नेपालको पूर्व ताप्लेजुङदेखि पश्चिम डोल्पासम्मको उपल्लो अर्थात् हिमाली क्षेत्र चौँरीगाई पालनका लागि पकेट क्षेत्र मानिन्छ। चौँरी मुख्य दक्षिणी मध्यएसियाका देश नेपाल, तिब्बतको पठारदेखि उत्तरमा मंगोलिया तथा रुसका हिमाली प्रदेशमा पाइने गर्छ। याक तथा चौँरीको प्राकृतिक बासस्थल समुद्री सतहबाट ३ हजारदेखि ५ हजार मिटर उचाइमा पर्दछ।
मुख्यतः दूध उत्पादन, सामान ढुवानी तथा मासुका लागि पालन गरिने चौँरीलाई शेर्पा जातिले आफ्नो सबैभन्दा ठूलो देवताको रूपमा मान्ने गर्दछन् । शेर्पाहरूको परम्परागत पेसा भनेको चौँरीपालन, किसानी र व्यापार हो । परम्परादेखि नै सगरमाथावरपरको उच्च, कठोर खुम्बु क्षेत्रमा उनीहरूले व्यापार गर्थे, चौँरी पाल्थे र चराउँथे । यी भूभाग सबै खाले वातावरणीय प्रदूषणबाट आजसम्म मुक्त मानिन्छ । चौँरी विचरण गर्ने बासस्थान कुनै पनि कृषि गतिविधिबाट मुक्त हुन्छ । रासायनिक मल अनि कीटनाशकजन्य अवशेषबाट पनि मुक्त हुन्छ । चौँरीजन्य उत्पादन जैविक उत्पादन हो । किनभने पशुपालनका अन्य क्षेत्रमा जस्तो यस क्षेत्रमा कुनै रसायन प्रयोग गर्ने गरिएको छैन । मूलतः यही कारणले नै याक, चौँरीलाई जैविक पशुपालन भनिएको हो। यही महत्वले गर्दा उपभोक्ताको पहिलो छनौट हिमाली उत्पादनतिर आकर्षित हुन थालेको छ ।
नेपालको हिमाली क्षेत्रको अर्थतन्त्रको मेरुदण्डको रूपमा मानिने याक तथा चौँरीपालन व्यवसाय पछिल्लो वर्षमा घट्दै गइरहेको तथ्याङ्क छ । पहिलेको तुलानमा विभिन्न अध्ययनहरुले लगभग ७० प्रतिशत चौँरीपालन व्यवसाय घटेको देखाएको छ । हिमाली क्षेत्रका कैयौँ चौँरीचरन स्थल अर्थात् खर्क हिजोआज खाली देखिन्छन्। चौँरीगोठ भेट्न मुस्किल हुन्छ । चौँरीपालक कृषक तथा व्यवसायीले यो पेसा छोडेर अन्यत्रै पलायन हुने क्रम बढ्दै गइरहेको छ ।
चौँरीलाई बाह्रैमास खुल्ला चौर चाहिन्छ । करिब २५ सयदेखि ५ हजार मिटरको उचाइका चरन क्षेत्रमा जडीबुटीजन्य घाँसे मैदानका प्राकृतिक स्थानीय खर्क छन् । पहिला–पहिला त्यस्ता खर्कमा प्रशस्त घाँस पलाउँथ्यो तर अहिले घाँस उम्रन छाडेको स्थानीयको अनुभव छ । हिउँदमा हिउँ नै नपर्नु, बेमौसममा हिमपात हुनु, बढी गर्मीका करण हिउँ पग्लिएर हिमपहिरो जानु, खर्कमा उम्रने घाँस लोप हुँदै जानु र चौँरीमा नयाँ रोगको संक्रमण देखिनुजस्ता समस्या आइपरेका छन् । तर हाल आएर जलवायु परिवर्तनको प्रभाव खर्कको घाँसपातको उत्पादन, पोषणमा समेत परेको हुँदा पशुलाई चाहिने घाँसको मात्रा घट्दै गएको र चरन क्षेत्रको घाँसपातमा खनिज पदार्थ तथा पोषण तत्वको कमी हुने गरेको तथ्य विभन्नि अध्ययनबाट देखिएको छ।
नेपालमा चौँरीपालन व्यवसाय संकटमा पर्दै जानुका विविध कारण छन् । जलवायु परिवर्तनको असरको कारण मौसममा आएको परिवर्तन, हिमाली क्षेत्रमा समयमा हिँउ नपर्नु, प्राकृतिक विपद्, चरन क्षेत्रको अभाव, रोग संक्रमण, चरन क्षेत्रमा विषालु वनस्पति फैलनु, वन्यजन्तुको आक्रमणबाट चौँरीलाई अत्यधिक क्षति पु¥याउनु, राज्यको तर्फबाट उचित राहतको व्यवस्था नहुनु, चौँरीले समयमै उपचार नपाउनुजस्ता वातावरणीय र नीतिगत समस्या प्रमुख हुन् । अहिलेका पुस्तामा चौँरीपालन पेसा नै परिवर्तन गर्ने सोच आउनु झन् बढी समस्याको रूपमा रहेको छ । रहरले नभएर राम्रो कमाइ र सहज जीवनको खोजीमा पशुपालक किसान पलायन भएको देखिन्छ ।
