पछिल्लोपटक पर्यटन विभागको होटेल शाखाले जनाएअनुसार नेपालभरि २२ वटा ‘पाँचतारे होटेल’ सञ्चालनमा आइसकेका छन्। ती २२ वटा पाँचतारे होटेलमध्ये तीनवटाचाहिँ ‘हेरिटेज र बुटिक होटेल’ रहेका छन् । यसरी नेपालमा हालसम्म पाँचतारे होटेलको संख्या २२ वटा पुगेको छ। जे होस्, ती २२ वटा पाँचतारे होटेलमध्ये तीनवटाचाहिँ बुटिक होटेल रहेका छन्। तथ्यांकअनुसार ती तीनवटा बुटिक होटेलमा ५८१ वटा कोठा र ८९८ बेड संख्या रहेको छ।
त्यस्तै २२ वटा पाँचतारे होटेलमध्ये डिलक्स होटेलमा १०१ कोठा संख्या र १८५ वटा बेड संख्या रहेको छ भनेदेखि बाँकी पाँचतारे होटेलमा ३ हजार ७७ वटा कोठा र ४ हजार ६३२ वटा बेड संख्या रहेको छ । त्यस्तै चारतारे होटेलमा चाहिँ २ हजार ६८५ कोठा रहेका छन् । ती २ हजार ६८५ कोठामा ३ हजार ९७९ वटा बेड संख्या रहेको छ।
नेपालमा रहेका तीनतारे होटेलमा २ हजार २२१ कोठा र ती कोठामा ३ हजार ७३१ बेड संख्या रहेको छ। हुन पनि चालू आर्थिक वर्ष (०८०–८१) मा ३६ वटा चारतारे होटेल र ३७ वटा तीनतारे होटेल सञ्चालनमा आएका छन्। उता दुईतारे होटेलचाहिँ ४४ वटा सञ्चालमा रहेका छन्। त्यस्तै ३९ वटा एकतारे होटेल सञ्चालनमा रहेका छन्।
देशभरि पर्यटकस्तरीय होटेल मात्रै लगभग १४ सयवटा सञ्चालनमा रहेका छन् । हुन पनि पर्यटन क्षेत्रमा अनौपचारिकरुपमा के भन्ने गरिन्छ भने, हालसम्म नेपाली होटेल उद्योग–क्षेत्रमा लगभग २३–२४ खर्ब नेपाली रुपियाँ बराबर रकम लगानी भइसकेको छ । यस्तो रकम आर्थिक वर्ष ०७८–८९ मा लगभग २१ अर्ब नेपाली रुपियाँ बराबर पुगेको थियो भन्ने भनाइ नेपाली होटेल उद्योग–क्षेत्रमा लगानी गरेका उद्योगी–व्यवसायीहरुको रहेको छ ।
हो, यसरी हेर्दाखेरि जुन गतिमा विभिन्न पर्यटकीय शहरबजार र धार्मिक क्षेत्रहरुमा बुटिक, लक्जरी, डिलक्स, पाँचतारे, चारतारे, तीनतारे, दुईतारे, एकतारे एवम् पर्यटकस्तरीय होटेल तथा सामान्य खालका होटेल, गेस्टहाउस अनि लजहरु खुलेका छन्, सोअनुसार यहाँ विदेशी एवं स्वदेशी पर्यटकको चहलपहल भने बढ्न सकेको छैन ।
स्मरण रहोस्, वि.सं. २०८०–०८१ मा नेपालमा थप १७ वटा नयाँ पाँचतारे होटेल थपिनेवाला छन् । त्यसरी नेपालमा थपिने अधिकांश नयाँ पाँचतारे होटेलको व्यवस्थापन विदेशी (चेन) होटेलले सम्हाल्ने पनि समाचारमा जनाइएको छ । अब नेपालमा नयाँ थपिएका पाँचतारे होटेल र पहिलेदेखि नै सञ्चालन हुँदै आएका पाँचतारे होटेल गरेर ३६ वटा पाँचतारे होटेलको संख्या पुग्नेछ । साथै ती ३६ वटा पाँचतारे