‘अढाइ अक्षर प्रेमको’ भन्नुको तात्पर्य के हो ! हामीले जति धेरै पुस्तकहरूको अध्ययन गरे पनि सिक्न नसकिने त्यो कुन चीज हो ? त्यसका बारेमा हामीले जतिसुकै अध्ययन गरे पनि बुझ्न सक्दैनौँ। कतिपय चीजलाई बुझ्नका लागि हामीले एउटा कुरा अवश्य सिक्नुपर्ने हुन्छ । यो अत्यन्तै आवश्यक कुरा पनि हो । धनी को हो अनि गरिब को हो ? यसका बारेमा तपाईँको परिभाषा, तपाईँको व्याख्या के छ ? जोसँग पैसा छैन उसलाई हामी गरिब भनेर बुझ्छौँ । कसरी ? पैसा मानिसले नै बनायो । त्यसको बाँडफाँट पनि मानिसले नै गर्छ । मानिसले नै गरिब बनायो, मानिसले नै धनी बनायो अनि यी सबै कुरा हामीले सिकेका छौँ । के हामीले जीवित छौँ भन्ने कुरालाई बुझेका छौँ ? हाम्रा लागि कुनै पनि चीज स्थायी छैन । एकदिन उठ्यो, मुड ठीक छ । अर्को दिन उठ्यो, मुड राम्रो हुँदैन । कहिले आफ्नो परिवारको बोझले हैरान हुन्छौँ त कहिले आफ्नो कामबाट अनि कहिले आफ्नो शरीरका कारण आजित हुन्छौँ ।
मनमा बुझ्ने क्षमता छैन । मन (दिमाग)को त प्रकृति नै यस्तो हुन्छ । योसँग बुझ्ने क्षमता नै छैन तर हृदयले बुझ्न सक्छ । किनभने, मनका लागि अनुभव नामको कुनै चीज आवश्यक नै पर्दैन । उदाहरणका लागि तपाईँ कतै गइरहनुभएको छ अनि कुनै घटनाका कारणले तपाईँलाई रिस उठ्यो । तपाईँको मनले भन्यो– यो राम्रो होइन । तपाईँलाई त रिस उठेको छ । मनले नै रिस उठाउँछ । तपाईँ क्रोधित हुनुभयो भने तपाईँ चिच्याउन, कराउन थाल्नुहुन्छ । जे गर्न मन लाग्यो त्यो गर्नुहुन्छ । त्यसपछि तपाईँलाई रिसाउनु ठीक होइन रहेछ भन्ने पनि लाग्छ । यदि मनमा बुझ्ने क्षमता भएको भए उसले त यस्तो गर्नुहुँदैनथ्यो भनेर बुझ्थ्यो । के जीवनमा हामी एकपटक मात्रै रिसाएका छौँ ? होइन । रिसाउँछौँ अनि बिर्सन्छौँ, फेरि क्रोधित हुन्छौँ तर फेरि पनि बिर्सन्छौँ । त मनलाई सम्झाउने कि हृदयलाई सम्झाउने ! किनभने, मानिसमा दुईवटा कुरा हुन्छ– एउटा कुरा त उसको मनको राज्य हुन्छ अनि अर्को उसको हृदयको राज्य हुन्छ ।
यदि प्रेम गर्नु नै छ भने आफ्नो हृदयसँग प्रेम गर्नुहोस् । यो श्वाससँग, यस जीवनसँग, त्यो शक्तिसँग प्रेम गर्न चाहने मानिस धन्य हुन्छ । त्यही शक्तिका कारण सबैथोक छ । यो हृदयको इच्छा हो । मनको इच्छा के हो ! मनले त्यो शक्ति, ती सृष्टिकर्ताका बारेमा न त बुझ्छ, न बुझ्न नै सक्छ । मन त बदलिरहन्छ र सारा संसार त्यो मनलाई बुझाउँछु भनेर लागेको छ । उसलाई शान्त पार्न अनि खुशी तुल्याउन लागिपरेको छ । तथापि, मेरो मन खुसी छ भन्ने कुनै मानिस नै छैन । मनका लागि हरेक चीज बदलिन्छ । मनका लागि कुनै पनि कुरा स्थायी छैन ।
