पीडित परिवारको सम्बोधन होस्



भारी वर्षासँगै फैलिएको सरुवा रोगको प्रकोपका साथै बर्सादकै कारण भएका विभिन्न दुर्घटनाले आम नागरिक आक्रान्त भएका छन् । यसले पार्ने स्वास्थ्य र सामाजिक समस्याका विषयमा सरकार गम्भीर हुनै सकेको छैन । सरकारले सडक निर्माण तथा मर्मत सम्भारका लागि जति पनि काम गरेको छ, यो हचुवाको भरमा कमिसनका लागि गरेकाले हरेक दिन सडक दुर्घटना, बाढी, पहिरोका घटना भइरहेका छन् ।

यसले नागरिकको धनजनको क्षति हुँदा ठूला संख्यामा शारीरिक र मानसिक स्वास्थ्य समस्या बढाएको छ। उता सरकार स्थिर हुन नसक्दा नेता तथा मन्त्रीहरुले पदभार सम्हालेलगत्तै गरेका प्रतिबद्धता कति पूरा गरे वा गरेनन् भन्ने विषयमा लेखाजोखा गर्ने निकाय कतै छैन । यिनै कारणले नेताहरुले सस्तो लोकप्रियताका लागि आम नागरिकलाई सधैँ झुटा आश्वासन मात्र दिइरहेका छन् । निर्वाचनका समयमा हरेक राजनीतिक दलमा आ–आफ्ना पार्टीका घोषणापत्र को भन्दा को कम भनेर नागरिकसामु ल्याउँछन् । चुनाव सकिँदा ती घोषणापत्रको पनि आयु सकिन्छ ।

यसरी नै देश र नागरिकलाई अन्योलको अवस्थामा पुर्‍याउँदै आएको नेपालका राजनीतिज्ञहरुको खेलका कारण नेपाली जनताले अकालमा ज्यान गुमाउनुपरेको छ । यो वर्षमा मात्र बाढी, पहिरोमा परी १ सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने कैयौँ शारीरिक र मानसिकरुपमा घाइते भएका छन् । यतातर्फ सरकारको ध्यान कहिले जाने ? गत शुक्रबार एकैपटक चितवनमा दुईवटा गाडी त्रिशूली नदीमा बेपत्ता हुँदा गाडी, गाडी चालकलगायत त्यसमा सवार अधिकांश यात्रुको अहिलेसम्म पत्तो नलाग्दा ती परिवारमा कस्तो पीडा भएको छ भन्ने विषयमा न त राजनीतिक दलका नेताहरुलाई पोलेको छ, न सरकारलाई नै ? पोलेको छ त पीडित परिवार र घटनालाई नजिकैबाट नियालेका स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीलाई ।

सरकारले तदारुकताका साथ पीडित परिवारलाई क्षतिपूर्ति दिनेदेखि घर–घरमा पुगेर उनीहरुको मानसिक, शारीरिक स्वास्थ्य अवस्थाका बारेमा चासो दिई आवश्यक व्यवस्था गरोस् । चितवनका होटल व्यवसायीहरुले खोजी कार्यमा जुटेका व्यक्तिहरुका लागि गाँस, बासको निःशुल्क व्यवस्था गरी मानवीयता देखाए । उनीहरुलाई सरकारले स्याबासीसम्म दिन सकेन । आफूले गर्नुपर्ने व्यवस्था नागरिकले गर्दा धन्यवादसम्म भनेन । सरकार यति निर्लज्ज नबनोस् । पीडित परिवारको उचित सम्बोधन गरी समयमै व्यवस्थापन गरियोस् । सरकार भाषणमा हैन, व्यवहारमा जिम्मेवार बनोस् ।

त्रिशूलीमा पहिरोमा परी हराएको बसका चालककी श्रीमती वीरगन्ज महानगरपालिका–१६ की प्रतिमा महतो पटक–पटक आफ्ना पतिको सम्झनाले छटपटाई अर्धचेत अवस्थामा छिन् । चालकका वृद्ध बाबुआमा, बालबच्चा, परिवारका सदस्य सबै पीडामा छन् । सरकारले बेपत्ता एवं मृतक परिवारका परिवारलाई समयमै सम्बोधन गरी आवश्यक सहयोग गरोस् ।