मुक्तिबन्धु
एकदिन बिहान प्रातः भ्रमणका क्रममा काठमाडौँको बालाजु चोकनिर रहेको आफ्नो निवासबाट बालाजुकै बाइपासतिर जान लागेको थिएँ, बाटोमा देखिए–भेटिएका रैथाने र विदेशी नागरिकहरु गन्दै गएको थिएँ, १० मिनट हिँडाइको त्यति छोटो दूरीको सडक बाटोमा ८२ जना मानिस भेटिँदा १५ जना मात्र रैथाने नागरिक थिए । यसै त म जुन टोलमा छु त्यस टोलमा ६०–७० घर होलान्, तिनमा डेरा गर्नेहरु ९०–९५ जना विदेशी छन् । अर्थात् भारतको विहार, बङ्गाल र युपीका छन् । हाम्रो टोलमा तरकारी र फलफूल बेच्न आउने साइकलवालाहरु सबैजसो विहारी नै छन् ।
यसबीच शङ्का जाग्छ, उपत्यकामा जति व्यापारी र कबाडी खोजन्ते, फिरन्तेहरु छन् ती सवै विहारी, बङ्गाली र युपीवाला मात्र होलान् र ? कति त हामै्र मधिसे दाजुभाइ पनि होलान् । तिनलाई मैले नभेटेको हुन सक्छ । नचिनेको हुन सक्छ । अनुहारका भरमा हचुवामा हेरेर मैले कसरी विश्लेषण गर्ने ?
सीताको जन्मभूमि मिथिलाको पवित्र माटोमा जन्मे–हुर्केका हाम्रा रैथाने गौरवशाली नेपालीहरुले आफूलाई मधिसे र प्रदेशलाई मधेस नाम राखेको मलाई पटक्कै उचित लागेको छैन । यो त आफ्नै टाउकोमा आफैँले बन्चरो हान्नुजस्तै प्रकृतिको आत्मघात हो । आत्मघात नै प्रकारान्तरले राष्ट्रघात पनि हो । यसै प्रदेशका आडमा अनगिन्ती विहारीहरु नेपालीमा रुपान्तरण भएका छन्, हुँदै पनि छन् भनिन्छ । त्यसै हो भने यो कम्तीको राष्ट्रघात होइन ।
मैले जानेबुझेसम्म माथि बयान गरिएकाहरुमा हाम्रा तराईका रैथाने नेपाली छैनन् । रहेछन् भने पनि नगण्य छन्, न्यून छन् । ती न्यूनहरुसँग क्षमा मागेरै मैले यो लेख प्रस्तुत गर्नुपर्छ ।
मेरो जिज्ञासा कति मात्र हो भने, यो गरिब मुलुकको निष्ठुर शहरमा कबाडी खोजन्ते, फिरन्तेहरुको यति ठूलो जनसङ्ख्या कबाडीकै आधारमा बाँचे–हिँडेका होलान् त ? एउटै गल्लीमा एकै दिन बीसौँजना कबाडी खोज्न हिँड्छन् । यहाँ घरघरमा फलाम खानी छैन । पशुपतिनाथले पनि यिनलाई पाल्न सकेका छैनन् । नाना थरी तान्त्रिक, मान्त्रिक भस्मासुरहरुलाई पाल्दैमा पशुपतिनाथको पशुपति विकास कोष रित्तिने गरेको यथार्थ जगजाहेरै छ ।
यी कबाडी खोजन्ते, फिरन्तेहरु नेपालका हरेक शहरमा छापछाप्ती देखिन्छन् । राजधानी उपत्यकामा त लाखौँ छन्। बिहान हरेक गल्लीबाट यिनीहरुको साइकलवाला जुलुस निस्कन्छ र हरेक गल्लीमा यिनको साइकलवाला जुलुस नारा लाउँदै पस्छ ।
तिमी को हौ ? कहाँबाट आयौ ? के नियतले आयौ ? तिमीहरुको यो साइकल र नाराले तिमीहरुलाई कसरी पाल्छ ? तिमीहरुलाई सुटुक्क दानापानीको व्यवस्था दिएर पाल्ने पालनहार को छ ? तिमीहरु जे देखिन्छौ, त्यही त हौ ? सोध्ने चेतना हामी शहरिया सभ्यहरुमा पलाएको छैन । नबोल्नु र वास्ता नगर्नुमै हामी शहरिया छौँ । सभ्य छौँ । बुद्धिमान् छौँ । बोल्यौँ, चासो देखायौँ भने हामी पाखे हुन्छौँ । हामी पाखे हुन चाहँदैनौँ ।
