ब्राजिल फुटबलको पर्याय हुन सकिरहेको छैन


एजेन्सी ।

ब्राजिल भन्नासाथै सुन्दर फुटबल खेल्ने र महान खेलाडी पेलेको देश भनेर चिनिन्छ। साथै ब्राजिललाई फुटबलको पर्याय पनि भनिन्छ । तर, केही दशकदेखि ब्राजिल यो भनाईभन्दा विपरित दिशामा गइरहेको छ। ब्राजिलको कमजोर प्रदर्शन जारी रहेको भर्खर सकिएको कोपा अमेरिका प्रतियोगिताले देखाएको छ ।

यस्तै, ब्राजिल यसै जुलाईमा शुरु हुने पेरिस ओलम्पिकमा पनि छनोट हुन सकेन। अर्को दुई वर्षपछि हुने विश्वकपमा छनोट हुन संघर्ष गरिरहेको छ । ब्राजिल विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोट समूहमा छैटो स्थानमा रहेको छ।

ब्राजिल ५ पटकको विश्वकप उपाधि जित्ने एक्लो टोली हो। ब्राजिलले १९५८, १९६२, १९७०, १९९४ र २००२ वर्षमा विश्वकप जित्न सफल भएको हो। यति ठूलो उपलब्धि हासिल गरेको ब्राजिलको प्रदर्शन अहिले बिर्सनलायक भइरहेको छ।

विश्वकपमा २००२ मा उपाधि जितेपछि ब्राजिलले अघिल्ला ५ विश्वकपमा राम्रो प्रदर्शन गर्न सकेन । पाँचै वटा संस्करणमध्ये एकमा पनि फाइनल पुग्न सकेन । यहाँसम्म कि २०१४ मा आफ्नै देशमा आयोजित विश्वकपमा समेत फाइनल पुग्न अक्षम भयो । २०१४ को विश्वकपअन्तर्गत सेमिफाइनल खेलमा जर्मनीसँग ७–१ ले लज्जास्पद हारले ब्राजिलका लाखौं समर्थक निरास बन्नुपर्‍यो।

ब्राजिलका पूर्व स्ट्राइकर ग्राफेटले बताए—अहिलेको खेलले ब्राजिललाई फुटबलको पर्याय भन्न सकिँदैन । पेले, रोमारियो, रोनाल्डो, रोबिन्हो, रोनाल्दिन्हो जस्ता महान खेलाडीले ब्राजिली फुटबलको उँचाई बढाए। तर, अहिले खोई त्यो प्रदर्शन ?
प्रशिक्षक र खेलाडीको रूपमा विश्वकप जितेका मारियो जगालोले घरेलु प्रतिभावान खेलाडीलाई यृुरोपमा बेच्नु नै घाटा भएको बताए । २०१४ को विश्वकपमा ब्राजिल हारेपछि नै खेलाडीलाई युरोपमा खेलाउन नहुने उनको चेतावनी आएको थियो । उनले बताए—प्रतिभावान खेलाडीलाई बाहिर खेलाएमा खेलाडीको परिचय नै गुम्ने अवस्था हुन्छ ।

ग्राफेटले ब्राजिली खेलाडीको खेल्ने शैली युरोपेलीको जस्तो भएको पनि आरोप लगाएका छन् । हाल ४४ वर्षका उनले बताए–युरोपमा खेल्दा युरोपेलीको प्रभाव पर्नु स्वभाविक हो । तर, यही शैलीले नै ब्राजिललाई डुबाएको छ । यसको ज्वलन्त उदाहरण कतारमा भएको गत विश्वकप थियो । जसमा, ब्राजिल युरोपेली राष्ट्र क्रोएसियासँग पराजित भएको थियो ।

ब्राजिलका सयौं खेलाडी प्रत्येक वर्ष युरोपमा खेल्न जान्छन्। नेयमार जुनियरले पेरिस सेन्ट जर्मेन र बार्सिलोनामा खेले । नयाँ प्रतिभावान खेलाडी भिनिसियस जुनियर २०१८ मा रियल मेड्रिड पुगेका थिए। एन्ड्रीक गत वर्ष रियल मेड्रिडमा आवद्ध भए । प्रिमियर लिगमा खेल्नेहरू डगलस लुृइज, लुकास पाक्वेटा, जोआओ गोमेज, बु्रनो गुलमारेज, रिचार्लिसनले इंग्ल्यान्डमा मोटो कमाइ गरिरहेका छन् । यी खेलाडी क्लबका लागि भने मरिमेटेर खेल्छन् तर, ब्राजिलका लागि खेल्दैनन् । यो आरोप लागिरहेको छ ।