विकासको प्रमुख आधारः पारदर्शी, इमानदारी र अनुशासन

56
Shares


शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको योगदानलाई मापन गर्ने हो भने भक्तपुर नगरपालिका देशकै नमुना नगरपालिकाभित्र पर्दछ । पालिकाले आफ्नै लगानीमा ख्वप कलेज र अस्पताल सञ्चालन गरेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रबाट नाफाभन्दा पनि सेवाको भावनाले खोल्नुपर्छ । अहिले मेडिकल माफियाले ६० लाखभन्दा बढी रकम शुल्क लिएर पढाइरहेको एमबीबीएस ख्वप कलेजले विश्वविद्यालयको मान्यता पाए प्राध्यापकलाई तलब खुवाउनेमात्र रकम निकाली एमबीबीएस पढाउने दाबी नगरप्रमुखको छ । नगरपालिकाले गरेका राम्रा कार्य, इमान्दारी विकासमा खेल्ने भूमिकालगायत विषयमा केन्द्रित रहेर भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापतीसँग नेपाल समाचारपत्रका भवनाथ प्याकुरेलले गरेको कुराकानी


भक्तपुर नगरपालिकाले अन्य पालिकाले नगरेका फरक प्रकृतिक केकस्ता कार्य गरिरहेको छ ?
भक्तपुर नगरपालिका देशका ७ सय ५३ पालिकामध्ये एक हो । नेपालको संविधान र कानुनले सबै पालिकालाई उत्तिकै अधिकार प्रदान गरेको छ । संविधान र कानुनले दिएको अधिकार क्षेत्रभित्र रही भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माणमा जनसहभागिता, युवालक्षित सीपमूलक तालिमको बन्दोबस्त र नागरिक भावना जगाउने काम गरिरहेकोे छ ।
शिक्षा क्षेत्रमा तपाईंहरूले कस्ता उदाहरणीय कार्य गर्नुभएको छ ?
आजभन्दा ४ दशकअघिसम्म भक्तपुर शिक्षा क्षेत्रमा देशकै सबभन्दा पछाडि परेको जिल्लामध्ये एक थियो । २०३६ सालमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) १० वर्षे भारत प्रवास जीवनबाट फर्कनुभएपछि परीक्षामा चोरी गरेर पास गर्ने प्रवृत्तिको चर्को आलोचना गर्नु भएको थियो । उहाँले विद्यार्थी फेल भएको ठिक तर गलत काम गराउनु हुन्न भन्नुहुन्थ्यो । सबै विद्यालयमा चोरी प्रवृत्ति पूरै नियन्त्रणमा आउन ८–१० वर्ष लागेको थियो । अहिले चोरी भन्ने विषय पूर्ण रूपमा बन्द भएको छ । २०५४ सालको स्थानीय निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको घोषणापत्रमा शिक्षालाई जोड दिने भन्ने उल्लेख थियो । त्यतिबेला मेयर प्रेम सुवाल हुनुहुन्थ्यो । पार्टी नीति र घोषणापत्रअनुसार विसं २०५६ सालमा ख्वप मावि सञ्चालन भयो । त्यसपछि २०५८ सालमा ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज, २०६० सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा ख्वप कलेज अफ इन्जिनियरिङ, २०६७/६८ मा शारदा कलेज/मावि संचालन भयो । नयाँ संविधानअनुसार भएको दोस्रो स्थानीय निर्वाचनपछि २०७९ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट स्विकृति लिई ख्वप कलेज अफ ल सञ्चालन गरिरहेका छौँ । कानुनमा पनि बीएएलएलबी (५वर्षे) कक्षा संचालन गरिरहेका छौं । त्यसमा ६० जना विद्यार्थी पढ्दै छन् । २०५६ सालमा अध्यक्ष बिजुच्छेँले १५ वर्षभित्र एक घर एक स्नातक बनाउने अभियान चलाउने चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको थियो । उहाँले शिक्षा क्षेत्रमा उत्कृष्ट गर्ने भन्ने नीति लिनुभएको थियो । हाल भनपाद्वारा संचालित २ वटा इन्जिनियरिङ कलेजबाट वार्षिक ४३२ जना विभिन्न विषयका इन्जिनियरसहित नपाका अन्य कलेजमा ७७ जिल्लाका ७ हजारभन्दा बढी विद्यार्थी उच्च शिक्षामा अध्ययनरत