वरिष्ठ पत्रकार मिश्रा नगदसहित सम्मानित

84
Shares

रौतहट  ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा रौतहटबाट विभिन्न सञ्चारमाध्यममा कार्यरत् वरिष्ठ पत्रकार सञ्जय मिश्रा नगदसहित सम्मानित भएका छन्।

रौतहटको कटहरियास्थित पियारिया देवी फाउन्डेसनले शनिबार एक कार्यक्रमको आयोजना गरी पत्रकार मिश्रालाई सम्मानित गरेको हो।

कटहरिया नगरपालिका-३ बिर्ती प्रष्टोकाका सत्यनारायण साहकी श्रीमती स्व. पियारिया देवीको पहिलो पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रममा उनका ज्येष्ठ सुपुत्र तथा फाउन्डेसनका सचिव देवेन्द्र साह रौनियारले खाँदा ओढाएर नगद ११ हजारसहित वरिष्ठ पत्रकार मिश्रालाई सम्मान गरेका हुन्।

पत्रकारिताको माध्यमबाट सामाजिक न्यायका लागि समाजमा  पुर्‍याएको योगदानको कदरस्वरूप पत्रकार मिश्रालाई सम्मान गरिएको सचिव रौनियारले बताएका छन्।

हाल सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत सिंहदरबार काठमाडौंमा खरिदार पदमा कार्यरत रौनियारकी आमा पियारिया देवीको २०८० साउन १ गते निधन भएको थियो।

स्व. पियारिया देवीको पुण्यतिथिमा समाजमा योगदान पुर्‍याउने पत्रकार, कलाकार, सामाजिक अभियन्तालाई प्रत्येक वर्ष सम्मानित गर्ने उद्देश्यले आमाको नाममा अक्षयकोष स्थापनाको प्रक्रियामा रहेको रौनियारले जानकारी दिएका छन्।

पछिल्लो दुई दशकभन्दा लामो समयदेखि क्रियाशील पत्रकार  मिश्रा हाल  रातोपाटी, न्युज कारखाना, मधेश दृष्टि दैनिकमा आवद्ध रहेका छन। उनी कटहरिया एफएमका प्रमुख रहेका छन्।