भ्रष्टाचारमा संलग्न १ हजार ५ सय १६ जना कानुनी कठघरामा पुगे

२६ हजार ६ सय १६ उजुरी फस्र्यौट, १ सय ९८ मुद्दा दायर

252
Shares


–५२० जना राष्ट्रसेवक भ्रष्टाचारमा तानिए
–१०१ जनप्रतिनिधिविरुद्ध भ्रष्टाचार मुद्दा
–स्थानीय तहको अनियमिततामा ४ सय ३३ जना दोषी
–मिलेमतोमा भ्रष्टाचार गर्ने ९१ व्यवसायीविरुद्ध पनि मुद्दा

काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०८०÷८१ को एक वर्षको अवधिमा भ्रष्टाचारमा संलग्न १ हजार ५ सय १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरी उच्च सक्रियता देखाएको छ । भ्रष्टाचार गर्नेहरूविरुद्ध व्यापक अभियान थालेको अख्तियारले मुद्दा दायर गर्ने क्रमलाई तीव्रता दिएको छ । अख्तियारको सक्रियतासँगै भ्रष्टाचारमा संलग्न १ हजार ५ सय १६ जना कानुनी कठघरामा पुगेका छन् ।
गत एक वर्षको अवधिमा अख्तियारमा ३५ हजार ३ सय ७२ वटा उजुरी परेकोमा २६ हजार ६ सय १६ उजुरीको फस्र्यौट गरी अख्तियारले आफ्नो सक्रियता उजागर गरेको छ । यस अवधिमा अख्तियारले विभिन्न अनियमितताका १९८ वटा मुद्दा दायर गरेको छ । त्यसमा ५२० जना राष्ट्रसेवक कर्मचारी परेका छन् । गत एक वर्षको अवधिमा अख्तियारले गरेको मुद्दा दायर र उजुरी फस्र्यौट दरले नै अख्तियारको सक्रियतालाई पुष्टि गरेको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले पछिल्ला वर्षहरूमा अख्तियारले भ्रष्टाचारविरुद्धको छानबिन र अनुसन्धानको गतिलाई तीव्रता दिएको बताउनुभयो । अख्तियारले नयाँ नयाँ प्रविधि प्रयोग गरेर अनुसन्धानलाई अघि बढाउँदै लगेको जानकारी दिँदै उहाँले आगामी दिनमा छिटो छरितो ढंगले वस्तुपरक आधारमा अनुसन्धानलाई थप प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गर्नुभयो । पछिल्ला दिनमा अख्तियारले केन्द्रीय सरकारका पूर्व मन्त्रीहरू, बहालवाला मुख्य सचिव तथा प्रदेश सरकारका बहालवाला मन्त्रीलाई समेत भ्रष्टाचारमा छानबिन गरी मुद्दा दायर गर्दै आएको छ । त्यसैले पछिल्ला दिनमा ‘ठूला माछा’हरू समेत धमाधम अख्तियारको फन्दामा परेका छन् ।

अख्तियारले यस अवधिमा सरकारका सबैभन्दा माथिल्लो दर्जाको रूपमा रहेको विशिष्ट श्रेणी (सचिवस्तर) का १२ जना र उच्च तहका मानिने सहसचिवस्तरका २५ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । यस्तै, गत एक वर्षमा मुद्दा दायर हुनेमा सरकारका उपसचिवस्तरका ७२ जना, शाखा अधिकृतस्तरका १६७, लेखापालस्तरका ५४, नायबसुब्बा स्तरका १४४, खरिदार स्तरका ३१ र कार्यालय सहयोगी २ जना रहेका छन् ।

अख्तियारका अनुसार गत एक वर्षको अवधिमा अख्तियारले सबैभन्दा बढी स्थानीय तहमा भएको अनियमितता सम्बन्धमा मुद्दा दायर गरेको छ । अख्तियारले स्थानीय तहमा भएका विभिन्न प्रकृतिका अनियमिततामा छानबिन र अनुसन्धान गरी स्थानीय तहसँग सम्बन्धित ८० वटा मुद्दा दायर गरेको छ । सो मुद्दामा जोडिएका ४ सय ३३ जनालाई भ्रष्टाचार मुद्दा दायर गरिएको छ । जसमा नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वार्ड अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य गरी १ सय १ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार यस अवधिमा स्थानीय तहमा मनोनीत १८१ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ । यस्तै, सरकारी अधिकारीहरूसँग मिलेमतो गरी भ्रष्टाचार गर्ने ९१ जना व्यवसायीहरूविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

राष्ट्रसेवकतर्फ दायर मुद्दामा को कति ?
विशिष्ट श्रेणी: १२
सहसचिव: २५
उपसचिव: ७२
शाखा अधिकृत: १६७
लेखापाल: ५४
नासु: १४४
खरिदार: ३१
कार्यालय सहयोगी:२
बक्समा २
जनप्रतिनिधि तथा अन्य के कति ?
मन्त्री:२
जिल्ला समन्वय प्रमुख: १
नगरपालिका मेयर: १६
नगरपालिका उपमेयर: ११
गाउँपालिका अध्यक्ष: ७
गाउँपालिका उपाध्यक्ष: ८
वडाअध्यक्ष:४२
कार्यपालिका सदस्य: ७
वडा सदस्य: ७
मनोनीत सदस्य जम्मा: १८१
लेखापढी व्यवसायी: २
बिचौलिया:२
व्यवसायी: ९१
अन्य:६१९

अख्तियार भ्रष्टाचारविरुद्ध निर्मम ढंगले प्रस्तुत भइरहेको छ त्यसैले अख्तियारले छानबिन र अनुसन्धानलाई तीव्रता दिएर मुद्दा दायर गर्ने क्रमलाई ह्वात्तै बढाएको हो । अख्तियारले नयाँ नयाँ प्रविधि प्रयोग गरेर अनुसन्धानलाई प्रभावकारी बनाउँदै टुंगोमा पु¥याउने क्रमसमेत बढाएको छ । आगामी दिनमा छिटो छरितो ढंगले वस्तुपरक आधारमा अनुसन्धानलाई थप प्रभावकारी बनाउने नीति अख्तियारले लिएको छ ।