भानुभक्तसंगै आउने दुई सवाल : घाँसीको अर्ती उल्लेख तर राणा शासन बारे बेचासो 

1.3k
Shares

आज असार २९ गते अर्थात् २१० औं  भानु जयन्तीको दिन । तनहुँ चुँदी रम्घामा वि स १८७१ असार २९ गते जन्मेका, नेपाली भाषिक एकीकरणका एक योद्धा, नेपाली साहित्यका अग्रज आदिकवि, नेपालले राष्ट्रिय विभूति घोषित गरेको व्यक्ति हुन भानुभक्त आचार्य । जसको सम्झना गर्ने दिनमा उनी  यस धर्तीमा बिताएका ५४ वर्षको उमेर समयमा भए गरेका कुराहरु स्वाभाविक रुपमा आइरहन्छन् । लाग्दछ, नेपाली भाषा साहित्यमा सबै भन्दा धेरै अनुसन्धान, बहस र छलफल गरिएको व्यक्ति भनेको यिनै भानुभक्त आचार्य हुन भने लेखरचनामा बढी अध्ययन अनुसन्धान पनि उनैका कृतिहरू बारे हुने गरेका पाइन्छन् । यसर्थ, उनीसँग -संगै उठ्ने गरेका धेरै सवालहरु मध्ये आज दुई वटा कुराको बारे संक्षिप्त रुपमा घोत्लिने बिचार गरेको छु ।

पहिलो हो भानुभक्त र घाँसी 

  भानुभक्तले अर्ती उपदेश पाएका र नाम कमाउनु पर्छ भन्ने ज्ञान प्राप्त गरेका पात्र हुन घाँसी । तर, उठ्ने गरेको सवाल तत्कालीन समयमा उनको क्षेत्र भित्र भने अनुसारको न घाँसी भन्ने नै थिए न त घाँस बेच्ने चलन नै थियो । यो त केवल काठमाडौका रैथाने मोतीराम भट्ट जसले भानुभक्तलाई चिनाउँदा बरु काठमाडौँमा  हुन सक्ने घाँसीका कुरालाई उनैले जोडे र भानुभक्तले लेखेको कविताको सारलाई घाँस बेच्ने कुरासँग मात्र हेरियो । म आफू पनि तनहुँवासी भएको नाताले प्रचलित बुढापाकाहरुको भनाइ समेतको आधारमा यथार्थ यस्तो हुन सक्दछ-

भानुभक्त कतै सुस्ताएको बेला कुनै व्यक्ति भेट भो र बातचित भयो । ति व्यक्ति घाँस काट्न जादै थिए कुराकानी गर्दै जाँदा उनले बस्तुभाउ (गाइ-भैसी, भेडा-बाख्रा) पालेको कुरा गरे होलान् । त्यो  बेला त्यस ठाउँमा घाँसको त कुरै छाडौं दूध, दही, मही  पनि बिक्री गरिदैनथ्यो तर घिउ, उन, अन्नपात, खसीबोकाहरु भने सामान्य रुपमा बिक्री हुन्थे साथै काम गर्न आउनेलाई ति बस्तु दिएर पनि काममा लगाइथ्यो । ति क्षेत्र राम्रो खेतिपाती बस्तुभाउ हुने ठाउ पनि भएकोले तिनै घाँसी भनिएका ब्यक्तिले घाँस काटेर बस्तुभाउ पाल्ने गरेको त्यसबाट घिउ, उन बेच्नुका साथै तिनको गोवरबाट बढी कम्पोस्ट मल प्रयोग गर्न पाए राम्रो खेतीपाती हुने कुरा गरे । तात्कालिक समयमा हुनेखानेहरुले मात्र पाटी-पौवा, धारा-कुवा, मठ-मन्दिर बनाउँथे तर एउटा घाँस काट्न आएको मान्छेले यी कार्य गरेर हुने आम्दानीबाट कुवा खनाउने र नाम कमाउने कुराले भानुभक्तलाई प्रेरणा पुगेको हुन सक्दछ । भएको यिनै कुरालाई कालान्तरमा घाँसीले घाँस बेचेर कुवा खनायो भन्दा पनि अन्यथा भने मान्न सकिएन कि जस्तो लाग्दछ ।