छन् । आर्थिक अभाव र समस्याका कारण कुनै पनि विद्यार्थी उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भनी शैक्षिक ऋणको व्यवस्था गरेका छौँ । ५ लाख रुपियाँसम्म ऋण स्वीकृत गरेर उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरेका छौँ । हाल नगरपालिकाको शैक्षिक ऋणमा करिब ६ सय जना विद्यार्थी उच्च शिक्षामा अध्ययनरत छन् । देशको भविष्यको आवश्यकतालाई ध्यान दिएर इतिहास, भूगोल, संस्कृति, नेपालभाषा, राजनीतिशास्त्र, अर्थशास्त्र विषय लिई अध्ययन गर्ने नगरबासी विद्यार्थीलाई स्नातकदेखि विद्यावारिधिसम्म पूर्ण छात्रवृत्तिको व्यवस्था छ । हाल धेरैले छात्रवृत्तिमा स्नातक र स्नातकोत्तर गरिरहेका छन् भने ९ जनाले विद्यावारिधि गरिरहेका छन् । शिशु स्याहारदेखि कलेजसम्म व्यवस्था गर्ने र विद्यावारिधिसम्म अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्ने भक्तपुर पहिलो र देशको एकमात्र नगरपालिका हो । सरकारले विधेयक पारित गरिदियो भने विश्वविद्यालय सञ्चालनको पनि तयारी गर्दैछौं ।
ख्वप कलेजमा कति पैसामा पढ्न पाइन्छ ?
४ लाख ७० हजार जतिमा कानुन विषय पढ्न सक्छन् । इन्जिनियरिङ वर्षमा ४ सय ३२ जना भर्ना हुन पाइन्छ र ७ लाख रुपियाँमा पढ्न सकिन्छ । पढ्नका लागि हजारौँ विद्यार्थीले आवेदन दिने गरेका छन् । ओवर सेयरको कोटा ४८ जनाको रहेको छ । ४० जनाको नर्स पढाउने कोटा छ । स्नातकोत्तरको सबै संकायमा ७ हजारभन्दा बढी जनशक्ति पढिरहेका छन् । धेरै विषयमा स्नातकोत्तर तहसम्म पढाइ भइरहेको छ । ख्वप कलेजको सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गरिरहेको छ ।
कलेज सञ्चालनमा वार्षिक कति खर्च हुन्छ ?
दुईओटा इन्जिनियरिङ कलेजको वार्षिक खर्च ५० करोडजति छ । ख्वप कलेज र उच्च माविमा पनि त्यस्तै ५० लाखको हाराहारीमा खर्च हुने गर्दछ । कानुन विषयको पढाइ भर्खर भएकाले खर्च अन्य संकायको तुलनामा कम छ । अहिले १ सय २० जना पढिरहेका छन् । अब फेरि ६० जना भर्ना लिने योजना कलेजको छ । हामीसँग सयौँ शिक्षक हुनुहुन्छ । उहाँहरूलाई दिने तलब नै धेरै छ । गुणस्तरको सन्दर्भमा पूर्वाञ्चल विश्वविद्यालयमा भित्र १ सय १७ कलेज रहेका छन् । तीमध्ये सबैभन्दा सर्वोत्कृष्ट कलेज ख्वप इन्जिनियरिङ कलेज हो । विश्वविद्यालयको रजत जयन्तिको उपलक्ष्यमा ख्वप कलेजलाई सम्मान नै गरेको थियो । नेपालको इन्जिनियरिङ कलेजमध्ये ख्वप सबैभन्दा अगाडि छ ।
शिक्षा क्षेत्रमा राम्रो गर्न के गर्नुपर्दछ ?
पहिला व्यवस्थापन राम्रो हुनुपर्ने, योग्य प्राध्यापक हुनुपर्ने र प्राध्यापकमा सेवा गर्ने भावना पनि हुन जरुरी छ । व्यवस्थापन राम्रो हुन इमान्दारिता, पारदर्शिता, लगनशिलता, योग्यतालगायत सबै कुरा चाहिन्छ । कलेजलाई एक कुरा चाहिने तर व्यवस्थापनले अर्को कुरा गर्दा व्यवस्थापन राम्रो हुँदैन । इन्जिनियरिङ कलेजमा पुस्तकको व्यवस्था हुन पनि अतिजरुरी छ । त्यस्तै, ल्याबका उपकरणलगायत सबै खालका बन्दोबस्त हुन आवश्यक छ । यस्तो व्यवस्थापनका लागि वर्षको करोडौं रुपियाँका उपकरण किन्ने गरिएको छ । कजेजमा कुनै किसिमको समस्या छैन । बन्द हडताल पूर्ण रूपमा निरुत्साहित भएको छ । शिक्षक र प्रोफेसरले लगनशीलताका साथ दिएको समयमा इमान्दारिताका साथ काम काम गर्नुभएको छ ।
यति ठुलो कजेजमा राजनीतिक रूपमा हुने बन्द हड्ताल न्यूनीकरण गर्न कसरी सम्भव हुनुभयो ?