कतिपय मानिसहरूले आफ्नो हृदयको आवाजलाई कसरी सुन्न सकिन्छ भन्ने कुरा गर्छन् । हृदयको आवाजलाई सुन्नका लागि मनको आवाजलाई घटाउनुपर्छ, किनभने मनको आवाज तीखो छ । यो त्यस्तै कुरा भयो– रेडियो बजिरहेको छ अनि कसैसँग कुराकानी गर्नुपर्ने भयो भने के गर्नुपर्छ ! यदि तपाईँ फोनमा कुराकानी गर्न चाहनुहुन्छ र यस्तो ठाउँ छ जहाँ ठूलो–ठूलो आवाज आइरहेको छ भने बाहिरको आवाजलाई कुनै तरिकाले घटाउनुपर्ने हुन्छ। यदि बाहिरको आवाजलाई कम गर्नै सक्नुहुन्न भने कतै होहल्ला नहुने शान्त स्थानमा जानुपर्ने हुन्छ । किनभने, त्यसपछि तपाईँ आफ्नो कुरा गर्न सक्नुहुन्छ। हृदयको आवाजलाई सुन्नका लागि पनि केही यस्तै गर्नुपर्ने हुन्छ । हृदयले त तपाईँसँग केही भनिरहेको छ अनि सदैव भन्दै आइरहेको छ र भनिरहनेछ । तर, मनको आवाज जसको ध्वनि यति धेरै चर्को भइरहेको छ त्यसैलाई हामी सुनिरहेका हुन्छौँ ।
हामीले वास्तवमा यो आफ्नो मनको आवाजलाई केही शान्त पार्नुपर्छ भन्ने कुरालाई बुझ्नुपर्छ । यस कारण हामीले आफ्नो हृदयको आवाजलाई पनि सुन्न र बुझ्न सक्छौँ । हाम्रो हृदयले हामीलाई के भनिरहेको छ ! त्यसका लागि केवल यही गर्नुपर्छ– ‘तपाईँभित्र श्वास आइरहेको छ अनि गइरहेको छ । यसलाई बुझ्नुहोस् । आफ्नो जीवनलाई सफल पार्नुहोस् । तिनलाई प्रेम गर्नुहोस्, उनी तपाईँको हृदयमा बसेका छन् ।’ हृदय त चीज नै त्यस्तो हो, किनभने यो हृदयमै ती सृष्टिकर्ता बसेका छन् । उनको आवाजलाई सुन्नका लागि अन्य कुराको आवाजलाई घटाउनु आवश्यक हुन्छ ।
कुनै बच्चा जब बजार जान्छ, ऊ मेलामा जान्छ अनि खेलौनातिर हेर्न थाल्छ । खेलौनामा हेर्दाहेर्दै बच्चाले आफ्नो आमाबुबाको हात समातिरहेको छु या छैन भन्ने कुरा नै भुल्छ। मानिसले पनि सृष्टिकर्तासँग यस्तै व्यवहार गरिरहेको हुन्छ । यो मेलारूपी दुनियाँमा हराएर उसले सृष्टिकर्तालाई पनि बिर्सन्छ । मनको संसार त निर्माण भइरहेको छ तर हृदयको संसार कहाँ छ ! हृदयका लागि कुनचाहिँ संसार छ ? आफ्नो जीवनमा, यो जीवनमा हृदयको संसार पनि त निर्माण गर्नुहोस् । जुन दिन तपाईँ यो जगत्मा आफ्नो हृदयको संसार निर्माण गर्न थाल्नुहुन्छ, त्यो खेलौनातिर पनि ध्यान दिनुहुन्छ, जुन हृदयका लागि ग्राह्य छ। त्यही खेलौनाले यो सारा संसारलाई रचना गरेको छ। हृदय त्यतातिर दौडिन्छ । त्यही कुरा उसको खेलौना हो। ऊ त त्यसैका साथमा खेल्न चाहन्छ। हामीलाई आफ्नो जीवनमा के चाहिएको छ, यसको निर्णय लिएपछि त्यसलाई प्राप्त गर्नतिर हामी अघि बढ्न शुरु गर्नेछौँ ।
