महिला लिगको लागि ९ करोड विनियोजन

लिग भदौमा हुने


काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला लिगअन्तर्गत आगामी तीन संस्करणका लागि ९ करोड रुपैयाँ विनियोजन गरेको छ। एन्फाको बुधबार बसेको भर्चुअल बैठकले महिला लिगको तीन संस्करणः सन् २०२४, २०२५ र २०२६ का लागि कूल ९ करोड ७ लाख ६३ हजार ५७३ रुपैयाँ विनियोजन गरेको हो ।

एन्फाले महिला लिग २०२४ का लागि २ करोड २४ लाख ६८ हजार ६९८ रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, महिला लिग २०२५ छनोटको लागि ८१ लाख ७३ हजार ५७१ रुपैयाँ र महिला लिग २०२५ को लागि २ करोड ५२ लाख ७२ लाख ७ लाख ९५ रुपैयाँ छुट्टयाएको हो ।

महिला लिग २०२६ छनोटका लागि ९१ लाख ९३ हजार २१४ रुपैयाँ र महिला लिग २०२६ का लागि २ करोड ५६ लाख ५५ हजार २९५ रुपैयाँ छुट्याएको छ ।

यसैगरी विगत दुई वर्ष देखि रोकिएको महिला लिगको नयाँ संस्करण भदौ तेस्रो साता देखि सुरु हुनेछ । बैठकले एन्फा महिला लिग २०२४ आगामी भदौ १६ गतेदेखि गर्ने निर्णय गरेको हो । प्रतियोगितामा छनोट चरण पार गरेर १० टोलीले खेल्न तयार भएका हुन् ।
सहभागि हुने १० टोली
त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल प्रहरी क्लब, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, संकटा क्लब, बागमती युथ क्लब, वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका ।
–पुरै प्रतियोगितामा ६९ खेल हुने
–शुरुको सिंगल राउन्डमा कूल ४५ खेल हुने
–उत्कृष्ट ५ टोलीबीच सुपर लिग हुने
–सुपर लिगमा २० खेल हुने
–सुपर लिगका ४ उत्कृष्ट टोलीबिच क्वालिफायर, इलिमेनिटर र फाइनल खेल हुने