सिमलताल पहिरोः १३ जनाको शव भेटियो, पाँचको पहिचान हुन बाँकी

3.5k
Shares

काठमाडौँ।

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई बसका यात्रुमध्ये अहिलेसम्म १३ जनाको शव भेटिएको छ। तर, हराइरहेका बस भने अझै फेला नपरेको सशस्त्र प्रहरीले जनाएको छ ।

भेटिएका शवमध्ये नौ वटा शवको सनाखत भएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार चार पुरुष र एक महिला गरी पाँच वटा शवको पहिचान हुन बाँकी रहेको छ ।

हराइरहेका अन्य यात्रु तथा दुबै बसको खोजी कार्य सोमबार पनि जारी रहेको उनले बताए।

गत शुक्रबार काठमाडौँबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेका दुई बस पहिरोले बगाएपछि त्रिशूली नदीमा खसेको थियो ।

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा भएको यात्रु सङ्ख्या चलानमा भए बमोजिम २७ र आफन्तजन सम्पर्कमा आई विवरण दिएको आधारमा ११ गरी ३८ जना यात्रु सवार थिए ।

त्यस्तै काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपती डिलक्स बसमा चलानमा भए बमोपजम २४ र आफन्तजन सम्पर्कमा आई विवरण दिएको आधारमा तीन गरी २७ जना यात्रु सवार थिए । दुई वटा बसमा गरी ६५ जना यात्रु रहेको अध्यावधिक विवरण रहेको सह प्रवक्ता थापाले जानकारी दिए ।

बस सडकबाट नदीमा खस्दै गर्दा काठमाडौँबाट गौर जाँदै गरेको बसका तीन यात्रु भने बाँच्न सफल भएका थिए ।