हरेक व्यक्तिमा ५० प्रतिशत राम्रोपना छ अनि ५० प्रतिशत नराम्रोपना छ । अँध्यारो पनि भित्रै छ अनि प्रकाश पनि भित्रै छ । अन्योल पनि भित्रै छ र स्पष्टता पनि भित्रै छ । यसर्थ हामी जे–जे गरिरहेका छौँ नि, यसको स्रोत हामीभित्रै छ । यदि हामी यो संसारमा हराइरहेका छौँ भने त्यो हराउने अवस्था पनि हामीभित्रै हुन्छ । त्यसै गरी, यदि हामी आपूmले आपूmलाई पाइरहेका छौँ भने त्यो पनि हामीभित्रै हुन्छ । सबै चीज हामीभित्रै छ । बाहिरबाट कुनै चीज आइरहेको छैन । हाम्रो सोचाइ त यस्तो हुन्छ नि– यदि कतै गयौँ र केही ग¥यौँ भने त्यस कार्यबाट हामीले आनन्द प्राप्त गरिरहेका छौँ तर यो कुरा सत्य होइन । हामी केही गर्छौँ अर्थात् केही हेर्नका लागि जान्छौँ । हामीलाई त आनन्दको स्रोत नै त्यही हो भन्ने लाग्छ । वास्तवमा आनन्दको स्रोत त हामीभित्रै छ।
हामी कुनै चीजलाई हेर्छौँ, हामीलाई कुनै चीज राम्रो लाग्छ । त्यस सौन्दर्यबाट आनन्द प्राप्त हुन्छ । तथापि त्यो सौन्दर्यको आनन्द त्यस चीजमा हुँदैन । त्यो सुन्दरताबाट प्राप्त हुने आनन्द हामीभित्रै हुन्छ । यदि हामीले यस कुरालाई सधैँ ख्याल ग¥यौँ भने हाम्रो जीवनमा ठूलो परिवर्तन आउन सक्छ । वास्तवमा मैले कुनै चीजलाई बुझ्न सकिन भने यसको स्रोत पनि म नै हुँ । अर्को कुनै चीज छैन । यदि कुनै कुरा बुझिरहेका छौँ भने यसको स्रोत पनि स्वयम् नै हौँ । मभित्र सबै कुरा छ ।
जुन सृष्टिकर्तालाई म खोजिरहेको छु, ती पनि मभित्रै छन् । अनि, जुन दुष्टताबाट हामी बच्न चाहन्छौँ, त्यो पनि मभित्र छ । म जहाँसुकै गए पनि दुवै कुरा मसँगै जान्छन् । कुनै बेला गोपनीयताका लागि अर्थात् एक्लो बस्नका लागि हामी ढोकाको चुकुल लाउँछौँ । ढोका बन्द गरेर बस्र्छौँ तथापि तपाईँ कहिल्यै एक्लो हुनुहुन्न । प्रकाश पनि तपाईँसँगै छ अनि अँध्यारो पनि तपाईँभित्रै छ । ती सृष्टिकर्ता जसले यो सारा सृष्टिको रचना गरेका छन्– ती पनि तपाईँसँगै तपाईँभित्र आएका छन् । अनि, सारा संसारलाई हैरान पार्ने दुष्टता पनि तपाईँसँगै छ । सधैँभरि ! जेसुकै भइरहेको होस्, दुवै कुरा साथमा हुन्छन् । राम्रोपना पनि, अनि नराम्रोपना पनि ! यी दुवै हामीभित्रै भएकाले गर्दा यदि खराबी बाहिर प्रकट भयो भने त्यसलाई परास्त गर्ने कुरा पनि तपाईँकै नियन्त्रणमा हुन्छ । राम्रोपना पनि तपाईँकै अधीनमा रहने कुरा हो ।
