हनी ट्रयापमा पारी १ करोडको बार्गेनिङ गर्ने २ जना पक्राउ

6.1k
Shares

काठमाडौं ।

हनी ट्रयापमा फसाई रकम असुल गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ७ घर भइ हाल काठमाडौं बौद्ध ७ बस्ने २० वर्षीय तेन्जी डोमा छिरिङ र डोल्मा लामा भन्ने सिर्जना तामाङ रहेकी छन् । यस्तै सोही जिल्ला घर भई हाल काठमाडौंं कागेश्वरी मनहरा मुलपानी बस्ने २९ वर्षीय सौरभ तामाङ भन्ने लिला बहादुर तामाङ रहेका छन् ।

आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले सामाजिक सञ्जालमार्फत पुरुषसँग सम्पर्क बढाउने र त्यसपछि बार्गेनिङ गरेर रकम असुल्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी अनुसन्धानका क्रममा लिला बहादुर तामाङले पीडितको फेसबुक आइडी सिर्जना तामाङको ह्वाट्स एपमा पठाई साथी बन्न लगाएको र फेसबुक मेसेन्जरबाट सिर्जना तामाङले पीडितसँग कुरा गरी भेट्नलाई आफ्नो कोठामा बोलाएको खुलेको छ ।

यस्तै पीडित कोठामा आउन मन्जुर भएपछि लिला बहादुर तामाङले पीडितसँगको भिडियो बनाउने प्रयोजनको लागि सिर्जना तामाङलाई आफ्नो मोबाइल दिएको पनि खुलेको छ ।

त्यसपछि सौरभले दिएको मोबाइलबाट सिर्जनाले आफ्नो र पीडितको अश्लील भिडियो बनाई उक्त मोबाइल सौरभलाई फिर्ता गरेको पाइएको छ । त्यसपछि उक्त भिडियो सिर्जना र सौरभले पीडितलाई पठाई सुरुमा पीडितसँग १ करोडको बार्गेनिङ गरेको खुलेको छ । यस्तैपछि १५ लाखमा कुरा मिलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकाहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको कार्यालयले जनाएकाे छ  ।