नेताहरु सच्चिने कि सक्किने

182
Shares

नेपाल यस्तो देश भयो, जहाँ मुलुकका लागि केही गर्न सक्ने युवा देशमा बस्न रुचाउन छाडे । सुन्दर भविष्य भन्दै सम्पन्न मुलुक जाने युवाको लर्को हेर्दा अबको केही वर्षमा नेपालमा युवायुवतीको सिलो खोज्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । किन यस्तो अवस्था सिर्जना हुन लागेको छ ? यसतर्फ कसैको ध्यान जान सकेको देखिँदैन । ध्यान जाओस् पनि कसरी ? कसैलाई मुलुक र जनताका बारेमा कुनै चिन्ता र चासो छैन। आज मुलुकको अवस्था हेर्ने हो भने डर लाग्दो अवस्थामा पुगिसकेको छ। जता हेरे पनि निराशा मात्रै देखिन्छ। पुराना दलप्रति जनताको वितृष्णा बढिरहेको बेला जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको पछिल्लो गाईजात्राले पनि यो पार्टी कुन उद्देश्यका साथ जन्मिएको रहेछ भन्ने स्पष्ट भएको छ ।

सत्ताभन्दा ठूलो केही होइन भन्ने सो पार्टीका अध्यक्ष रवि लामिछानेले पार्टीको बारेमा चिन्ता र चासो राख्ने मुकुल ढकाललाई पार्टीबाट हटाएको दृष्टान्तले देखिन्छ। पार्टी बलियो बनाउन पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो हुनुपर्दछ। पार्टीलाई जीवन्त राख्ने हो भने पार्टीले लिएको नीतिका बारेमा बहस हुनुपर्दछ तर सो पार्टीमा देखिएको एकाधिकारवादका कारण रास्वपा लामिछाने क्लबको रुपमा स्थापित हुन खोजेको हो कि भन्ने सो पार्टीको पछिल्लो गतिविधिले देखाएको छ। युवाहरुको मनको ढुकढुकी हुने लयमा रहेको रास्वपा जब सरकारमा गयो त्यसपछि उसले गरेका क्रियाकलापप्रति जनता सशंकित भएका थिए।

पछिल्लो समय पार्टीका महासचिव ढकालले देशभर घुमेर तयार पारेको प्रतिवेदनलाई नजरअन्दाज गर्दै महासचिवमाथि नै कारबाहीको डन्डा बजाएर पार्टी सभापति आफैँ नाङ्गो हुनुभएको छ। जसप्रति आम नेपाली जनताले भरोसा गर्न खोजेका थिए, त्यही पार्टीभित्रको आन्तरिक कलह बाहिर छताछुल्ल भएपछि यो पार्टीप्रति अघात माया गर्ने नेता–कार्यकर्ता मात्र होइन, समर्थक पनि निराश हुनुपर्ने अवस्था आउनु पक्कै राम्रो होइन। पुराना दलले केही गरेनन् भन्ने आम नेपाली जनताले भरोसा गर्न खोजेको दलको अवस्था नै नाजुक भएपछि अब कसलाई आशा गर्ने ? यो आम प्रश्न हो ।

आज युवा राजनीतिमा आकर्षित हुन नसकेको अवस्थामा दलहरुले नेतृत्व युवालाई हस्तान्तरण गर्ने घोषणा नगरेसम्म युवा पलायन हुने क्रम रोक्न सकिँदैन, तर त्यो अवस्था अहिले देखिँदैन। आशा–भरोसा गरेकाहरुबाट नै आश गर्न सक्ने अवस्था नरहेको भन्दै राजनीतिज्ञप्रति जथाभावी आलोचना गर्नेहरु बढेको देखिन्छ। त्यसैले नेताहरु सच्चिने कि सक्किने भन्ने अवस्था सिर्जना भएको छ । यही अवस्था रहने हो भने मुलुकबाट पलायन हुने नेपालीको संख्या बढ्दै जाने निश्चितप्रायः छ। अब पनि केही नसोच्ने हो भने मुलुक असफल राष्ट्रतर्फ नधकेलिएला भन्न सकिँदैन । नेतृत्ववर्गसहित सबै समयमा नै होसियार हुन जरुरी देखिन्छ।