हाम्रो कलेजमा मन्त्री, सांसदका छोराछोरी पढ्नुहुन्छ । उहाँहरूलाई पहिले नै कजेजभित्र राजनीतिक नगर्नु भन्ने विषय बुझाउने गरेका छौँ । विद्यार्थीले पनि सहयोग नै गरिरहुनभएको छ । २०६५ सालमा केही राजनीति गर्ने समूहले दुःख दिएका थिए । १८÷२० दिनसम्म बन्द गरेका थिए । राजनीति गर्ने हो भने आफ्नो ठाउँमा गएर गर्नुहोस् भनेका थियौँ। केही विद्यार्थीलाई रेस्टिकेट गर्ने कुरा गरेका थियौँ । उहाँहरूले माफी माग्नुभएको थियो । अहिले राजनीतिक रूपमा कुनै समस्या छैन । १० वर्ष जनयुद्ध भएका बेला पनि कहिल्यै बन्द नभएको कलेजभित्र ख्वप कलेज पनि पर्दछ । तत्कालीन माओवादीका साथीहरू आउनुभएको थियो । हामीले एक घण्टा कक्षा लिनु र उहाँले सोधेको जवाफ दिनु भन्ने गरेका थियौँ ।

नगरपालिकाभित्र रहेका विद्यालयको अवस्था कस्तोे छ ?
पहिले सरकारी विद्यालय कमजोर नै थिए । हामीले व्यवस्थापन गर्नुपर्छ भन्ने भएपछि भौतिक, शिक्षक तालिम, पुस्तकालयको व्यवस्था, ल्याबको व्यवस्थापन गरेपछि राम्रो हुँदै गइरहेको छ । दक्ष शिक्षक बनाउन खोजिएको छ । यस्तै शिक्षकलाई अनुशासनमा राख्न प्रयास गरिएको छ । यो वर्ष शिक्षकलाई अन्तरनगरपालिका सरुवा गर्ने पनि गरिएको छ । शिक्षक सरुवा गर्नुको उद्देश्य राम्रो शिक्षकले अन्य ठाउँमा गएर पनि राम्रो गरोस् भन्ने हो । नगरपालिकाले कक्षा ५, ८ र १० को परीक्षा लिने गरेको छ । पहिलेदेखि नै फिल्टर गर्दै लगेपछि माथिसम्म नै विद्यार्थीको पढाइ राम्रो हुन्छ । हामीले खेलकुद, साहित्यलगायत प्रतियोगिता गर्दा सामुदायिक र निजी भनेर नछुट्याई कार्यक्रम गर्ने गरिएको छ । तालिम पनि सँगै दिने गरिएको छ । गरिबीका कारण उच्च शिक्षा हासिल गर्नबाट कोही वञ्चित हुनुहुँदैन भन्ने हाम्रो उद्देश्य हो ।

नगरपालिककाले उच्च शिक्षा हासिल गर्नेलाई ऋण दिएको विषयबारे बताइदिनुहोस् ।
उच्च शिक्षा हासिल गर्न नगरपालिकाले ऋण दिने गरेको छ। ६ सयजना विद्यार्थीले नगरपालिकासँग ऋण लिएर पढिरहेका छन्। जसमा ५ लाख ऋण लिन पाउँछन् । नगरपालिकाभित्र बस्नेले स्वदेशमा जहाँ गएर पढे पनि विश्वविद्यालयमा तिरिदिने गरेको छ। पहिलो वर्ष लिनेले पहिलो वर्षमा २० प्रतिशत फिर्ता हुन पनि शुरू भइसकेको छ। अहिले ८५ लाख जति फिर्ता पनि आइसकेको छ। पढ्दापढ्दै बीचमा तिर्नुपर्दैन। पढिसकेपछि पहिलो वर्ष २५ प्रतशति दोस्रो वर्ष ५० प्रतिशत तेस्रो वर्ष २५ प्रतिशत तिर्नुपर्ने सर्त गरिएको हुन्छ । यस्तो ऋण जुनसुकै संकायबाट पढ्नेलाई पनि दिने गरिएको छ । नगरपालिकाले धेरै विषयमा छात्रवृत्ति नै दिने गरेको छ । भक्तपुरबाहिर, भूगोल, राजनीतिशास्त्र, संस्कृति, नेपाल भाषा, अर्थशास्त्रलगायत विषयमा पढ्न जानेलाई स्नातकदेखि विद्यावारिधिसम्म पढ्न छात्रवृत्ति दिने गरेको छ । स्नातकमा ४० जनाजति निःशुल्क पढिरहेका छन् । हाम्रो कलेजमा सवा ४ करोड छात्रवृत्तिमा खर्च गर्ने गरेका छौँ ।
शिक्षा क्षेत्रलाई उठाउनुपर्छ भन्ने मानसिकता कसरी विकास भयो ?