होटेलको बेड संख्या ५ हजार २३४ वटा पुग्नेछ । यसरी थपिएका पाँचतारे होटेल र होटेलको बेड संख्याले नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरु जो ‘लक्जरी’ तथा ‘डिलक्स’ सेवा सुविधा उपभोग चाहन्छन्, त्यस्ता विदेशी पर्यटकहरुका लागि प्रशस्त बेड संख्या र सेवा–सुविधा उपलब्ध हुने देखिन्छ। त्यसो त विश्वले होटेलका साथै समग्र पर्यटन क्षेत्रलाई ‘धुवाँरहित उद्योग’को मान्यता दिएको छ। अथवा भनौं विश्वमा समग्र पर्यटन उद्योगलाई ‘धुवाँरहित उद्योग’ भनेर चिन्ने गरिन्छ।
सामान्यतया पर्यटन उद्योग भन्नाले होटेल, मोटेल स्मरणीय छ । नेपालमा हालसम्म मोटेल नभएको जस्तो लाग्छ, यो पंक्तिकारलाई । त्यस्तै गरेर कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होम स्टेका साथै पदयात्रा, पर्वतारोहण, जलयात्रा, जमेको हिउँ जो नीलो ढिक्का चढ्ने (आइस क्लाइम्बिङ गर्ने), निकुञ्ज पर्यटन, बन्जी जम्पिङ, क्यानोइङ, स्की खेल, बर्ड वाचिङ, फिसिङ, सिकार पर्यटन, हट एयर बेलुनिङ, जिप फ्लाइएर, चट्टान आरोहण, स्काई वाक, कायाकिङ, साइक्लिङ, जंगल सफारी, मोटर ड्राइभिङ, बाइकिङ, हाइकिङ, स्काई डाइभ, माउन्टेन फ्लाइट, कल्चरल टुर, मेडिकल टुर, ध्यान–योग पर्यटन, गाउँ अवलोकन भ्रमण, एकल जातीय बस्ती भएका गाउँहरुको भ्रमण, प्राचीन शहर, स्मारक, किल्ला, सांस्कृतिक सम्पदा, युद्घस्थलको भ्रमण, पुतली अवलोकन, जंगली जनावरहरुको अवलोकन आदिलाई बुझिन्छ ।
नेपाली पर्यटनको मेरुदण्डको रुपमा रहेको होटेल क्षेत्रलाई सरकारले जति सक्दो अब उद्योगको मान्यता दिएर सोहीअनुसारको सहुलियत होटेलका सञ्चालकहरुलाई उपलब्ध गराउनुपर्छ । त्यसै पनि निजी प्रयासमा नेपालमा पाँचतारे, चारतारे, तीनतारे, दुईतारे, एकतारे र पर्यटकस्तरीय होटेल, कटेज, रिसोर्ट, गेस्ट हाउस, लज, होमस्टे बन्ने र थपिने क्रम देशव्यापीरुपमा बढ्दो क्रममा रहेको छ । कुनै पनि मान्छे आफ्नो देश छाडेर दोस्रो देश जानेबित्तिकै वा आफ्नो घर छाडेर अन्यत्र जानेबित्तिकै सबैभन्दा पहिले बस्ने व्यवस्था हुनु जरुरी हुन्छ । त्यसपछि मात्रै उसले के खाने, के पिउने भन्ने चिन्ता गर्छ वा खाने/पिउनेको व्यवस्था गर्छ। अथवा कुनै पनि मान्छेले आफ्नै देशमा पनि आफ्नो घर छाडेर २४ घण्टा वा एक रात बिताउने गरी दोस्रो ठाउँ जानेबित्तिकै उसलाई सबैभन्दा पहिले बस्ने व्यवस्थाकै आवश्यकता पर्छ । यस्तो खालको भ्रमणमा निक्लने मान्छेलाई नै पर्यटक मान्ने गरिन्छ । अर्को महत्वपूर्ण कुरो के भने, जसले आफ्नो घर वा देश छाडेर एक रात एक दिन (२४ घण्टा) बाहिर गएर बिताउँछ, उसलाई पर्यटक (आन्तरिक र बाह्य पर्यटक) मान्ने भन्ने संयुक्त राष्ट्र संघसँगको मातहत रहेको ‘विश्व पर्यटन संगठन (युएन–डब्लुटीओ)’ को मान्यता वा भनौं परिभाषा रहेको छ ।
