त्रियुगा ६ का दर्जन बढी घर र धानखेत उच्च जोखिममा

56
Shares

उदयपुर ।

त्रियुगा नगरपालिकाको वडा नं ६ का केही गाउँका दर्जन बढी घर तथा गोठहरु वर्षाको कारणले पहिरो, डुवान तथा कटानको उच्च जोखिममा रहेको अनुगमनबाट देखिएको छ ।

त्रियुगा नपाको ६ नं वडालेसोमबार र मंगलबार दुर्य दिन गरेको अनुगमनबाट खोला किनारमा रहेको जलजलेका केही घर, सिसुवारी खोला, अमिली खोला, बोजे खहरे, गडमे खोला सुकलाई खोला लगायतकाले धानबाली लगाएको खेत, बोटविरुवा लगाएको बारीकटान गर्नुका साथै बस्तीमा समेत पसेर डुवान गर्न सक्ने अवस्था रहेको छ । केही घरहरुलाई समेत पहिरोले झार्ने, बगाउने, बाढीको पानी पसेर क्षतीग्रस्त बनाएर स्थानीयलाई विस्थापित पार्न सक्ने उच्च जोखिम रहेको छ ।

६ नं वडा कार्यालयले वडाध्यक्ष योगेन्द्र बहादुर दाआलको संयोजकत्वमा वडा सचिव दुर्गा भट्टराई सदस्य सचिव रहेको २१ सदस्यीय वडा स्तरीय विपद् व्यवस्थापन समिति गठन गरेर जोखिम न्युनिकरण गर्ने उपायका बारेमा आवश्यक तयारी गर्न दुई दिन सम्म वडाका सबै गाउँमा अनुगमन गरेको हो ।

वडा स्तरीय विपद् व्यस्थापन समितिमा वडाका प्राविधिक कर्मचारी, उपलब्ध सबै राजनीतिक दलका प्रतिनिधि, रेडक्रसका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि,पत्रकारसमेत रहेका छन् । अनुगमनमा विपद् व्यवस्थापन समितिका संयोजक वडाध्यक्ष दाहाल, वडा सदस्यहरु तथा समितिका सबै सदस्यहरु, जोखिममा रहेका घर परिवारका प्रतिनिधिहरुको सहभगिता रहेको थियो ।

अनुगमनका क्रममा सिसुवारी खोलाले लालपत्ता गाउँमा वितरण गरिने खानेपानीको पाइप लालपत्तामा बगाउन लागेको, धान लगाएको खेत क्षती हुन लागेको, पात्लेबास स्थित कोल्टारमा सिसुवारी खोला पारी टंक बहादुर थापाको घर पहिरोले बगाउन लागेको अवस्था रहेको वडाधयक्ष दाहालले बताउनु भयो ।

यसैगरी रमन बस्नेतको घर अमिली खोलाले डिल कटान गर्दा खोलामा झर्नै अवस्थामा रहेको छ भने सोही खोलाले जगदीश बिश्वकर्माको बस्ने घर र भैसी गोठ बगाउने अवस्थामा रहेका छ । खपाङ्गीटारमा सिंचाईकालागि खनिएको पोखरी अमिली खोलाले पुर्ने अवस्थामा रहेको छ भने पात्लेबास, धनचक्रे लगायतका गाउँमा सडकमा लगाएको पर्खाल र सडकसमेत वर्षाको बाढीले बगाउने अवस्था रहेको अध्यक्ष दाहालको भनाई रहेको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा उदयपुको सचिव तथा वडा नं ६ का स्थायी बासिन्दा नर बहादुर खड्काले पनि अनुगमनका क्रममा वर्षाका कारण वडाका विभिन्न गाउँतरि जाने सडकहरु खोल्सा, खहरे, खोलामा आएको वाढीका कारण क्षतिग्रस्त भएकोले सवारी साधन संचालन गर्न समस्या भएको बताए ।
वर्षा बाढी पहिरो तथा कटानबाट क्षति भएको ठाउँमा तारजाली लगाएर बोट विरुवा रोपेर, विभिन्न संघ संस्थासँग समन्वय सहयोग लिएर विपद्मा परेकाहरुलाई सकेको राहत तथा भौतिक, प्राविधिक लगायतका अन्य सहयोग उपलब्ध गराउने योजना रहेको वडाध्यक्ष दाहालले बताउनु भयो ।

अनुगमनका क्रममा खोला खहरे खोल्सोको पानीले घरखेत असर गर्ने पीडितहरुले बाढी पहिरो तथा कटानको समस्या छिटो समाधान गरिदिन अध्यक्ष दाहाल समक्ष अनुरोध गरेका थिए ।