यसमा नेपाल मजदुर किसान पार्टीको अध्यक्षको भिजन हो । यसैअनुसार पार्टीको नीतिअनुसार हामीले कार्य गरिरहेका छौँ ।
स्वास्थ्य क्षेत्रमा पनि नगरपालिका अरूभन्दा नमुना बन्न कसरी सफल भयो ?
घरघरमा गएर नागरिकको स्वास्थ्यको हेरचाह गर्न घरदैलो नर्सिङ शुरू गर्ने भक्तपुर देशकै पहिलो नगरपालिका हो । पालिकामा बिरामी, सुत्केरी, ज्येष्ठ नागरिकको निम्ति आवश्यक हेरचाह गर्नेदेखि ड्रेसिङका कामसमेत नागरिकको घरमै हुन्छ । वडा वडामा चिकित्सकसहित स्वास्थ्य केन्द्रहरूको व्यवस्था र १०० शैय्याको ख्वप अस्पताल सञ्चालनमा छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले यो चालू आव २०८०/८१ को असार २१ गतेसम्म २ लाख ३६ हजार ६०० भन्दा बढी बिरामीलाई सेवा प्रदान गरिसकेको छ । ती बिरामी ७० वटाभन्दा बढी जिल्लाका छन् । गत आवमा २ लाख २० हजार चार सयभन्दा बढी बिरामीलाई सेवा दिएको थियो । त्यसको अलावा दम खोकीको निम्ति श्वासप्रश्वास पुनःस्थापना केन्द्र, आँखा उपचारको निम्ति ख्वप तिलगंगा आँखा अस्पताल, नगर नागरिक आरोग्य केन्द्र सञ्चालन गर्दै नगरबासीहरूलाई छिटोछरितो स्वास्थ्य उपचार सेवा प्रदान गर्दैछौं । प्रदेशअन्तर्गतको भक्तपुर अस्पताल, संघ सरकारअन्तर्गत भक्तपुर क्यान्सर अस्पताल र सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र पनि यसै नगरभित्र रहेकाले अधिकांश रोगको उपचार भक्तपुरका सरकारी अस्पतालहरूमा सम्भव हुँदै गइरहेको छ । नगरबासी अरू सबैका लागि निःशुल्क अक्सिजनको बन्दोवस्त छ । नगरबासीहरूको लागि निःशुल्क रगतको पनि व्यवस्था छ । ती सबैको खर्च नगरपालिकाले व्यहोर्छ । सरकारी अस्पतालहरूमा सेवा राम्रो भए गरिब जनतालाई फाइदा हुन्छ र निजी अस्पतालको आवश्यकता पनि कम हुँदै जान्छ ।
भक्तपुर नगरपालिका नमुना नगरपालिका बन्नुमा कसको हात रहेको छ ?
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले २०५६ सालमा १५ वर्षभित्र एक घर एक स्नातक घोषणा गर्नुभयो । जसले भक्तपुरको शैक्षिक क्षेत्रमा आमूल परिवर्तन गर्‍यो । उहाँले सोही वर्ष १०० वर्षपछिको भक्तपुर’ को कल्पना गर्दै एउटा पुस्तक पनि प्रकाशित गर्नुभयो । त्यो भक्तपुर पुनःनिर्माणको निम्ति राम्रो आधार बन्यो । शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, विकास निर्माण, आवश्यक सीपमूलक र भाषाका तालिमहरू नगरपालिकाले शुरू ग¥यो र गर्दैछ । भक्तपुर आजको अवस्थामा पुग्न नेपाल मजदुर किसान पार्टीको महत्वपूर्ण योगदान छ । पार्टीको नीति र निर्देशनअनुसार चल्दै जाँदा भक्तपुर अहिलेको अवस्थामा पुगेको हो । भक्तपुरमा गर्न बाँकी धेरै कार्य छन् । हामी विस्तारै गर्दै जानेछौँ । स्थानीय जनतामा रहेको आत्मनिर्भरताको भावना नै प्रमुख हो ।

सफल हुन इमानदारिताले खेल्ने भूमिका कस्तो हुँदो रहेछ ?
