आजै सानो आकारको मन्त्रीमण्डलको तयारी

630
Shares

काठमाडौं ।

नयाँ सत्ता समीकरण गरेका कांग्रेस–एमालेले प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेपछि शुक्रबार साँझ नै सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठनको तयारीमा रहेका दलहरूले ‘प्रचण्ड’ सरकार हटेपछि शुक्रबार बेलुकी नै बहुमत हस्ताक्षरसहित सरकार गठनका लागि राष्ट्रपतिसमक्ष जाने तयारी गरेका हुन्।

यद्यपि, सरकारले विश्वासको मत नपाएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुहुनेछ । त्यसपछि दलहरूले सरकार गठनका लागि आवश्यक बहुमत लिएर राष्ट्रपतिसमक्ष जानका लागि पूर्वतयारी हुँदै गरेको नेकपा एमालेका एक नेताले बताए। सरकारमा को को मन्त्री पठाउने भन्ने निर्णय दलहरूले गरिसकेका छैनन्।

सरकारमा अरू दललाई पनि सहभागी गराउने

नेपाली कांग्रेस र नेकपा (एमाले) ले अरू दलहरूलाई समेटेर सरकार गठन गर्नेबारे छलफल गरेका छन्। गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार गठनलगायत ७ बुँदे सहमति गरेका संसद्का दुई ठूला दल कांग्रेस र एमालेले राष्ट्रिय सहमतिको सरकारका लागि अरू दलहरूसँग पनि छलफल चलाएका हुन्।

कांग्रेस र एमालेले संसद्मा रहेका अन्य दलहरूलाई पनि समेट्दै माओवादी केन्द्रलाई पनि विश्वासमा लिएर अघि बढ्ने तयारी गरेको नेताहरूले बताएका छन्। संविधानका कतिपय बुँदाहरू पुनरावलोकन गर्नुपर्ने देखिएकाले सबै दलहरूको सहमतिअनुसार अघि बढ्ने आवश्यकता रहेको नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताउनुभयो। संविधान संशोधनलगायत मुद्दामा कांग्रेस र एमालेले संसद्मा रहेका साना दलहरूलाई पनि सरकारमा सहभागी गराएर दुई तिहाइ हाराहारीको सरकार बनाउन खोजेको विश्वकर्माले जानकारी दिनुभयो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संविधान संशोधनलगायत विषयमा पनि सहमति भएकाले राष्ट्रिय सहमतिको सरकार बनाउने पहल भइरहेको बताउनुभयो । त्यसका लागि संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्ने र उनीहरूलाई सांसद संख्याका आधारमा मन्त्रालय दिने भन्नेबारे छलफल चलेको उहाँको भनाइ छ ।

नयाँ सरकारमा कस्तालाई बनाउने मन्त्री ?

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार संसद्बाट विश्वासको मत नपाएपछि शुक्रबार ढल्ने निश्चितजस्तै छ । परिस्थितिमा कुनै नाटकीय परिवर्तन नभए शुक्रबार नै ‘प्रचण्ड’ सरकार ढलेर एमाले कांग्रेससहितका दलहरूको नयाँ गठबन्धनबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने निश्चित छ।

ओलीले शुरूमा सानो मन्त्रिपरिषद् बनाउने बताइएको छ। तर, प्रधानमन्त्री तथा एमाले कांग्रेसको गठबन्धनका प्रमुख नेताहरूले सरकारमा मन्त्री पठाउँदा कार्यसम्पादनमा उत्कृष्टता देखाउन सक्ने, इमानदार, नैतिकवान्, जनउत्तरदायी र अहोरात्र काममा खटेर शतप्रतिशत परिणाम दिन सक्ने व्यक्तिलाई मन्त्री बनाउनुपर्ने राजनीति तथा प्रशासनविज्ञहरूको सुझाव छ।

यसअघिका सरकार तथा मन्त्रीको कार्यशैलीले जनतामा निराशा फैलिरहेकोमा अब आम जनतामा आशा र भरोसा जगाउन असल, इमानदार र चौबिसै घण्टा काम गरेर मन्त्रालयको काममा कम्पन ल्याउन सक्ने सक्षम व्यक्तिलाई मन्त्री बनाएर काममा खटाउनुपर्ने आवश्यकता विज्ञहरूले औंल्याएका छन् ।

मन्त्री छनोटका २० आधार यस्ता हुन सक्छन्
१. योग्यमध्ये असल र उत्कृष्ट क्षमताका ‘भिजन’ दिन सक्ने
२. समष्टिगत राष्ट्रिय हित केन्द्रबिन्दुमा राख्न सक्ने
३. सधैं जनताकै निकट रही काम गरिरहेको
४. निजीभन्दा सार्वजनिक हित प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेलेको
५. उच्चस्तरको नैतिकता र आचरण प्रदर्शन गरेको
६. पार्टी घोषणापत्रअनुसार मन्त्रालयको नीति बनाउन र कार्यान्वयनमा दक्ष
७. राजनीति–प्रशासन सीमा र अन्तरसम्बध प्रस्ट बुझ्न सक्ने
८. पार्टी विभागमा रहँदा सम्बन्धित मन्त्रालयको काममा अनुभवी
९. तडकभडक नअपनाई सादा जीवनशैली अपनाउँदै आएको
१०. सम्पत्ति विवरण वर्षैपिच्छे सार्वजनिक गर्न सक्ने हिम्मतिला
११. मन्त्रिपरिषद् बैठकमा आफ्नो मन्त्रालय सम्बन्धित विषयमा स्पष्ट र वस्तुगत किसिमले प्रस्तुति दिन सक्ने
१२. उच्चनिर्णय क्षमता र सूचना प्रविधिबारे जानकार
१३. राज्य कोषमा गिद्देदृष्टि नलगाउने र अथाह सुविधा नखोज्ने
१४. अन्य मन्त्रालयको काममा समेत सहजीकरण, समन्वय र सहकार्य गर्न सक्ने
१५. कर्मचारी परिचालन गर्न सक्ने खुबी र ल्याकत भएका
१६. मन्त्रालयको सम्पूर्ण कार्यमा कम्पन ल्याउन सक्ने
१७. जोखिम र चुनौती सहजै मोल्न सक्ने, जनप्रिय कार्यक्रम ल्याउन सक्ने
१८. चौबिसै घण्टा खट्न सक्ने (रेडी टु वर्क)
१९. भ्रष्टाचारमा शून्य सहनशीलता नीति मनैदेखि आत्मसात् गर्न सक्ने
२०. काममा लचिलो, सरल व्यवहार र नतिजामा प्रतिबद्ध