४ लाख घुस लिने अख्तियारको नियन्त्रणमा


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुला, शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहनसिंह धामी र कृषि प्राविधिक अशोकसिंह धामीलाई ४ लाख १२ हजार रुपियाँ घुस लिएको अभियोगमा नियन्त्रणमा लिएको छ ।

कृषि समूहको बिल भुक्तानी गर्दा कमिसनबापत सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा ती कर्मचारीलाई आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले नियन्त्रणमा लिएको हो ।

घुस लिएको भनिएको ४ लाख १२ हजार रुपियाँ र निजहरूको साथमा रहेको ४५ लाख ६० हजार रुपियाँ र ५ थान चेक र अशोकसिंह धामीको नाममा काटिएको २ लाख ५० हजार रुपियाँको दुईवटा गरी पाँच लाखको चेकसहित नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।