पारदर्शिता, इमानदारिता र अनुशासन विकासको निम्ति प्रमुख आधार हुन् । भक्तपुर नगरपालिकाले गर्ने हरेक काम जनसहभागितामूलक र पारदर्शी हुने गरेको छ । पारदर्शिताले जनविश्वास बढ्छ, विश्वासले काम गर्नेहरूमा हौसला मिल्छ र सेवामा प्रतिस्पर्धात्मक भावनाको विकास हुन्छ । हामीले उपभोक्ता समितिमार्फत विकास निर्माणलाई जोड दिँदैछौं । संरचनामा अपनत्व, कार्यमा गुणस्तर, स्थानीय श्रम, सीप र भौतिक वस्तुको प्रयोग हुने हाम्रो अनुभव छ । नपाको बजेट स्थानीय जनताकै बीचमा जाने हुँदा यसले केही हदसम्म स्थानीय जनतालाई रोजगारीको पनि अवसर प्रदान गर्दछ ।

नगरपालिकाभित्र कृषि र पर्यटन क्षेत्रमा गरेका कार्य के कस्ता छन् ?
भक्तपुर कृषकको बाहुल्यता भएको नगर हो । कृषि उत्पादन बढाउन कृषकहरूका लागि माटो परीक्षण, कीटनाषक औषधि प्रयोग, कम्पोष्ट मल बनाउने विधि, नयाँ नयाँ बिउ बिजन उत्पादन, कृषि प्राविधिक तालिम, कौसी खेती, च्याउ खेतीलगायत थुप्रै तालिमहरू निरन्तर सञ्चालन गर्दै आएको छ । मौसमअनुसार धान, गहुँ, आलुको बिउ वितरण, नपाद्वारा उत्पादित कम्पोष्ट मल सहुलियत दरमा वितरण गरी कृषकहरूको हितमा काम गर्दैछ । त्यसैगरी पर्यटन भक्तपुर नपाको एउटा महत्वपूर्ण स्रोतहरूमध्ये एक भएको हुँदा निरन्तर पर्यटन केन्द्रित गतिविधि पनि गर्दै आएको छ । मूर्त र अमूर्त सम्पदा देशकै सम्पत्ति भएको हुँदा त्यसको संरक्षणमा भक्तपुर नपाले ध्यान दिएको छ । समय समयमा बाजा प्रतियोगिता, सांस्कृतिक गुरुहरूको सम्मान, सम्पदा पदयात्रा कार्यक्रमलगायत कार्यक्रम गरी आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षित गर्दै आएको छ । आव २०८०/८१ मा २ लाख ४५ हजार विदेशी पर्यटकहरूले भक्तपुर नगर भ्रमण गरेको रेकर्ड छ ।
पालिकालाई अझ राम्रो गर्न केकस्ता कार्य गर्ने योजना छन् ?
यस नगरपालिकालाई सधैँभरि सफा र सुन्दर राख्न नपाभित्रबाट बगेका कासाङ खोला र हनुमन्ते खोलामा सफा र स्वच्छ पानी बग्ने वातावरण निर्माण गर्ने हाम्रो प्रयास जारी छ । त्यसको निमित हनुमानघाट र सल्लाघारीमा गरी २ वटा फोहर पानी प्रशोधन केन्द्रहरू निर्माणाधीन छन् । ख्वप विश्वविद्यालय स्थापना गरी शिक्षालाई श्रमसँग जोड्ने शिक्षा प्रदान गर्ने र सस्तोमा गुणस्तरीय चिकित्सक उत्पादन गर्ने पनि हाम्रो दीर्घकालीन लक्षभित्र पर्छ ।
तपाईंको नगरपालिकामा बजेट परिचालनको अवस्था कस्तो रहेको छ ?
