एमाले अध्यक्ष ओलीको सिंहदरबारमा चौथोपटक ‘कमब्याक’

बने मुलुकको ४५औं प्रधानमन्त्री, आजै शपथ, लगत्तै कार्यभार

154
Shares

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली मुलुकको ४५ औं प्रधानमन्त्री नियुक्त हुनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नेपालको संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो।

यो नियुक्तिसँगै ओलीको सिंहदरबारमा चौथोपटक ‘कमब्याक’ भएको छ। नवनियुक्त प्रधानमन्त्री ओलीलाई आज सोमबार बिहान ११ बजे पद तथा गोपनीयताको शपथ गराउने राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रपति कार्यालयमा शपथ लिएलगत्तै ओली सिंहदरबार पुगेर प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुहुने छ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा बहुमत जुटाएका ओली चौथोपटक प्रधामनमन्त्री बन्न सफल हुनुभएको हो। निवर्तमान प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसद्मा ६३ मतमात्र पाएर विश्वासको मत गुमाएपछि राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्मका लागि संविधानको धारा ७६(२) अनुसारको सरकार गठनकोे आह्वान गरेलगत्तै ओली शुक्रबार राति नै राष्ट्रपति निवास पुगेर बहुमतसहित प्रधानमन्त्रीको दाबी पेस गर्नुभएको थियो । सरकारमा बहुमत पुर्‍याउनका लागि कम्तीमा १३८ सिट आवश्यक पर्नेमा ओलीले १६६ सांसदको समर्थनसहितको पत्र राष्ट्रपतिसमक्ष बुझाउनुभएको थियो ।

राष्ट्रिय सहमतिको सरकार बनाउन कांग्रेस–एमालेबीच असार १७ गते राती सत्ता सहकार्यको सहमति भएको थियो । ओली सरकारलाई संसद्को दुईतिहाई समर्थन रहने बताइए पनि दाबीपत्रमा कांग्रेस र एमालेका सांसदको समर्थन रहेको जनाइएको थियो ।

यद्यपि, ओलीको पक्षमा नेपाली कांग्रेस, एमाले, राप्रपा, जसपा, जनमत, लोसपा, नाउपालगायत दलले समर्थन गर्ने संकेत गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार ओलीले आगामी ३० दिनभित्र संसद्बाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।

संसद्का प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवा र अध्यक्ष ओलीबीच सत्ता सहकार्य गर्नेगरी सात बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । उक्त दस्तावेज नेताहरूले सार्वजनिक नगरे पनि एमाले अध्यक्ष ओली दुई वर्ष प्रधानमन्त्री, कांग्रेस सभाापति शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने सहमति गरेको नेताहरूले बताएका छन् ।

त्यस्तै, आवश्यकताअनुसार संविधान संशोधन गर्ने, प्रदेश सरकारको नेतृत्व तीन –तीनवटा लिने, संघीय सरकारमा बराबरी मन्त्रालय लिनेसहितको सहमति भएको थियो । दुई दलबीच भएको सहमतिलाई पूर्ण कार्यान्वयन गर्दै मुलुकको राजनीतिक स्थिरता र संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउने नेताहरूले दाबी गरेका छन् ।

झापा विद्रोहदेखि चार पटकसम्म प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली २००८ साल फागुन ११ गते शनिबार पिता मोहनप्रसाद ओली र माता मधु ओलीको कोखबाट जन्मिनुभएको थियो । इवा–२ तेह्रथुममा जन्मिए पनि उहाँको सपरिवार पछि सरणामती–६, झापामा बसाइँ सरेको थियो । ओलीले डेढ वर्षको उमेरमै आमाको काख गुमाउनुभयो । लामो समय जेलनेल भोगेका नेता ओलीको राजनीतिक यात्रा झापाबाटै शुरू भएको हो । चर्चित झापा विद्रोहका एक मुख्य पात्र ओली उक्त विद्रोहकालीन एकमात्र जीवित नेता हुनुहुन्छ ।

उहाँ विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसमेत बन्नुभयो । २०४८ सालमा झापा क्षेत्रनम्बर ६ र २०५९ सालमा झापा क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओली २०५१ देखि २०५२ सम्म गृहमन्त्री हुनुभएको थियो । २०६४ देखि २०६५ सम्म उपप्रधान एवम् परराष्ट्रमन्त्री हुनुभएका ओली नेकपा एमालेको तर्फबाट वि.सं २०७२ असोज २४ गते नेपालको ३८ औँ प्रधानमन्त्रीको रूपमा निर्वाचित हुनुभएको थियो । त्यतिबेला भारतले लगाएको नाकाबन्दिविरुद्ध स्वाभिमानपूर्वक लडेको भन्दै ओलीको प्रशंसा भएको थियो ।