दृष्टान्तका लागि एकछिन् भुस्याहा कुकुरहरुकै कुरा गरौँ, कुकुर जहाँको आओस्, जस्तोसुकै आओस्, हाम्रो गल्लीमा आएपछि हामी त्यसलाई बिस्कुट खुवाउन रमाइलो मान्छौँ । यसैले हाम्रा शहरहरुमा घरघरभित्र विज्ञापनसहितका ठूलाबडा विदेशी कुकुरहरु छन् भने सडक गल्लीहरुमा आबारा कुकुरहरु छन् । ती पनि दुर्पन्न दिल्लीका जस्तै, विहार र युपीका जस्तै रुपरङ्ग र प्रकृतिका आबारा कुकुरहरु बढी छन् । मेयर बालेन ठिक्कै भन्छन्, एउटा गल्ली खाली बनाउँदा अर्को गल्लीबाट पस्छन्, भरिन्छन् । सबै गल्ली खाली बनाउँदा दच्छिना अलच्छिना छिमेकी मुलुकबाट पस्छन् । नेपालमा कुकुर व्यवस्थापन गर्न छिमेकीकै कारण पनि सम्भव छैन । खुल्ला सिमानाका कारण पनि सम्भव छैन ।
कुरा कुकुरहरुको मात्र छैन । कुरा मान्छेहरुको पनि छ । मान्छेहरु जो रैथाने होइनन्, परिचित पनि होइनन् । को हुन् ? कहाँका हुन् ? के–कस्तो नियतले छ्याप्छ्याप्ती भएका छन् ? जानकारीभित्रका पनि होइनन् । सर्वथा अपरिचित मान्छेहरु हाम्रा सडक गल्लीहरुमा छ्याप्छ्याप्ती भएका छन् । बृहस्पति अस्ताएको समय त भैगयो, उदाउँदा पनि हाम्रो चेतनाकाशमा उदाउन छोडेको समय छ । यसै भएर हामी सामान्य नीति र दुश्मनको राजनीतिमाथि गम्भीर हुन छाडेका छौँ ।
यस्य न ज्ञायते शीलं न कुलं न पराक्रमम् । न तेन सङ्गतिं कुर्यात् इत्युवाच वृहस्पतिः । अर्थात् जसको शील–स्वभाव थाहा छैन, कुल–परम्परा–परिवार थाहा छैन, राजनीतिक सामरिक क्षमता थाहा छैन, त्यस्तासँग नजिक नहुनु अर्थात् आफूभित्र प्रवेश नदिनू । यो बृहस्पतिले दिनुभएको सल्लाह हो ।
यी सडक गल्लीका छ्याप्छ्याप्ती अपरिचित मनुवाहरु को हुन् ? के हुन् ? यिनको शील, स्वभाव, कुल, परम्परा, परिवार, राजनीतिक सामरिक क्षमता के हो ? हामीलाई थाहा छैन । थाहा पाउन प्रयत्न पनि छैन । सडकमा निस्कँदा, सार्वजनिक बसबाट सहायक चालक कराउँछ– सिट खाली, सिट खाली । बस कुरी बसेकाहरु तँछाड मछाड शैलीमा हुर्रिएर बसमा चढ्छन् । हाम्रा गाउँघर र शहरमा पनि हरेक क्षेत्रमा कामदारहरु छैनन् । विदेश पसेका छन् । जताततै सिट खाली छ । विहारी आऊन्, बङ्गाली आऊन्, युपीवाले आऊन्, रोहिङ्ग्या आऊन्, पस्न पाएका छन् । कामदारका भेषमा चोर, फटाहा, लुच्चा, छुच्चा, डाँका, ज्यानमारा, सुराकी, खुराकी जो जहाँबाट आऊन्, ढोका खुल्ला छ, सिट खाली छ ।
कुरा कबाडी सेनाको मात्र छैन । सडकपेटी निर्माण क्षेत्र, कृषि क्षेत्र, भवन निर्माण क्षेत्र, ठूला सडक निर्माण क्षेत्र, बाथरुम, भान्छा निर्माण, धारा–बिजुलीका जडान, मर्मत, हरेक क्षेत्रमा कामदारका सिट खाली छ । ग्यास चुल्हो मर्मत गर्ने, हतियार साँध लाउने, सिरक–डस्ना बनाउने सवै सिट खाली छन् । सिकर्मी, डकर्मी, नकर्मी सबै कर्मीका सिट खाली छन् ।
मुलुकका चालकहरु आफैँ ढोकामा उभिएर कराइरहेका छन् । कति चालकहरुकै पनि सिट खाली छ । बजारमा रैथाने पसले युवायुवतीहरु भिसा लागेर विदेश पलायन भइसकेका छन् । अब पसलहरुमा पनि पसलेका सिट खाली छन् । पसलहरु रित्ता छन् । घरहरु रित्ता छन् । पसल मालिकहरुको मात्र होइन, अब घर मालिकहरुकै पनि सिट खाली छ ।
