपटक कोपाको उपाधि भने जित्न सफल भयो । मेसीका लागि यो लगातारको तेस्रो शीर्ष उपाधि बनेको छ । तर, फाइनल खेलमा दौरान चोटग्रस्त बनेका मेसीले अब लामो समय फुटबल खेल्न नसक्ने भएका छन्।

कोपा अमेरिकामा मेसीले ६ म्याचमा एक गोल र एक असिस्ट गरेका थिए । अब मेसी इन्टर मायमीले खेल्ने केहि महत्वपूर्ण खेलहरूमा भने उपलब्ध हुने छैनन। उनको चोट सामान्य नरहेकाले उपचार गर्न र निको हुन महिनौंसम्म लाग्न सक्ने भनिएको छ।

यता, मेसी कोपा खेल्न गएका बेला मायमीले मेसीबिना ६ म्याच खेल्दा ५ खेल जितेको छ। तर, पछिल्लो खेलमा चाहिँ ६–१ को फराकिलो गोलअन्तरले पराजय ब्यहोरेको थियो।

मेसी डेढ महिनासम्म मैदान फर्किन सकेनन् भने उनले सबैखाले प्रतियोगितामा गरी ८ खेलसम्म गुमाउन सक्छन्। घरेलु लिगमा अहिले मायामी दोस्रो स्थानमा छ ।