त्रिवि उपकुलपति नै माओवादी केन्द्रमा आवद्ध भेटिए

प्राध्यापकले मागे राजीनामा

44.65k
Shares

  • नियुक्ति मापदण्डसम्बन्धी विनियमको चर्को आलोचना
  • नसच्याए आन्दोलनमा जाने प्राध्यापक संघसंगठनको चेतावनी
  • १५ दिनभित्र स्पष्ट पारिने आश्वासन

 काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बराल माओवादी केन्द्रको शिक्षा तथा मावनस्रोत विभागको सदस्य भएको खुलासा भएपछि त्रिविका नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघलगायत ८ संस्थाले उपकुलपति प्राडा बरालको राजीनामा माग गरेका छन्।

ती संगठनहरूले बुधबार पार्टीको सक्रिय सदस्य रहनुभएका उपकुलपति डा. बराललाई कुर्सीमा बस्न अयोग्य रहेको बताएका छन्। माओवादी केन्द्रको शिक्षा विभागको १६औं नम्बरमा उपकुलपति बरालको नाम छ।

गत फागुनमा नियुक्ति पाएका प्राडा बरालले आफूले पदबहाली गरेकै दिन आफू राजनीतिक पार्टीको झोले नभएको र आफूले त्रिविमा राजनीतिलाई प्रोत्साहन नदिने बताउनुभएको थियो । तर, उहाँ आफैं राजनीतिक पार्टीमा सक्रिय रहेको पुष्टि भएको छ ।

त्रिविले ‘त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१’ सार्वजनिक गरेको छ। पुष्कर बज्राचार्यको संयोजकत्वमा तयार पारिएको मापदण्ड प्राध्यापकको हितविपरीत रहेको भन्दै बुधबार प्राध्यापक संघसंगठनहरू तीनैजना पदाधिकारी घेराउ गर्न पुगेका थिए।

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका अध्यक्ष जगत तिमल्सिनाले सरोकारवालासँग सल्लाह नगरी जारी गरेको मापदण्ड कार्यान्वयन हुन नसक्ने चेतावनी दिँदै भन्नुभयो– ‘आफूहरू राजनीति गर्ने, अनि कर्मचारी र प्राध्यापकलाई राजनीति गरे कुनै पनि पदमा रहन नसक्ने गरी तयार गरिएको मापदण्डको विरोधमा उत्रिएका हौं ।’

यो निर्णय कदापि मान्य नहुने टिप्पणी गर्दै त्रिवि प्राध्यापक संघका अध्यक्ष वसन्त ढकालले भन्नुभयो – ‘जागिर अवधि ४ वर्ष बाँकी भएकालाई मात्र नियुक्ति गर्ने, राजनीतिमा नलागेको भनी स्पष्ट जानकारीसहितको प्रतिबद्धता जाहेर गरेपछि मात्र नियुक्ति दिइनेजस्ता विषय समावेस गरी तयार गरेको कार्यविधि लागू हुनै सक्दैन । तीनै जना पदाधिकारीले राजनीति गर्न हुने, अनि हामीले राजनीति गर्दा हट्नुपर्ने ?’ उहाँले तत्काल मापदण्ड परिवर्तन नगरे कडा आन्दोदनमा जाने चेतावनी पनि दिनुभयो ।

उक्त विनियम जारी भएपछि आक्रोशित प्राध्यापकले तीनै जना पदाधिकारीमाथि राजनीतिक दलको सदस्य भएको आक्षेप लगाएका छन् । स्रोतका अनुसार त्रिविका तीन पदाधिकारीमध्ये डा. बराल माओवादी, रेक्टर प्राडा खड्ग केसी एमाले र रजिस्टार प्राडा केदारप्रसाद रिजाल नेपाली कांग्रेसनिकट हुनुहन्छ । उपकुलपति प्राडा बरालबाहेक दुई पदाधिकारी पार्टीमा सक्रिय देखिदैनन्। यद्यपि, तीनै जना पदाधिकारीले आफ्नो पार्टीआबद्ध कर्मचारीलाई सचिवालयमा राखेका छन् ।

सक्रिय राजनीतिमा रहेको विषयमा आफ्नो बचाउ गर्दै उपकुलपति बरालले प्राध्यापकहरूसँग भन्नुभयो– ‘पार्टीले तपाईंजस्तो व्यक्ति पार्टीमा आवश्यक पर्छ भनेपछि विभागको सदस्य बनेको हुँ।’ सबै प्राध्यापक संघ संगठनले आफू निकटलाई नियुक्ति गर्न मापदण्डसम्बन्धी विनियम जारी गरेको आरोप लगाएका छन्। यस विषयमा जानकारी लिन खोज्दा उपकुलपति प्राडा बरालले भन्नुभयो–‘म एकछिन बैठकमा छु , पछि कुरा गरौंला ?’