पहिले तराईमा मात्र पस्थे, बस्थे । अब नेपालको नागरिकतालगायत सर्वाधिकार पाएका महान् भारत रत्न राजेन्द्र महतोहरुका योजनाबद्ध नेतृत्वमा पहाडी र हिमाली भेगतिर पनि पस्न–बस्न पुगेका छन् कबाडी सेनाहरु । सरकारले जनता लखेटेर जताततै सिट खाली जो गराइदिएको छ, खाली सिट भेटिएपछि उभिनुपर्दैन, थ्याच्च बस्नै पाइन्छ, गर्मीले आलसतालस भैँसीले पानीको अहाल भेटेपछि सरासर पसेर थ्याच्च बसेजस्तै । दृश्य हेरिबसेका सीमापरिका बूढापाकाहरु भन्दा हुन्, ‘गैल भैँस पानीमे ।’ पहिले–पहिले नोक्सानको अनुभूति हुँदो हो यो, अहिले नाफाको अनुभूतिमा छ। नेपाल पसेपछि ढुक्क । त्यहाँ सिटको सरल व्यवस्था छ । सरकारमा आफ्नै आफन्तहरु छन् । फरक पर्दैन । जाऊ, नागरिकता लिऊ, राजनीति गर, बिचौलिया बन, अथवा जे जानेको छ त्यो गर, कमाऊ । काठमाण्डुका हवापानी अच्छा है । बहुत अच्छा है । मजा आएगा ।
घरघरमा जय शम्भो भन्दै मागिहिँड्ने भगवा वस्त्रधारी, त्रिशूलधारी, भस्मधारी, जटाधारी, विविध भेषधारी जोगी सबै विदेशी, सडकमा हिँडेर, पेटीमा बसेर विभिन्न हावभाव, अभिनय र दीनता प्रदर्शनसहितका अवस्था र अनुहारमा मागिहिँड्ने मगन्तेहरु विदेशी, सपाङ्ग, अपाङ्ग, बूढाबूढी, तन्नेरी–तरुनी जे–जस्ता पनि मगन्ते विदेशी भेटिन्छन् । काठमाडौँको गल्लीदेखि नयाँसडकसम्म साडी, चोलो र गहनाले झरिझुट्ट हुँदै एक हातमा नोट देखाउँदै अर्को हातले नोट मागिहिँडेका युवतीहरु पनि हिजोआज देखिएका छन् । ती कुन लिङ्गी हुन् ? जुनसुकै लिङ्गी भए पनि ती नेपालीचाहिँ होइनन् । अब त मिलोस् वा नमिलोस्, टाउकामा नेपाली टोपी भिरेर सडक, बसपार्क जताततै मागिहिँड्ने विदेशी बालबालिकाको हुल पनि देखिन थालेको छ ।
माथि सरकारदेखि ऐन–कानुन, वातावरण मिलाएर सल्लाहकार, ठेकदार, मतियार, वंशज, जन्मसिद्ध, अङ्गीकृत आदि इत्यादि परिधानमा सरक्क–सुटुक्क नेपाली नागरिक हुँदै हाकिम, बडाहाकिम, मन्त्री पद पड्काएका विदेशीहरु छन् । पत्रकार, व्यापारी, बिचौलिया तथा तस्कर बनिआएका विदेशीहरु छन् । कतिले राजधानीलगायत शहरमा महल उभ्याइसकेका छन् । यसरी राजनीतिमा, व्यापारमा, कृषिमा, दलालीमा, तलदेखि माथिसम्म याचकदेखि नेतृत्व तहसम्म विदेशीले ढपक्कै ढाक्दे जान थालेपछि नेपाल कति नेपाल रहला ? कहाँ नेपाल रहला ? सिमानाका व्यथा–कथा त उकुज पल्टिसकेकै छ । कति चोक्टा लुछिइसकेका छन् । जनसमाजमा भित्रभित्रै पनि घाउ बनाएर झिँगा भन्कने क्रम अरु बढेको छ ।
हाम्रा नेपाली द्रष्टाहरु माथि–माथि उडेर हेर्छन् अथवा गाडीमा गुडेर हेर्छन् । कथंकदाचित् धर्तीमा उत्रेरै हेरे पनि सिंहावलोकन हेर्छन्, विहङ्गावलोकन हेर्छन् । यस्ता अवलोकनमा खास केही देखिएलाजस्तो पनि लाग्दैन । धेरै माथिबाट हेर्दा हात्ती पनि कमिला देखिन्छन् । धर्तीमा उत्रेर नजिकैबाट हेर्नेमा पनि आँखाका सवाल छन् । हेर्ने आँखा र देख्ने आँखा फरक हुन्छन् । देख्ने आँखा नभएकाहरु हेर्न त हेर्छन् तर देख्दैनन् । नेपालबाट रित्तिँदै गएका स्वदेशीहरु र भरिँदै गएका विदेशीहरुलाई फरक छुट्याएर छर्लङ्ग देख्ने आँखाहरु पनि नेपालमा छन् ? छन् भने कहाँ छन् ? राष्ट्रिय परिचय पत्र बनाउन फोटो खिचाइरहेका छन् कि माथि बसेर त्यसको हिसाबकिताब मिलाइरहेका छन् ? अथवा किंकर्तव्यविमूढ बनेर आपसमै रोइरहेका छन् ? देशभक्त नेपालीहरुका लागि यो आज एक गम्भीर चिन्ताको विषय बनेको छ ।
प्रतिक्रिया