नयाँ सरकारप्रति भारत–चीनको चासो !


जीवन शर्मा, काठमाडौं ।

प्रतिनिधिसभाका मुख्य दुई दल कांग्रेस–एमाले सम्मिलित नयाँ सरकार गठन भएसँगै दुई ठूला छिमेकी मुलुक भारत र चीनको चासो बढेको छ । प्रतिपक्षी बेन्चलाई कमजोर बनाएर करिब दुईतिहाइ बहुमतको शक्तिशाली सरकार गठनसँगै अघिल्ला सरकारहरूका तुलनामा दुवै छिमेकीले चासो बढाएको देखिएको हो ।

नयाँ सरकार गठनपछि सामान्य बधाई तथा भेटघाट गर्ने नियमित प्रक्रिया भए पनि कांग्रेससहितको समर्थनमा बनेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन देखिएको जानकारहरू बताउँछन् । भूराजनीतिका जानकार शंकर तिवारी भन्नुहुन्छ– ‘छिमेकी मुलुक भारत र चीनले उनीहरूको स्थायी स्वार्थका लागि ठूला दलहरू मिलेर बनेको यो सरकारप्रति केही असहजता महसुस गर्न सक्छन् । अहिले घरेलु ठूला शक्तिहरू मिलेर सरकार बनाएकाले आफूतिर सकारात्मक बनाउने कोसिसमा उनीहरूको प्रयत्न हुन सक्छ । तर, घरेलु पक्ष मिलेपछि उनीहरूको केही लाग्दैन ।’

प्रायःजसो सामाजिक सञ्जालमार्फत् बधाई दिने निरन्तरताको क्रम भंग गर्दै नेपालस्थित भारतीय र चिनियाँ दूतावासले पुष्पगुच्छासहित भेटेरै बधाई दिइरहेका छन् । नेपालको राजनीतिक अस्थिरतामा खुसी मान्ने यी दुवै मुलुकले स्थिर सरकार बनाउने सहमति भएको कांग्रेस–एमालेको मिलनका विषयमा कुनै सार्वजनिक वक्तव्य आएको छैन । प्रतिपक्षमा कमजोर समर्थन र सत्तापक्षलाई बलियो बनाइएको विषयमा दुवै मुलुक खुसी छैनन् । यद्यपि, उनीहरूले सरकारलाई आफ्नो पक्षमा सकारात्मक बनाउने प्रयत्नस्वरूप भेटघाटलाई प्रतिस्पर्धात्मक बनाएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नवनियुक्त मन्त्रीसँगको भेटलाई तीव्रता दिनुभएको छ। उहाँले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालगायत मन्त्रीसँगको भेटलाई निरन्तरता दिनुभएको छ । उक्त भेटमा द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको बताइएको छ । भेटमा नेपाल–भारत सम्बन्ध र सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बुधबार ऊर्जा मन्त्रालयमा भएको भेटमा नेपाल–भारत ऊर्जा सहकार्यका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता गरिसकेकाले यसलाई सफल कार्यान्वयन गर्न मन्त्रालयले नीतिगत पहल गर्ने नवनियुक्त ऊर्जामन्त्री खड्काले प्रतिबद्धता जनाउनुभएको छ।

सोमबार शपथग्रहण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदूत छन सङले भेट गर्नुभएको थियो । भेटमा दुई देशको समयबाट प्रामाणिक व्यावहारिक काम द्रुत रूपमा बढाउने बारे छलफल भएको राजदूत सङले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ । त्यस्तै, राजदूत छनले बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणासँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

परराष्ट्रमन्त्री आरजु राणा देउवा र राजदूत छन सङबीचको भेटमा दुई मुलुकबीचको बहुआयामिक सम्बन्धको विषय र सहकार्यको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ राजदूत छनका अनुसार उक्त अवसरमा अर्को वर्ष चीन र नेपालबीचको कूटनीतिक सम्बन्ध ७० वर्ष पुगेको अवसरलाई मनाउने विषयमा पनि छलफल भएको थियो। राजदूत छनले अरू मन्त्रीहरूसँगको भेटलाई समेत निरन्तरता दिँदै हुनुहुन्छ। नयाँ सरकार गठनपछिको उनीहरूको दौडधुपलाई राजनीतिक तथा सार्वजनिक रूपमा चासोका साथ हेरिएको छ।