त्यसरी हेर्दा त कहिलेकाहीँ भारतीय सीमा क्षेत्रको होटेल वा लजमा बसेर, दिउँसो एकैछिन् नेपाल घुमेर बास बस्न भारततिरै जाने विदेशी (विशेषतः बौद्ध धर्मावलम्बीहरु) पर्यटकहरुलाई हामीले पर्यटक मान्ने कि नमान्ने? खास गरी हाल भगवान् मानिएका र बुद्ध धर्मका प्रवद्र्धक मानिएका गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा घुम्न एकछिन् नेपाल आउने र सोही दिन भारततिरै फर्किने विदेशी पर्यटकहरुलाई हामीले पर्यटकको सूचीमा राख्ने कि नराख्ने ? यसबारेमा हामीले गम्भीर भएर सोच्ने दिन पनि आइसकेको छ।
समग्र नेपालको पर्यटन उद्योगको पनि विशेषतः होटेल क्षेत्रको कुरो गर्दा (कोभिड–१९) को महामारीअघि ‘दिन दुई गुणा रात चौ गुणा’ले उन्नति वा भनौं प्रगति भइरहेको थियो । तर पनि (कोभिड–१९) पछि सन् २०२२ र सन् २०२३ मा भने नेपालमा पर्यटनले अपेक्षा गरेभन्दा राम्रो प्रगति गर्यो।
किनभने कोभिड–१९ पछि, सन् २०२३ मा १०,१४,८७६ जना विदेशी पर्यटकहरुले नेपाल भ्रमण गरेको तथ्यांक हालै प्रकाशित भएको छ। त्यसो त नेपाली होटेल क्षेत्रको कुरो गर्दा लगभग पाँच वर्षअघि आएको समाचारअनुसार नेपाली होटेल उद्योगमा लगभग १२ खर्ब लगानी भइसकेको भन्ने भनाइ रहेको थियो। त्यसको आधारमा हेर्दाखेरि हालसम्म थप १८/१९ खर्ब रुपियाँ बराबरको रकम नेपाली होटेल उद्योगमा लगानी भइरहेको अनुमान गर्न सकिन्छ। हुन पनि अहिलेसम्म काठमाडौँ उपत्यकाबाहिर मात्रै १३ वटा त पाँचतारे होटेल खुलिसकेका छन् । दर्जनौं पाँचतारे होटेल खुल्ने क्रममा रहेका छन् ।
अन्त्यमा लेख्नै पर्ने अथवा भनौं उठाउनै पर्ने अर्को महत्वपूर्ण कुरो भनेको काठमाडौं, ललितपुर, भक्तपुरलगायत सुविधा सम्पन्न शहर–बजार क्षेत्रमा पर्यटकका लागि भनेर ‘होस्टेल’, ‘होम स्टे’ र बीबी (बेड र ब्रेक फास्ट) चलाउन दिनुहुँदैन भन्ने जुन माग छ, (पाँचतारे, चारतारे, तीनतारे, दुईतारे, एकतारे होटेलका साथै पर्यटकस्तरीय होटेल, कटेज, रिसोर्ट, गेस्ट हाउस र लजका सञ्चालकहरुको माग), सो मागलाई नेपाल सरकारले गम्भीरताका साथ मनन गरीकन जति सक्दो चाँडै सम्बोधन गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया