निःशुल्क पुस्तकालयको स्थापना आजको आवश्यकता

3.01k
Shares

पढ्ने मान्छे कहिल्यै गरिब हुँदैन । –महात्मा गान्धी
ज्ञानको खजाना खोल्न पुस्तकालय सबैभन्दा राम्रो स्थान हो । –अल्बर्ट आइन्स्टाइन
 एक पुस्तकालयमा एक सपना छ, जसले हाम्रो भविष्य उज्ज्वल बनाउन सक्छ । –कार्ल सेगन

आजका आधाभन्दा बढी युवाहरु शिक्षाको नाममा विदेशिएका छन्। महान् अनि साहसी छन् ती युवाहरु, जो नेपालमै बसेर आफ्नो भविष्यको कल्पनामा लागिपरेका छन्। विदेशको दुई–चार वर्षको मेहनतले बाँकी जीवन नेपालमा सुतेर खान पुग्छ, त्यो टेक्नोलोजी, लक्जरी सुविधाको त हिसाब कसरी राख्ने, अरु त त्यस्तै नेपालमा बस्ने युवाहरुले त आफ्नै जीवनसाथी चयनमा पनि निकै कष्ट व्यहोर्नुपरिरहेको छ।

यस्तो अवस्थामा पनि नेपालमा बसेर केही गर्ने हौसला बोकेका हजारौं युवाहरुलाई सम्मान त टक्र्याउनुपर्छ नै । त्यस्ता युवाहरु केवल नेपालमा बस्ने उत्पेरणा मात्र बोकेर होइन, लोक सेवा आयोग कम्मर कसेर तयारी गरिरहेका छन् । भन्छन्, ‘एकदिन हाम्रै कारणले विदेशिएका हाम्रा साथीहरु स्वदेशिने छन् ।’

चाहे लोक सेवा आयोग तयारी गर्ने हुन् वा स्कुल स्तरीय विद्यार्थी वा शिक्षित जनशक्ति, आजकल अध्ययनमा रुचि राख्नेको संख्या पनि बढ्दै गइरहेको छ । अध्ययनको लागि उचित वातावरणको कमी हुँदा उनीहरूलाई बाधा भइरहेको छ। यसै सन्दर्भमा, निःशुल्क पुस्तकालयको आवश्यकता महत्वपूर्ण छ।

नेपालमा हाल ३ सयभन्दा बढी सार्वजनिक पुस्तकालयहरू छन्, तर अधिकांशको अवस्था सुधार गर्नुपर्नेछ । यस्ता पुस्तकालयहरूले स्थानीय समुदायमा सकारात्मक प्रभाव पार्छन्। अध्ययनका लागि प्रेरित गर्ने, अनुसन्धानको अवसर प्रदान गर्ने र समाजमा ज्ञानको प्रसार गर्ने कार्यमा पुस्तकालयहरूको भूमिका महत्वपूर्ण छ । उदाहरणको रूपमा श्री रत्न पुस्तकालय, बानेश्वर २०१८ सालमा स्थापित पुस्तकालय हो। अध्ययनमा रुचि राख्ने सबैका लागि एक प्रमुख थलो बनेको छ यो । यहाँ पत्रपत्रिका, साहित्यिक, धार्मिक, र राजनीतिक पुस्तकहरूको व्यापक संग्रह छ। वरपरका बासिन्दाले गर्मीमा शीतल खाने ठाउँको रुपमा पनि पुस्तकालयलाई उपयोग गरेका छन् । सार्वजनिकरूपमा खोलिएको यस पुस्तकालयमा आउने व्यक्तिहरू यसरी पुस्तकालय खुलाइएकोमा निकै खुशी छन् ।

यस्ता पुस्तकालयहरुमा प्रायः पढ्न आउनेहरूमध्ये आधाजस्तो व्यक्तिहरू विद्यार्थी हुने गर्दछन्, लोक सेवा आयोग तयारी गरिरहेका । घरमा पढ्न कठिनाइ भोग्ने विद्यार्थीले पुस्तकालयमा आएर प्रभावकारी अध्ययन गर्न सक्ने वातावरण पाउँछन्। बिहानैदेखि बेलुकीसम्म खुल्ला राखिएको भए अध्ययनको एकाग्रता अझ बढ्ने कुरा विद्यार्थीले प्रकट गरेका छन् ।

यसै पुस्तकालयमा निरन्तर अध्ययनको लागि आउने सरिता विश्वकर्मा (नाम परिवर्तन) को कथा प्रेरणादायक छ। उनी लोक सेवा आयोगको तयारी गर्दै छिन्, विवाहित उनी जिम्मेवारी र कर्तव्यका कारण घरमा पढ्न कठिनाइ भोग्नुपरेको हुनाले नियमितरूपमा श्री रत्न पुस्तकालयमा जान्छिन् । त्यहाँको शान्त वातावरण र पत्रपत्रिकाहरूको सहज उपलब्धताले उनलाई परीक्षा तयारीमा ठूलो मद्दत पुगेको छ । उनी भन्छिन्, ‘पुस्तकालयले मेरो अध्ययनको स्तर बढाएको छ र मैले नयाँ ज्ञान प्राप्त गर्न सकेकी छु । पुस्तकालयमा आएर अध्ययन गर्दा धेरै एकाग्रताका साथै सहपाठीहरुको उपस्थितिले अध्ययनमा अझ प्रोत्साहित गर्ने गरेको छ ।’

आज सोसल मिडियाको पहुँच यतिसम्म छ कि केही काम नगर्नेहरु पनि सोसल मिडियाकोको चमकमा अत्यधिक मात्रामा व्यक्त भइरहेका छन्। सोसल मिडिया आजको आवश्यकता हो, आजका पिँढीले यसलाई राम्ररी बुझेर उपयोगमा ल्याउनुपर्ने आवश्यकता महसुस गरिएको छ। आज केही नयाँ ज्ञान सिक्न कतै, कसैको पछाडि धाउनुपर्दैन तर पनि सोसल मिडिया आज हामी नेपालीको कमजोरी बन्दै आएको छ। आजका युवाहरु आफ्नो अधिकतम समय यसैको पछाडि फाल्छन्। यस्तोे अवस्थामा सोसल मिडियाबाट टाढा रही एकाग्र भएर अध्ययनमा लाग्नु कठिन छ। यो समस्या समाधानका रुपमा यस्ता पुस्तकालयहरुले निकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। साथै अध्ययनमा रुचि राख्ने सबैले यस्ता निःशुल्क सेवा दिने पुस्तकालयको आवश्यकता दिन–प्रतिदिन बढ्दै गएको अभिव्यक्ति दिएका छन्। यिनै पुस्तकालयप्रेमी युवाहरुले आजको प्रमुख आवश्यकताको रुपमा यस्ता भैतिक पुस्तकालयहरुलाई मान्ने गरेका छन्।

अध्ययन र अनुसन्धान मानिसको जीवनभरि नितान्त जरुरी कुरा हो। झन् आजका युवापुस्ताहरुलाई त यसको आवश्यकता अझ बढी छ। विश्वका जुनसुकै कुनामा बसेकासँग काँधमा काँध मिलाएर हिँड्नको लागि नेपालले धेरै विकासका पाइलाहरू चाल्नुपर्ने आवश्यकता छ । त्यसको लागि हामीसँग भएका पूर्वाधारहरु भनेकै युवा जनशक्ति हुन्। तिनीहरुलाई स्कुल, कलेजमा पढिएका सामग्रीहरूले मात्र पर्याप्त ज्ञान प्राप्त हुँदैन । त्यसकारण देश–विदेशका गतिविधि र अध्ययनको आवश्यकता धेरै छ।

आजका कैयौँ बालबालिका स्मार्ट फोन र टेलिभिजनमा यतिसम्म हराउँछन् कि बाहिरी खेल, मनोरञ्जन, साथीभाइसँग भेटघाट, अध्ययन र अनुसन्धानको रुचि, नयाँ सिकाइको अपेक्षा राख्दै राख्दैनन् । यस्तो परिवेशमा आजका युवाहरुलाई अध्ययनतर्फ आकर्षित गर्नका लागि फरक वातावरण र परिवेश सिर्जना गर्नुपर्ने आजको आवश्यकता हो । यसका लागि ठाउँ–ठाउँमा निःशुल्क पुस्तकालय स्थापना, नेपाली साहित्यलाई प्रोत्साहनका साथै नयाँ पुस्ताका लागि समुचित वातावरण मिलाउने प्रयत्न हामीबाट हुनुपर्ने महसुस गरिएको छ। सँगसँगै नेपाली साहित्यमा होमिएका लेखहरूलाई प्रोत्साहन र विश्वसामु चिनाउन यस्ता पुस्तकालयहरुको आवश्यकता छ।

त्यसैले सरकार तथा संथाहरुले, अध्ययनमा रुचि राख्नुहुने सम्पूर्ण नेपालीहरुलाई बढावा दिँदै बिस्तारै सार्वजनिक पुस्तकालयहरु ठाउँ–ठाउँमा खोल्नुपर्ने आवश्यकता देखिन्छ। यसले सम्पूर्ण लेखकवर्गको आथिर्क उत्तरदायित्व घटाउनुको साथै, शिक्षा र सकारात्मक सोचको सञ्चार गराउँछ। स्थानीय सामुदायिक सहभागिता, सहयोग र अनुदान, डिजिटल पुस्तकालयहरूको स्थापना निःशुल्क पुस्तकालयहरूको विकास र सञ्चालनलाई प्रभावकारी बनाउन महत्वपूर्ण छन्।

स्थानीय आवश्यकताहरू पहिचान गरी स्वयंसेवी कार्यक्रमहरू सञ्चालन गर्दै समुदाय कार्यक्रमहरू आयोजना गरी, स्थानीय व्यवसाय तथा संस्थाहरूसँग सहकार्य गरेर पुस्तकालयलाई सामुदायिक केन्द्र बनाउनु आवश्यक छ। सरकारी बजेट वृद्धि, निजी क्षेत्रको सहभागिता, अनुदान कार्यक्रमहरू र समुदायको आर्थिक सहयोग जुटाउन विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्छ। यसले अध्ययनको पहुँच बढाउँदै नेपाली समाजमा अध्ययन संस्कृति विकास गर्न, युवापुस्ताको उज्ज्वल भविष्यको मार्ग प्रशस्त गर्न र शिक्षा तथा ज्ञानको प्रसारमा योगदान पुर्‍याउन मद्दत पुर्‍याउँछ।

अन्ततः निःशुल्क पुस्तकालयले नेपाली समाजमा अध्ययन संस्कृति विकास गर्ने, युवापुस्ताको लागि उज्ज्वल भविष्यको मार्गप्रशस्त गर्ने कार्यमा सघाउ पुर्‍याउनेछ। यसको लागि हामी सबैले एकजुट भएर प्रयास गर्न आवश्यक छ। निःशुल्क पुस्तकालयहरुको स्थापना, विकास र प्रोत्साहनमा सरकार एवं स्थानीय निकायहरुले अग्रसरता देखाउनुपर्छ। निःशुल्क पुस्तकालयहरु हाम्रो समाजको आवश्यकता हुन् र यसको स्थापना एवं प्रोत्साहनमा हाम्रो सक्रिय भूमिका रहनुपर्छ। यसले नेपाली समाजलाई शैक्षिक र सांस्कृतिकरूपमा समृद्ध बनाउन योगदान पु¥याउनेछ ।