आँसु झार्दै विदा भए डीमारिया


लन्डन, (एजेन्सी) ।

अर्जेन्टिनी विंगर एन्जल डीमारिया आफ्नो देशको जर्सीमा खेलेको अन्तिम अन्तर्राष्ट्रिय खेलमा कोपा अमेरिकाको उपाधि जित्दै विदा भएका छन् ।

सोमबार बिहान भएको कोपा अमेरिकाको फाइनल खेल डीमारियाका लागि देशको जर्सीमा अन्तिम अन्तर्राष्ट्रिय खेल थियो । फाइनलमा उपाधिसँगै उनी खेलको म्यान अफ् द म्याच समेत घोषित भएका थिए । एक हातमा उपाधि, अर्को हातमा फाइनल खेलको अवार्ड जितेका डीमारियाका लागि अन्तर्राष्ट्रिय फुटबलबाट लिएको बिदाइ निकै सुखद् र भव्य रह्यो । उनी सबथोक जितेर पनि आँखाबाट आँसु झार्दै बिदा भए ।

कोपा अमेरिकाअन्तर्गत फाइनल खेलको एक दिनअघि अर्जेन्टिनी फुटबल संघले विशेष कार्यक्रमबिचमा डीमारियाको बिदाइ सम्मान गरेको थियो । अर्जेन्टिनाले कोपाको फाइनलमा कोलम्बियालाई १–० ले हराएर उपाधि जित्दा डीमारियाले राष्ट्रको जर्सीमा अन्तिम पटक लगाएका थिए ।

प्रशिक्षक लियोनल स्कालोनीले फाइनल खेलमा डीमारियालाई सुरुआतबाट ११७ मिनेटसम्म खेलाएका थिए । खेलभरि गरेको प्रभावशाली प्रदर्शनका लागि उनलाई म्यान अफ द म्याच अवार्ड प्रदान गरिएको थियो । उपाधि जितेको उत्सव मनाउने क्रममा कप्तान लियोनल मेसीले पनि ट्रफी उचाल्न डीमारियालाई मञ्चको अघिल्तिर आफुसँगै उभिन लगाएका थिए ।

केही तथ्यः
राष्ट्रिय टोलीबाट सन् २००८ मा डेब्यू गरेको
३६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको
राष्ट्रिय टोलीको जर्सीमा १७ वर्षसम्म खेलेको
राष्ट्रिय टोलीबाट १४५ खेल खेल्दै ३१ गोल गरेको
४ प्रमुख उपाधि जितेको (२००८ ओलम्पिक फुटबलको स्वर्ण, २ कोपा अमेरिका २०२१÷२०२४ र विश्वकप २०२२)
अर्जेन्टिनाको फुटबल इतिहासमा तीन ठूला प्रतियोगिताको फाइनलमा गोल गर्ने एक मात्र खेलाडी