दोस्रो कुरो भानुभक्त र राणा शासन

भानुभक्त जन्मँदा नेपाल-अङ्ग्रेज युद्ध अन्तिम चरणमा थियो र अर्को वर्ष वि स १८७२ मा सुगौली सन्धि पनि भयो । त्यसपछि उनको उमेर वृद्धिसंगै नेपालको दरबारमा निकै ठुला षड्यन्त्र, हत्या आरोप प्रत्यारोप खुब चल्यो । भानुभक्त युवा अव्स्थामा पुग्दा नै नेपालका अर्का राष्ट्रिय विभूति घोषित र ३२ वर्ष नेपालको शासनमा संलग्न व्यक्ति भीमसेन थापा आफै सेरिएर मर्न बाध्य भए ।  तत्कालीन बहालवाला प्रधानमन्त्रीको हत्या भयो भने १९०३ भदौ ३१ गते कोतपर्व कार्तिक १७ गते भण्डारखाल पर्व भै जङ्ग बहादुर राणा नेपालको सर्वशक्तिमान् प्रधानमन्त्री भएर उदाए । राणा शासनको उदय हुँदा भानुभक्त ३०/३२ वर्षको जोसिलो उमेरसंगै  साहित्यमा निकै कलम चलाइसकेका थिए ।

अब सवाल  यहाँ निर आउने गर्छ कि यत्रा घटनाक्रम अनुभव लिएका सुनेका भानुभक्तको लेखरचनामा किन केही न केही  कुरा आएनन् । काठमाडौँबाट दूरदराजमा भएकाले थाहा पाएनन् भनौँ भने १९०६ मा उनी आफै स्वम काठमाडौँ आएका थिए र कान्तिपुर नगरी बारे सुन्दर कविता समेत लेखेका थिए ।  यसमा यस्ता तर्क हुन सक्छन् कि उनले राजनीतिक घटनाक्रमलाई चासो नै दिएनन् र विरोध समर्थन गरेर विवादमा आउन नै चाहेनन् । विशुद्ध साहित्य तर्फ मात्र कलम चलाए । अर्को कुरा उनको परिवार गाउँघर वरपर चल्दापुर्जा नै थियो । उनका बाजे पण्डित श्रीकृष्ण आचार्य नाम चलेकै व्यक्ति थिए भने बुबा सरकारी जागिरे थिए । उनी आफै पनि केही समय जागिर खाएर कारणवश छाड्नु मात्र परेन जेल नै जानु पर्यो । बरु उनले जेलमा बस्दाको कुरा लेखे तर घटनाक्रमका कुरा लेखेनन् । तसर्थ तात्कालिक समयमा पढेलेखेका पण्डितहरुलाई समाज र सरकारमा रहेकाहरुले पनि मान दिन्थे । आफ्नो परिवार यस्तैमा चलेको, खासै दुख पनि नपाएको अरु ठुला अपेक्षा पनि नभएको र हुनेखानीमै कहलिएको कारण उनले थाहा पाएर पनि राजनीतिक घटनाक्रमलाई छुन वा विवादमा आउन चाहेनन्  कि भन्न सकिन्छ । तर पनि भानुभक्त आफै अन्याय नसहने स्वभावका भने थिए भन्ने कुरा ऊनी गजाधर सोतीको घरमा बास बस्दा बेहोरेको घट्नालाई कवितामा व्यक्त गरेको विचारबाट बुझ्न सकिन्छ ।

यसर्थ: जे जस्तो होस, पृथ्वीनारायण शाहले राष्ट्रको भूगोल एकीकरण गरे भने भानुभक्तले भाषिक एकीकरण गरे । आज भानुभक्तलाई नेपालमा मात्रा होइन नेपाली भाषी रहेका विदेशमा रहेकाहरु माझ अझ बढी सम्झना गरिन्छ । त्यसैले भानुभक्त आज विश्वव्यापी चर्चामा रहेका व्यक्ति हुन । उनै भानुभक्तको सम्झनामा समर्पित आजको दिन ……जयहोस !!!