त्रिशूलीमा खसेका दुवै बस अहिलेसम्म भेटिएनन्, आजको खोजी कार्य स्थगित

1.4k
Shares

काठमाडौं ।
पहिरोले त्रिशूली नदीमा खसेका दुईवटा बस अहिलेसम्म बेपत्ता रहेका छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज दिनभर खोजी कार्य गरेपनि फेला पर्न सकेको छैन ।

प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुबाहक बस त्रिशूली नदीमा खसेका थिए । त्रिशूलीमा खसेका बसमा बिरगंजबाट काठमाडौं आउँदै गरेको विङर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ ।

बिरगंजबाट आएको बसमा २४ जना र गणपति डिलक्समा २७ जना यात्रु सवार रहेको गृहमन्त्री रवि लामिछानेले संसदमा जानकारी गराएका थिए ।

अहिले उक्त स्थानमा सशस्त्र प्रहरी बलका २८ गोताखोरसहित पाँच सय सुरक्षाकर्मी परिचालन भएका थिए । अहिलेसम्म यात्रुको अवस्था अज्ञात रहेको र आजका लागि खोजी कार्य स्थगित भएको प्रहरीले जानकारी दिएको छ ।