भक्तपुर नपाको चालू आव २०८०/८१ मा कुल बजेट २ अर्ब २६ करोड ८५ लाख ९४ हजार रहेको छ । हालसम्म पूँजिगत, चालु र वित्तीय व्यवस्था गरी कुल खर्च ७१/१७ प्रतिशत भएको छ । सरकारले स्रोत निश्चित गरेका योजनाहरूमा समेत अनुदान घटाउने निर्णय गर्दा देशभरका स्थानीय तहहरूले समस्या भोगिरहेका छन् । बागमती प्रदेशले चालू वर्षमा समानीकरण र विशेष अनुदान भक्तपुर नगरपालिकालाई पठाएन ।

खानेपानीको समस्या समाधान गर्न कस्ता योजना रहेका छन् ?
खानेपानीको आफ्नै स्रोत नहुँदा धेरै समस्या भोगिरहेका छौं । नगरबासीहरू नगरकोट र मेलम्चीको पानीको भरमा छन् । समय समयमा खानेपानीको निकै ठूलो समस्या भोग्नुपरेको छ । केही वैकल्पिक स्रोतका निम्ति पनि हामीले प्रयास गरिरहेका छौं । पर्याप्त मात्रामा मेलम्चीको पानी नआएसम्म भक्तपुरबासीले सहज रूपमा पानी प्राप्त गर्नसक्ने छैनन् ।
पालिकाभित्र रहेका पर्यटकीय क्षेत्र के कस्ता छन् ?
दरबार क्षेत्र, टौमढी क्षेत्र, दत्तात्रय क्षेत्र भक्तपुरका महत्वपूर्ण पर्यटकीय क्षेत्र हुन् । दरबार क्षेत्र सन् १९७९ मा युनेस्कोले विश्व सम्पदामा सूचीकृत गरेका क्षेत्रसमेत हो । पुरानो बस्ती रहेको भक्तपुर नगर सम्पदा क्षेत्र हो । यो आफैँमा एउटा खुल्ला संग्रहालय हो । यसको संरक्षणका निम्ति भक्तपुर नपाले पुरानो नगरभित्र घर बनाउने नगरबासीलाई मौलिक शैलीमा घर बनाउन प्रोत्साहनस्वरूप अनुदान प्रदान गर्दै आएको छ ।

तपाईंहरूले २० लाखमा एमबीबीएस पढाउने भन्नुभएको विषयको बारेमा बताइदिनुहोस् । यो सम्भव छ ?
शुरूकै वर्ष हामीले १ लाखको हाराहारीमा इन्जिनियरिङ पढाएका थियौँ । अन्त ७ लाख थियो । भौतिक संरचना एकपटक बनाएपछि हुन्छ । अन्य रकम त्यति हुन्छ । हामीसँग ७ वटा उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था सञ्चालनको अनुभव छ । भौतिक पूर्वाधार निर्माण एकपटक गरे पुग्ने हो । नाफा हाम्रो उद्देश्यभित्र पर्दैन । लागतमात्रै उठाउने हो भने थोरै पैसा लिएर पनि चिकित्सक उत्पादन गर्न सकिन्छ । अहिले शिक्षालाई व्यापार बनाइएको हुँदा निकै महँगो भएको छ । हामी सेवामा नै ध्यान दिन्छौं । सस्तोमा चिकित्सा शिक्षा प्रदान गर्न सकिन्छ ।
अहिले कति रकममा एमबीबीएस पढाउन सकिन्छ ?
हामीले ६ वर्षअगाडि १५ लाखमा पढाउँछौँ भनेका थियौँ । अहिले केही माथि जाला धेरै हिसाब गरेर भन्नुपर्छ । हामीले भौतिक संरचनाको पैसा नलिई प्रोफेसरलाई तलब दिन रकम निकाले पुगिहाल्छ । हामीलाई युनिभर्सिटीको स्वीकृति दियो भने अरूको जसरी लिँदैनौँ । हामीले १५ लाखभन्दा बंगलादेशमा १६ लाखमात्र थियो ।

युवालक्षित कस्ता तालिम सञ्चालन भइरहेका छन् ?
युवाहरूलाई लक्षित गरी सिलाइ बुनाइ, हेयर कटिङ(कपाल काट्ने), बुटिक तालिम, कम्प्युटर, प्लम्बर, विद्युत्को तालिम र मखमली जुता, बेकरी तालिम, काष्ठकला, चिनियाँ र जापानी भाषा, पर्यटक पथप्रदर्शक तालिमलगायत थुप्रै सीपमूलक तालिम अहिले संचालनमा छन् ।