२०७४ सालमा माओवादीसँग गठबन्धन गरी ओलीकै नेतृत्वमा एमाले चुनावमा होमिँदा दुई दलको गरी अत्यधिक बहुमत आएको थियो । त्यसपछि ओली दोस्रोपटक २०७४ सल फागुन ३ गते अन्य केही दलको समर्थन जुटाएर दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री बन्नुभएको थियो । पछि नेकपा फुट र संसद् विघटनसँगै २०७८ वैशाखमा प्रधानमन्त्रीबाट हट्नु परेको थियो । सोही समयमा संसद्को ठूलो दलको हैसियतले ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रोपटक २०७८ साल वैशाख ३० गते प्रधानमन्त्री नियुक्त गरे पनि सर्वोच्च अदालतले उहाँको नियुक्ति बदर गरिदिएपछि उहाँ प्रधानमन्त्रीबाट हट्नुभएको थियो ।

तत्कालीन नेकपा (माले)को संस्थापकमध्येका एक केपी शर्मा ओली २०२२ सालमा कम्युनिस्ट राजनीतिमा लाग्नुभएको हो । २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभएका उहाँ २०२८ सालको झापा आन्दोलनका प्रमुखहरूमध्येका एक हुनुहुन्छ । सोही वर्ष जेल पर्नुभएका ओली पञ्चायती व्यवस्थाविरुद्धको संंघर्षका क्रममा २०४४ सालसम्म पटकपटक गरी १४ वर्ष जेल जीवन बिताउनुभएको थियो ।

प्रधानमन्त्रीमा चौथो इनिङसम्मको यात्रा
पहिलोपटक : २०७२ असोज २५
दोस्रोपटक : २०७४ फागुन ३ गते
तेस्रोपटक : २०७८ वैशाख ३० गते
चौथोपटक : २०८१ असार ३०

यस्तो छ ओली देउवाबीच सात बुँदे सहमति

–एमाले अध्यक्ष ओली दुई वर्ष प्रधानमन्त्री, कांग्रेस सभाापति शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने
–प्रदेश सरकारमा तीनतीन वटामा नेतृत्व लिने । मधेस प्रदेशमा मधेसकेन्द्रित दलकै नेतृत्वमा सरकार बनाउने पहल गर्ने ।
–संविधान संशोधन गर्दै समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रियसभामा लैजाने, उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने समझदारी ।
–प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको सिटसंख्याबारे पुनर्विचार गर्ने ।
–पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्ने ।
–संविधान पुनरावलोकन गर्नका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा सुझाव समिति बनाउने ।
–प्रदेश सभामा समानुपातिकतर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचित मात्रै राख्ने ।

एमाले अध्यक्ष : २०७१ देखि हालसम्म
पार्टी संसदीय दलको नेता : २०७०
स्थायी कमिटी सदस्य : २०५९
युवा संघको अध्यक्ष : २०४७
लगातार १४ वर्ष जेल जीवन : २०३० देखि २०४४
पूर्णकालीन भूमिगत राजनीति : २०२७

दुवै दलका सम्भावित मन्त्रीहरू को को हुन् ?

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा शपथ लिएलगत्तै मन्त्रीहरूको शपथ हुने कार्यक्रम तय गरिएको छ ।

पार्टीबाट मन्त्री छान्ने अधिकार प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष ओलीलाई नै दिइएको छ। ओलीले : विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, योगेश भट्टराई, पृथ्वी सुब्बा गुरुङ, महेश बर्ताैला, विद्या भट्टराई, छविलाल विश्वकर्मा, जुलीकुमारी महतो, दामोदर भण्डारी, पदम गिरीमध्येबाट मन्त्री बनाउनुहुने स्रोतले जानकारी दिएको छ ।

उता, सरकारको मुख्य साझेदार दल नेपाली कांग्रेसले ९ जना मन्त्री पठाउने निश्चित भएको छ। नयाँ सरकारमा क्षमता, योगदान, समावेशीताको मापदण्ड बनाएको कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा पक्षका ५ र इतर समूहका ४ जनालाई मन्त्री बनाउने तयारी भएको कांग्रेसका एक पदाधिकारीले बताए ।

आइतबार साँझसम्म प्राप्त सूचनाअनुसार प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने तयारी गरेको कांग्रेसले संस्थापन पक्षबाट प्रकाशमान सिंह, रमेश लेखक, अजय चौरासिया, किशोरसिंह राठोर, आरजु राणा र दीपक खड्का पठाउने करिब निश्चित भएको छ । त्यस्तै, डा. शेखर कोइराला समूहबाट हृदयराम थानी, रामनाथ अधिकारी र तेजुलाल चौधरीको नाम पठाउने तयारी भएको छ ।