सत्ता जोड घटाउमा खिइएको समाजवादी मोर्चा कस्दै प्रचण्ड–माधव

196
Shares

काठमाडौं ।
विगतको चार दलीय समाजवादी मोर्चालाई बलियो बनाउने विषयमा संसद्का प्रतिपक्षी दलहरू एकाकार हुन थालेका छन् ।

समाजवादी मोर्चाका नाममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू संगठित हुने प्रयासमा रहेका हुन् । नेपाली कांग्रेससहितको सत्ता गठबन्धनताका सरकारकै कम्युनिस्ट घटक र नेकपाका महासचिव विप्लवसमेत समाजवादी बनेको थियो ।

मंगलबार नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक बसेर मोर्चालाई सशक्त बनाउने दलहरूले निर्णय गरेका छन् ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहितका नेताहरू सहभागी भएको नेकपा एसका नेता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । ‘बीचमा मोर्चाले काम गर्न सकेको थिएन’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘जब माओवादी अध्यक्षसहितका नेताहरू सत्ताबाट बाहिर पुग्नुभयो फेरि मोर्चाको आवश्यकता ठानेर यसलाई बलियो बनाउनुपर्ने निष्कर्षसहित लाग्नुभएको छ ।

सत्तासँग जोडिएर गतिविधिमा कमजोर भएको समाजवादी मोर्चालाई बलियो नेताहरू लाग्नुभएको यो नेकपा एसका लागि स्वागतयोग्य नै छ ।’ एक वर्षअघि बनेको उक्त मोर्चामा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी अहिले मोर्चा बाहिर छ । गत फागुन २१ मा बनेको एमाले माओवादीसहितको गठबन्धन सरकारमा रहेको उपेन्द्र नेतृत्वको जसपा विभाजनपछि यादव समावादी मोर्चाबाट बाहिर निस्किएको थियो ।

उक्त मोर्चामा अहिले माओवादी केन्द्र, नेकपा एस र विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टी मात्रै सहभागी छन् । यसमा अरू कम्युनिस्ट घटकहरूलाई विस्तारै थप्दै जाने र समाजवादी मोर्चालाई सशक्त बनाउने नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले सत्तामै हुँदा पनि समाजवादी मोर्चालाई बलियो बनाउन विभिन्न कम्युनिस्ट घटकसँग छलफल संवादहरू गर्दै आएका थियौं । अब प्रतिपक्षमा पुगेपछि त यसलाई सशक्त बनाउने कुरामा सबै साथीहरू एकजुट भएर अघि बढ्नेछौं ।’

शुरूमा नेकपा एसका अध्यक्ष माधव नेपालको संयोजकत्वमा बनेको समाजवादी मोर्चाको अहिलेको संयोजक विप्लव हुनुहुन्छ । तीन तीन महिनामा संयोजक परिवर्तन गर्ने मोडालिटीसहित बनाएको समाजवादी मोर्चा गठनको एक वर्ष पुगिसक्दा एकपटक मात्रै संयोजक परिवर्तन भएको छ । प्रचण्ड प्रधानमन्त्रीबाट हटेपछिको यो पहिलो बैठक हो । यसअघि २७ असारमा बालुवाटारमै मोर्चाको बैठक बसेको थियो ।

प्रचण्ड नेतृत्वको सरकार सत्ता ढलेर कांग्रेस एमाले जसपा अशोक राई र लोसपा सम्मिलित नयाँ सरकार गठन भइसकेपछि प्रतिपक्षी दलहरूले सदनमा आवाज बलियो बनाउन मोर्चामा शक्ति थप गर्ने उद्देश्य राखेका छन् । तर, मोर्चामा थप हुने दलहरूको संख्या र हैसियत निकै कम रहेकाले राजनीतिक रूपमा यसको प्रभाव सामान्य रहने राजनीतिक विश्लेषकहरूले बताएका छन् ।