पीडितका आफन्तले छोडे सिमलताल

546
Shares

काठमाडौं ।

दुर्घटना क्षेत्र आसपासमै गाडी नभेटिएपछि पीडितका आफन्तले सिमलताल क्षेत्र छोडेका छन् । दुई बससहित हराइरहेका यात्रुको खोजीमा चुम्बकदेखि ड्रोनसम्मको प्रयोगबाट पनि दुईवटा बसको खोजीमा कुनै प्रमाण भेटिने संकेत नभएपछि पीडतहरूले उक्त क्षेत्र छाडेका हुन् ।

हिजोसम्म पीडितका आफन्तको भीडले भरिभराउ तथा रोदनले कोलाहल बनेको सिमलताल आज शान्त बनेको छ। त्रिशूलीमा बस खोजिरहेका उद्धारकर्ता पनि घटनास्थल आसपास छैनन् । घटनास्थल आसपास लास भेट्टाउने आस मरेपछि उनीहरूले सिमलताल छोडेका हुन्। पीडितका आफन्तहरूको कोलाहल नहुँदा एकाएक शान्त बनेको छ सिमलताल । यति बेला पीडितका आफन्त रोइरहेका छैनन् । न त उनीहरूलाई हिजोअस्ति जस्तो नदी किनारमा भेटिएका शव आफ्नो मान्छेको हो कि भनेर कुद्न नै हतार छ ।

दुर्घटनाको चौथो दिन आइतबारसम्म ६ वटा शव घटना भएको ठाउँभन्दा करिब ५० किलोमिटर तल भरतपुर र नवलपुरका नारायणी किनारमा भेटिन थालेपछि हराइरहेको दुई बसभन्दा प्राथमिकतामा अहिले बेपत्ता यात्रु परेका छन् ।

उद्धारमा संलग्न तालिमप्राप्त टोलीले दुर्घटनामा फसेका बसहरू घटनास्थलभन्दा तल घुमाउने, सेती दोभानलगायतका फराकिलो क्षेत्रमा पो आइपुगेको छ कि भनेर खोजी गरिरहेको सशस्त्र प्रहरी विपद् शिक्षालय कुरिनटारले जनाएको छ । घटनास्थलबाट त्रिवेणीसम्म ६ वटा भागमा विभाजन गरेर खोजी कार्य जारी छ । खोजीमा नेपाल प्रहरीका मात्रै १ सय ६२ जना संलग्न छन् । त्यसै गरी सशस्त्र प्रहरी र नेपाली सेनाका टोली पनि सहभागी छन् । शव भेटिएको अवस्थामा उद्धार गर्न पनि प्रहरी टोली तैनाथ छ । सशस्त्र प्रहरीले घटनास्थलदेखि गोलाघाटसम्म दुईवटा सेक्टर छुट्याएर ४÷४ वटा बोटमा खोजी कार्य गरेको छ ।

घटनास्थलदेखि दासढुंगासम्म ४ वटा वाटर बोट र दासढुंगादेखि गोलाघाटसम्म ४ वटा वाटरबोटमा सशस्त्रको तालिम प्राप्त टोली सहभागी छ । टोलीले नदी तटीय क्षेत्रमा सर्च अभियान चलाएका छन् ।

जसमा रबर बोट, रिभर बक्स, सोनारलगायतका साधन प्रयोग गरिएको छ भने ६ तरिकाबाट खोजी अभियान चलाइएको छ । जसमा बाँस, हुक, चुम्बक, सोलार क्यामरा, अन्डर वाटर ड्रोनलगायतका प्रविधिसहित गोताखोरले पानीभित्र पसेर पनि खोजी गरेका छन् ।

घटनास्थल सिमलतालबाट करिब दुई किलोमिटर तल सशस्त्रको टोलीसहित खोजी कार्यमा भेटिएका चितवन प्रहरीका डीएसपी श्रीराम भण्डारी घटनास्थलभन्दा तलतर्फ सातवटा प्वाइन्ट बनाएर खोजी कार्य थालिएको बताउनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीले घुमाउनेबाट ८ वटा बोट, ५ वटा कायक र केही निजी वाटर बोट पनि प्रयोग गरेर नदीको सबै भागमा हेर्दै अघि बढेको छ ।

गृह सचिवको टोली घटनास्थलमा

यसैबीच घटनाको चौथो दिन गृह सचिव एकनारायण अर्यालसहितको टोलीले सिमलताल क्षेत्र अवलोकन गरेको छ । पहिरोले बगाएर हराइरहेका यात्रु तथा बसको अवस्थाबारे बुझी उहाँले उद्धार तथा खोजी कार्य अझ प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

उहाँसँगै अवलोकनमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टका संयोजक एवं गृह मन्त्रालय, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सहसचिव भीष्मकुमार भुसाल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत सहभागी थिए ।

शव भेटिने क्रम जारी

तालिमप्राप्त गोताखोरसहित खोजी कार्यका लागि प्रविधिको प्रयोग गरी चार दिनसम्म खोजी गर्दा दुईवटा बसमा सवार यात्रुहरूमध्ये ६ जना मात्रै भेटिएका छन् । भेटिएका सबै शव पुरुषको मात्रै रहेका छन्। उनीहरू घटनास्थलभन्दा ५० किलोमिटर तल नारायणी नदी तटीय क्षेत्रमा भेटिएका हुन् । भेटिएकामध्ये तीन जना भारतीय नागरिक रहेका छन्।

भेटिएका ६ जनामध्ये पहिचान खुलेका ५ जनामा भारत विहारका ऋषि पल साह, विहारकै चम्पारणका जयप्रकाश ठाकुर र अर्का भारतीय नागरिक सजाद अन्सारी छन् । त्यसै गरी पहिचान खुलेका अन्यमा चितवन माडी घर भएका विकास परियार, सर्लाहीका रमित कुसर माझी रहेका छन् । उनीहरूको शव भरतपुर २८ गोलाघाट र नवलपुरको गैंडाकोट ७ गैरी क्षेत्रमा भेटिएको हो ।

यसैबीच पूर्वी नवलपरासीको त्रिवेणीस्थित भारततर्फको वाल्मीकि नहरमा पहिचान नखुलेको २ वटा पुरुष व्यक्तिको शव फेला परेकोले सहजीकरण तथा समन्वयका लागि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट त्रिवेणीबाट सप्रनिको कमान्डमा ७ जनाको टोली खटिएको सशस्त्र प्रहरीले जनाएको छ ।