यदि अन्त कतैबाट शान्ति आउने कुरा हुने हो भने त बर्बादै हुन्छ । यसको तात्पर्य के हो भने, यदि शान्ति कुनै कुवाबाट आइरहेको हुँदो हो त पचास हजार फिटमाथि उडिरहेको हवाईजहाजमा म कसरी शान्तिको अनुभव गर्न सकुँला र ! किनभने, त्यो शान्ति त धर्तीमै हुन्छ ! तर, म शान्तिको अनुभव गर्न सक्छु । म मानिसहरूलाई भन्ने गर्छु– ‘युद्धको मैदानमा पनि शान्तिको अनुभव गर्न सकिन्छ ।’ मानिसहरूले सोध्छन्, ‘यो कसरी सम्भव हुन्छ ?’ तपाईँ बाहिरबाट लडिरहनुभएको छ तर तपाईँभित्र के भइरहेको छ ! लडाइँ भइरहेको छ कि शान्ति भइरहेको छ ?
मानिसहरूको भनाइ के छ भने, तपाईँ शान्ति प्राप्त हुन सक्छ भनेर त भन्नुहुन्छ तर कसरी हुन्छ ? म एउटा उदाहरण दिन्छु– केनेडीले अमेरिका चन्द्रमासम्म पुग्न सक्छ भनेर भने। उनले त यसो भनिदिए । धेरै मानिसहरूले यो कुरा त असम्भव छ भन्ने तर्क राखे । तर, अमेरिका चन्द्रमामा पुग्य । जसले यो असम्भव छ भनेर भनेका थिए नि, तिनका कारणले गए कि सम्भव छ भन्नेहरूका कारणले गए ? यसकारण असम्भव भन्नेहरू पनि धेरै हुन सक्छन् । यसका लागि केही पनि आवश्यक हुँदैन तर साहसपूर्ण तरिकाले यदि काम गर्ने हो भने शान्तिका लागि साहसको आवश्यकता पर्दछ। साहस भित्रबाट आउँछ। हामी गर्न सक्छौँ किनभने तिनको आवश्यकता पनि हाम्रो आवश्यकताजस्तै हो।
आज म शान्तिका बारेमा कुरा गर्छु । वास्तवमा मानिसहरूलाई कस्तो शान्ति चाहिएको छ ? सामाजिक शान्ति चाहिएको छ। व्यक्तिगत शान्ति चाहिएको छैन। सामाजिक शान्तिको चाहना छ। कुन–कुन कुरालाई लिएर लडाइँ हुन्छ ? कुनचाहिँ चलचित्र हेर्न जानुहुन्छ ? अहिले हुन सक्छ चलचित्र हेर्न जानुभएको छैन होला तर कुनचाहिँ चलचित्र हेर्न जाने भन्ने कुरामा नै लडाइँ हुन थाल्छ । त्यसबाट केही हुने होइन । तथापि, यो जुन तपाईँभित्र लडाइँ चलिरहेको छ नि त्यहाँ के भइरहेको छ ? यसले तपाईँको जीवनलाई खेर फालिरहेको छ । धमिराले जस्तै हरेक रात तपाईँलाई भित्रभित्रै खाइरहेको छ । तपाईँका बारेमा कुरा गर्नुपर्दा तपाईँले आफूलाई कसरी बुझ्नुभएको छ त !
मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।
प्रतिक्रिया