चौँरीपालनबाट अन्य पेसामा जस्तो तत्कालै र मनग्गे आम्दानी गर्न सकिँदैन । अहिलेको युग सुहाउँदो, प्रतिस्पर्धात्मक र व्यावसायिकरूपमा चौँरीपालन गर्न नसक्नु र दुग्धजन्य सामग्री बिक्री वितरणका लागि व्यवस्थित बजारको व्यवस्था नहुनु पनि थप समस्या देखिन्छ । सरकारले पशु बिमा गर्ने कार्यविधि ल्याएको छ तर चौँरीगाई हिमाली, पहाडी भेगमा चरण क्षेत्र भएकाले पशु बिमाले समेट्न सकेको छैन ।
चौँरी बहुउपयोगी हिमाली मणिको रूपमा चिनिने जनावर हो । चौँरीपालन पेसालाई व्यवसायीकरण गरी ग्रामीण रोजगारीको सिर्जना गर्न सक्नुपर्दछ । गुणस्तरीय उत्पादन गरी उचित बजारीकरण गरेर स्वरोजगार प्रवद्र्धन गरी विदेशी मुद्रा आर्जन गर्न, पर्यटन प्रवद्र्धन र आफ्नै ब्रान्डसहितको हिमाली परिचय दिन बृहत् चौँरी विकास कार्यक्रम अभियानकै रूपमा सञ्चालन गर्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रको सहभागिता हुनुपर्दछ ।
याक तथा चौँरीको संख्या दिनानुदिन घट्ने क्रम रहेकाले यो व्यवसायलाई प्राथमिकीकरण गरी व्यावसायिक चौँरीपालन कार्यक्रम लागू गरिनुपर्दछ। चौँरी गोठालालगायत यस व्यवसायमा काम गर्ने जनशक्तिलाई आकर्षन गर्न उचित पारिश्रमिक एवं अन्य आकर्षक कार्यक्रम लागू गरिनुपर्दछ । वन्यजन्तुको आक्रमणबाट हुन सक्ने हानि नोक्सानी रोकथामका उपायको खोजी गरिनुपर्दछ । चौँरीजन्य उत्पादनको विश्वव्यापी मान्य गुणस्तर मानक (ब्रान्ड) निर्धारण गरी चौँरीपालक कृषकलाई शुद्ध, स्वच्छ र स्वस्थ चौँरीजन्य उत्पादन कसरी गर्ने भन्ने बारेमा तालिम तथा अभिमुखीकरण गराउनुपर्दछ । हाल परम्परागतरूपमा उत्पादन हुने चौँरीजन्य उत्पादनको विविधीकरण र गुणस्तर वृद्धिका कार्यक्रम बनाई लागू गरिनुपर्ने पनि देखिन्छ । चौँरीजन्य उत्पादनलाई स्थानीय बजारमा मात्र सीमित नगरी निर्यातका लागि पनि उपयुक्त वातावरण हुने हो भने युवा पुस्तालाई चौँरीपालन व्यवसायतर्फ आकर्षित गर्न सकिन्छ । यसै गरी लगानीदेखि आम्दानीसम्मको सम्पूर्ण कार्यलाई कृषक अनुकूल बनाई उत्पादन र मुनाफालाई प्रोत्साहित गर्ने कार्यक्रम स्थानीयस्तरमा हुने हो भने चौँरीपालनलाई आकर्षणको व्यवसाय बनाउन सकिन्छ ।
याक र चौँरी व्यवसायले हिमाली क्षेत्रको जैविक विविधताको संरक्षण, आहारा शृङ्खलामा सन्तुलन पैदा गरेको छ भने जलाधारको संरक्षणलगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको छ । नेपाललाई विश्व मानचित्रमा चिनाउने चौँरीको संरक्षणमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, जलवायु तथा जैविक विविधताको क्षेत्रमा चौँरी संरक्षणका लागि स्थानीय सरकारलाई दीर्घकालीन नीति तथा कार्यक्रम निर्माणसँगै लोपोन्मुख याक तथा चौँरीको संरक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सन्देश प्रवाह गरिनु पनि जरुरी देखिन्छ ।
सारांशमा भन्नुपर्दा, चौँरीपालन व्यवसायलाई नेपालको हिमाली क्षेत्रको अर्थतन्त्रको मेरुदण्ड मानिन्थ्यो तर पछिल्लो समय यस व्यवसाय संकटमा पर्दै गएको छ । यसरी देशव्यापीरूपमा चौँरीपालन व्यवसायमा ह्रास आउँदै आर्थिकरूपमा देशलाई नै आर्थिक तवरबाट घाटा पर्न जान्छ । किनकि चौँरीपालन नभएपछि, हिमाली क्षेत्रमा चौँरीको दूधबाट उत्पादन हुने दुग्धजन्य पदार्थ तथा अन्य कच्चा पदार्थ उत्पादन हुन सक्दैन । त्यसबाट पर्यटन व्यवसायमा समेत असर पर्न सक्छ । सबै सरोकारवाला निकायले चौँरीपालन व्यवसायमा आएको संकट समाधानतर्फ समयमै पहल गर्न सके नेपालबाट चौँरीपालन व्यवसाय अझै फस्टाउने देखिन्छ ।
प्रतिक्रिया