त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन

406
Shares

काठमाडौं ।

कामचलाऊ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको सिमलतालस्थित सडकबाट त्रिशूली नदीमा गाडी खसेर बेपत्ता भएका यात्रुहरूको खोजीलाई तीव्रता दिन तीनवटै सुरक्षा अंगहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालले निजी निवास खुमलटारमा बोलाएर नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका प्रमुखलाई हराइरहेका यात्रुहरूको खोजीलाई तीव्रता दिन निर्देशन दिएको दाहालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले सिमलताल बस दुर्घटनापछिको खोजी कार्य र पछिल्लो अवस्थाको जानकारी लिएका थिए । उनले सबै उपायहरूको अबलम्बन गरेर हराइरहेकाहरूको खोजी कार्यलाई अझै तीव्रता दिन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा प्रधानमन्त्रीले सिमलताल लगायत देशभरका दुर्घटनामा जोखिम मोलेर खोज, राहत र उद्दारमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेका थिए ।

उक्त अवसरमा उनले सिमलताल लगायत देशका विभिन्न भागमा बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपत्तिको कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गरेका थिए ।

देशको राजनैतिक परिस्थिति जे-जस्तो भएता पनि स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र र सुरक्षा निकायले अविचलित र अभिछिन्नरुपमा जनताको सेवामा लागि पर्न उनले आग्रह गरेका छन् ।

प्रधानमन्त्री दाहाल विश्वास मत नपाएपछि शुक्रबार पदमुक्त भएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्री नियुक्त नहुन्जेल दाहाललाई नै कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् ।