तीन पदाधिकारीसँग भेट गर्न प्रजातान्त्रिक प्राध्यापक संघका अध्यक्ष तिमल्सिना, प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष प्राडा वेदराज केसी, नेपाल लोकतान्त्रिक प्राध्यापक संघका अध्यक्ष डा.उदय तिवारी, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष जगदीशचन्द्र भण्डारी, जसपा निकट समाजवादी प्राध्यापक संघका अध्यक्ष डा. पवन झा, राष्ट्रिय प्राध्यापक संगठनको तर्फबाट बालमुकुन्द रेग्मी, नेपाल प्राध्यापक संघका अध्यक्ष डा रमेश कुमार जोशी र महासचिव सह प्राध्यापक नरेन्द्र सिवाकोटी  पुग्नुभएको थियो।

भेटमा नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ र दलगत संघ, संगठनका अधिकारीले तत्काल निर्णय नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए। उहाँहरूले ३ पदाधिकारीलाई जेठ १ गते बुझाएको ज्ञापनपत्र कार्यान्वयन गर्न आग्रह पनि गर्नुभएको थियो। उपकुलपतिले भने १५ दिनभित्र मागपत्र र मापदण्डको बारेमा स्पष्ट पार्ने बताउनुभएको थियो ।

मापदण्डमा त्रिभुवन विश्वविद्यालयका डीन, क्याम्पस प्रमुखलगायतका पदमा उम्मेदवारले राजनीतिक दलमा आवद्ध नभएको स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ । विनियमले हरेक पदको नियुक्तिका लागि इच्छुक उम्मेदवारले राजनीतिक दलमा आवद्ध नभएको स्वघोषणा गर्नुपर्नेछ । विनियममा कुनै पनि संकाय वा संस्थानको डीन छनोट तथा सिफारिसका लागि तीन सदस्य छनोट समिति रहने व्यवस्थासमेत गरिएको छ । समितिले त्रिविका संकायका डीनका लागि प्रत्येक संकायगत उत्कृष्ट तीन उम्मेदवारको नाम सिफारिस गरेपछि परिषद्ले नियुक्त गर्नेछ ।

एउटै पदावधिका लागि एउटै व्यक्ति डीन पदमा दुई पटकभन्दा बढी नियुक्त नहुनेसमेत विनियममा व्यवस्था छ। अरू संकायको डीन नियुक्तिका लागि विद्यावारिधि (पीएचडी) र चिकित्साशास्त्र अध्ययन संस्थानतर्फ एमडीको शैक्षिक योग्यता अनिवार्य गरिएको छ।

यसका साथै त्रिविमा कम्तीमा १० वर्षको स्थायी पूर्णकालीन प्राध्यापक अनुभव प्राप्त प्राध्यापक वा सहप्राध्यापक हुनुपर्नेछ। सहायक डीनका लागि पनि पीएचडी अथवा एमडी चाहिन्छ, त्रिविमा प्राध्यापन अनुभव भने ८ वर्ष तोकिएको छ। कार्यकारी निर्देशक, परीक्षा नियन्त्रक र प्रिन्सिपलका लागि १० वर्ष र क्याम्पस प्रमुखका लागि कम्तीमा ५ वर्ष प्राध्यापन अनुभवलाई अनिवार्य गरिएको छ ।

त्रिविमा कम्तीमा ८ वर्षको स्थायी पूर्णकालीन प्राध्यापक, क्लिनिक अभ्यास, अनुसन्धान र प्रशिक्षण तथा प्रशासनसम्बन्धी अनुभव प्राप्त प्राध्यापक वा सहप्राध्यापक अनुभव प्राप्त प्राध्यापक वा सह प्राध्यापक हुनुपर्ने व्यवस्था गरेको छ। त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० को नियम १३३ (२) र ३०७ ले दिएको अधिकार प्रयोग गरेर मापदण्डसम्बन्धी उक्त विनियम जारी गरिएको हो ।