सम्पादक तारुकेलाई ‘राष्ट्रिय पत्रकारिता सम्मान’

224
Shares

काठमाडौं ।

अर्थप्रधान अनलाइन ‘अर्थपथ डटकम’ का संचालक तथा सम्पादक विष्णु तारुके राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मानित भएका छन् ।

सेलिब्रेटी नेपालले आयोजना दोस्रो विराट म्युजिक एन्ड फिल्म अवार्ड–२०८० को अवसर पारेर आर्थिक पत्रकार तारुकेलाई राष्ट्रिय पत्रकारिता सम्मानबाट सम्मानित गरिएको हो ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पूर्व उप–प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सो सम्मान प्रदान गरेका थिए । सम्पादक तारुके विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।
समाजको परिवर्तनका  लागि पत्रकारिता पुर्‍याएको योगदानको उच्च मूल्याङ्कनसहित उनलाई  सम्मान गरिएको हो । प्रेस चौतारी नेपालका केन्द्रीय सचिव समेत रहेका तारुके त्रिशूली प्रवाह साप्ताहिक पत्रिकाका समेत सम्पादक हुन् । उनले मोफसलदेखि केन्द्रीय स्तरमा समेत विगत २३ वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । उनी पत्रकारिता क्षेत्रमा प्रवेश गर्न चाहानेहरुका लागि मार्ग निर्देशक समेत हुन् ।

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री पोखरेलले नेपाली कला र संस्कृतिको संरक्षणमा कलाकारहरुको महत्वपूर्ण भूमिका हुने बताए । ‘समाज रूपान्तरणमा पत्रकार र कलाकारको अतुलनीय भूमिका हुन्छ । नेपाली भाषा, धर्म र संस्कृति र पहिचान जोगाउनु आजको आवश्यकता हो’, पोखरेलले भने,‘ म सम्पूर्ण कलाकर्मी साथीहरूलाई भन्न चाहन्छु, देशको रक्षा आज सबैभन्दा ठुलो कर्तव्य हो ।

भूराजनीति संवेदनशीलताले किच्न खोजेकाले यसप्रति सचेत र संवेदनशील हुन आव्हान समेत गरे । उनले भने,‘हाम्रो देश कहिल्यै कसैको गुलाम भएन । त्यसैले स्वतन्त्रता दिवस मनाउँदैनौ । हामीलाई भूराजनीति संवेदनशीलताले किच्न खोज्दै छ । यसमा हामी पनि सचेत हुनुपर्छ।’पार्टी, सिद्धान्त छोडेर कलाकाहरु पनि राष्ट्र निर्माणमा एक हुनुपर्ने पोखरेलले बताए ।
कार्यक्रममा विभिन्न विद्याका रंगकर्मी कलाकारहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

गत वर्ष २०७९ मा  प्रदर्शनमा आएका चलचित्र र गीत संगीत समावेश गरेर उत्कृष्टलाई अवार्ड तथा सम्मान प्रदान गरिएको हो । २३ वटा विधामा दर्जनौँ चर्चित तथा नव कलाकारहरू सम्मानित भएका छन् ।