सिमताल बस दुर्घटना : घटनास्थलदेखि गण्डक ब्यारेजसम्म ३ सय भन्दाबढी सशस्त्र प्रहरी परिचालन 

70
Shares


काठमाडाैं । 

गत शुक्रबार चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित त्रिशूली नदीमा दुर्घटना भई हराइरहेको यात्रुसहितको दुई वटा बस खोजी कार्यको लागि साउन १ गते सशस्त्र प्रहरीको ३ सय १ जना सुरक्षा फौज घटनास्थलदेखि करिब १ सय ३२ किलोमिटर दुरी रहेको गण्डक ब्यारेजसम्म परिचालन भएको छ ।

दुर्घटना स्थल सिमलताल वरिपरिका ठाउँहरूमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटारबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा ११ जना गोताखोरसहित ८६ जनाको सुरक्षा फौज २ वटा मोटर बोट र ७ वटा ¥याफ्ट बोटसहित परिचालन भएका छन् । 

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल नं। १७ गण चितवनबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा १ सय १५ जनाको सुरक्षा फौज विभिन्न १५ वटा टोली बनाएर घटनास्थल, देवघाटदेखि शिवघाटसम्म, शिवघाटदेखि सिसवारसम्म, सिसवार देखि गोलघाटसम्म परिचालन भएको छ । त्यसै गरी सोही गणबाट खटिएको फौज सिसवारदेखि गोलाघाटसम्म, आँपटारी, रामनगर, जुगेडी, गाईघाट, देवघाट, पुलचोक, शिवघाट, गाजीपुर, सिसवार, गोलाघाट लगायतका ठाउँहरूमा परिचालित भएको छ ।
त्यसै गरी सशस्त्र प्रहरी बल नेपाल नं। २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ६० जनाको सुरक्षा फौज गण्डक ब्यारेज इलाकामा परिचालन भएको छ भने सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमान्डमा १० जनाको सुरक्षा फौज गैँडाकोट नगरपालिका–१० को  इलाकामा परिचालित भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट त्रिवेणीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा १० जनाको टोली गण्डक ब्यारेज इलाका, सुरक्षा वेश चोरमाराबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमान्डमा १० जनाको टोली पूर्वी नवलपरासी जिल्लाको मध्य विन्दु नगरपालिका–३ भुटाहा इलाका र सुरक्षा वेश प्रगतिनगरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमान्डमा १० जनाको टोली देवचुली नगरपालिका–१५ खर्कटा इलाकामा परिचालित भएका छन् ।
वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस त्रिशूली नदीमा बेपत्ता भएको थियो ।
खोजी तथा उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट २ वटा सोनार डिभाइस, २ वटा मोटर बोट र ६ वटा ¥याफ्ट बोट प्रयोग भएको छ भने सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट १ सोनार डिभाइस, १ वटा मोटर बोट र ५ वटा ¥याफ्टसहित जम्मा १४ वटा बोट प्रयोग गरिएको छ ।
हालसम्म फेला परेका १५ वटा शवमध्ये ९ वटाको सनाखत भएको छ भने ६ वटाको सनाखत हुन बाँकी रहेको छ ।