यातायात र अर्थका सचिवहरू किन किन्न चाहँदैनन् मेसिन ?

अर्बौं ठगी र उच्च पदस्थको बेवास्ताले आशंका जन्मायो

182
Shares

काठमाडौं ।

नेपालमा आयात हुने विद्युतीय गाडी (ईभी) को भार क्षमता पत्ता लगाउने मेसिन नहुँदा चिनियाँ गाडी बीवाईडी आयात हुने क्रममा व्यापक राजस्व छली हुँदा पनि सरोकारवाला निकायहरू मौन बस्नुले आशंका जन्माएको छ।

बीवाईडी गाडी आयातकर्ता साइमेक्स इंकमाथि राजस्व छलेको आशंकामा राजस्व अनुसन्धान विभागले छानबिन गर्दै आइरहेको छ।

सरकारी निकायले विद्युतीय गाडी –ईभी) को क्षमता मापन गर्ने च्याक्सी डाइनामोमिटर र मोटर डाइनामोमिटर समयमा नै खरिद गर्न नसक्दा चिनियाँ गाडी बीवाईडीको ठगी धन्दा मौलाइरहेको छ भने मुलुकले अर्बांै रुपियाँ राजस्व गुमाइरहेको छ।

ती गाडीको भार क्षमता मापन गर्ने मेसिन खरिद गरेर ल्याउन सकेमा वास्तविकता पत्ता लाग्ने र उनीहरूले ठगी गर्न नसक्ने अवस्था हुँदाहुँदै पनि सरोकारवाला मन्त्रालय र निकायका नेतृत्व पक्षले यो विषयमा संवेदनशीलता देखाउन नसकेको पाइएको छ।

विशेष गरी बीवाईडी गाडीको भार क्षमता मापनसम्बन्धी मेसिन ल्याउन आवश्यक चाँजोपाँजो मिलाउने जिम्मेवारी र प्रमुख भूमिकामा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र मेसिन खरिदका लािग आवश्यक बजेट व्यवस्थापन गर्ने जिम्मेवारी अर्थ मन्त्रालयको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो उपकरण खरिदका लागि आवश्यक प्रस्ताव गरेर अर्थ मन्त्रालयसँग बजेट माग्न सक्छ। ईभी गाडीको भार क्षमता मापन गर्ने मेसिनको अभावमा बीवाईडीले अर्बौं राजस्व छली गरेको र त्यसको आशंकामा राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको तथ्य यातायात मन्त्रालय र अर्थ मन्त्रालयसमक्ष पुगिसक्दा पनि यी दुई निकायले राजस्व छली हुन नदिन आवश्यक मेसिनको व्यवस्थापन गर्नेतर्फ कुनै ध्यान नदिनुले कतै साइमेक्स इंकले उच्च पदस्थहरूलाई नै प्रभावमा पारेको त होइन भन्ने प्रश्न उठ्न थालेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूका अनुसार मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललगायतका उच्च पदस्थहरूले यो विषयलाई गम्भीरतापूर्वक लिएका छैनन्।

‘उच्च पदस्थहरूको ध्यान यस्तो गम्भीर विषयमा भन्दा आफ्नो स्वार्थ कहाँ पूर्ति गर्न पाइन्छ भन्नेमा नै बित्ने गरेको छ’ –भौैतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकृतले नेपाल समाचारपत्रसँग भने ।

यसै गरी अर्थ मन्त्रालयका सचिव मधु मरासिनीलगायतका उच्च पदस्थहरूलाई मेसिनको अभावमा बीवाईडी गाडी आयात गर्दा अर्बौं राजस्व छली भएको विषय जानकारीमा आए पनि गाडीको भार क्षमता मापन गर्ने मेसिन खरिदका लागि उहाँले पनि कुनै पहल गर्न सक्नुभएको छैन । यस सम्बन्धमा जानकारी लिन दुवै जना सचिवसँग पटकपटक सम्पर्क गरिए पनि उहाँहरूसँग सम्पर्क हुन सकेन ।

बीवाईडीका ती गाडीहरूको क्षमता मापन गर्ने मेसिनको अभावमा राजस्व अनुसन्धान विभागको छानबिन प्रक्रियामा समेत समस्या परिरहेको बताइएको छ। साइमेक्स इंकलगायतका आयातकर्ताले १ सय ५० किलोवाटको गाडी ल्याएर १ सय किलोवाटको कागजी विवरण बनाउने गरेको र ठूलो परिमाणमा राजस्व छली गर्दै आइरहेको दाबी स्रोतको छ ।

कागजातको आधारमा भन्दा पनि साइमेक्स इंकले आयात गरेका ती गाडीहरूको वास्तविक क्षमताको मापन नहुँदासम्म राजस्व अनुसन्धान विभागको छानबिनले समेत पूर्णता पाउन नसक्ने देखिँदै आएको छ।

प्राविधकहरूका अनुसार ईभी गाडीको चक्कामा के कति पावर आएको छ भनेर नाप्न च्यासी डाइनामोमिटर प्रयोग गरिन्छ भने गाडीको वास्तविक क्षमता मापन गर्न मोटर डाइनामोमिटर नामक मेसिन प्रयोग गरिन्छ। नेपालमा यी दुवै मेसिनहरू नहुँदा ईभी गाडीका आयातकर्ताले गाडीको क्षमताका बारेमा जेजस्ता कागजात पेस गर्छन् त्यसैलाई विश्वास गर्नुपर्ने अवस्था रहेको छ। जसका कारण पनि अर्बौं राजस्व ठगी भइरहेको स्रोतको दाबी छ। विदेशमा भने सरकारी निकायले नै यस्ता गाडीको क्षमता नापेर सोहीअनुसार राजस्व लिने गरेको प्राविधिकहरूको भनाइ छ।

सरकारले अर्बौं राजस्व छली रोक्न पनि सो मेसिन समयमा नै खरिद गरी सञ्चालनमा ल्याउन अत्यावश्यक रहेको सरोकारवालाको भनाइ छ। यातायात व्यवस्था विभागअन्तर्गत रहेको सवारी परीक्षण कार्यालयले पनि मोटर डाइनामोमिटरको अभावमा ईभी गाडको वास्तविक क्षमता पहिचान गर्न नसकिएको जनाएको छ।

कार्यालयका अनुसार दुई वर्षअघिसम्म १ सय ५० किलोवाटकै गाडी आयात गर्ने गरिएको थियो तर अहिले आएर १ सय किलोवाटको गाडी आयात गर्ने गरिएको कागजपत्र पेस हुने गरेको छ जुन निकै शंकास्पद छ।

निर्माता कम्पनीको वेबसाइट तथा अन्तर्राष्ट्रिय बजारमा एउटा क्षमता हुने तर त्यही गाडी नेपाल भित्रिँदा फरक क्षमता देखिनुले आशंका जन्माएको यातायात व्यवस्था कार्यालयका प्राविधिकहरूको भनाइ छ।

बीवाईडीले किलोवाट घटाएर नेपालमा यस वर्ष करिब ३ हजार गाडी बिक्री गरेको हुन सक्ने अनुमान राजस्व अनुसन्धान विभागले गरेको छ। नेपालमा साइमेक्स इंकका मुख्य सञ्चालकका रूपमा यमुना श्रेष्ठ र समिर श्रेष्ठ रहेका छन् ।