सिटिजन्स बैंकद्वारा घर जग्गा लिलामी, पीडितद्वारा बैंकको फर्साटिकर शाखामा तालाबन्दी

1.1k
Shares

बुटवल  । 

बैंक तथा वित्तिय संस्था पीडितहरुले रुपन्देहीको फर्साटिकरमा सञ्चालित सिटिजन्स बैंकमा तालाबन्दी गरेका छन् । सिटिजन्स बैंकको शाखा कार्यालयले ऋणीप्रति ज्यादती गरेको भन्दै मंगलबार तालाबन्दी गरेका हुन् ।

शुद्वोधन गाउँपालिकाका पूर्वअध्यक्ष किसनचन्द चौधरीको उद्योगसहितको साढे ५४ कठ्ठा जग्गा सिटिजन्स बैंक फर्साटिकर शाखाले लिलाम गरि आफै सकारेकाले पीडितहरुले बैंकमा तालाबन्दी गर्न परेको बताएका छन । सम्झौता भन्दा बाहिर गएर बैंकले मनोमानी व्याज बढाएर ऋणीको सम्पति लिलामीको वहानामा बैंकले आफ्नो नाममा गराएको भन्दै तालाबन्दी गरेका हुन् ।

शुद्वोधन गाउँपालिकाका पूर्वअध्यक्ष किसनचन्द चौधरीको गत्ता उद्योग रहेको ३५ कठ्ठा , साढे २ कठ्ठामा बनेको घर र पोखरी सहित रहेको १७ कठठा गरी कुल साढे ५४ कठठा जग्गा सिटिजन्स बैंक फर्साटिकर शाखाले लिलामीको वहानामा बैंकले आफ्नो नाममा गराएकोले चेतावनी स्वरुप तालाबन्दी गरेका हुन् ।

चौधरीकोे १४ करोड मुल्याकंन गरेर सिटिजन्स बैंकले ६ करोड लगानी गरेको थियो । अहिले उद्योगसहित करिव ८ करोड ऋण देखाएर मनोमानी रुपमा लिलाम गरी बैंकले जग्गा आफ्नो नाममा सकारेको पीडित चौधरीले बताउनुभयो । चौधरीका अनुसार गत जेठ १४ गते बैंकले जानकारी नगराई लिलाम गर्दिएको थियो । यही असार ५ गते एनएमबी बैकमा चेकसाट्न जादां आफू बैकको कालो सुचीमा परेको चौधरीका माईला छोरा अजय चौधरीले बताउनु भयो ।

चौधरीसहित बैंक तथा वित्तिय संस्था पीडितहरुले बैंकको बिरोध गर्दै सम्पति फिर्ताको माग गरेका छन् । ऋण तिर्नका लागि बैंकमा धितो राखिएको जग्गा मध्येबाट १० कठ्ठा विक्री गर्न खोज्दा बैंकले विक्री गर्न नदिएको पीडित चौधरी परिवारको गुनासो छ ।

सिटिजन्स बैंक शाखा कार्यालय फर्साटिकरका प्रमुख अर्जुन पौडेलले राष्ट्र बैंकको नियम अनुसार प्रकृया पुराएर र अदालतवाट समेत फैसला भएको जग्गा लिलामी गराएको बताउनु हुन्छ । लिलाम प्रकिया पुरा गरी बैकले आफनो नाममा लिएको र पीडित पक्षले चाहेमा एक वर्ष भित्र आफ्नो सम्पति फिर्ता गर्न सक्ने गरि प्राथमिकता दिने कानुनी प्रावधान रहेको समेत प्रमुख पौडेलले बताउनु भयोे । अन्यथा ३ वर्ष भित्र बैकले सो जग्गा आफनो नामवाट सल्टाउनु पर्ने कानुनी व्यवस्था रहेका छ ।

बैंक तथा वित्तिय संस्था पीडित समन्वय समिति रुपन्देहीले बैंक तथा वित्तिय संस्थाहरुले मनोमानी गरेको भन्दै देशभर बिरोध प्रदर्शन गर्दै आएको छ । ऋण लिंदाको सहमति अनुसारको व्याज कायम गरी कोरोना कालको व्याज राहत स्वरुप मिनाहा गरी धितो लिलाम प्रकृया बन्द गर्नुपर्ने बैंक तथा वित्तिय संस्था पीडित समन्वय समिति रुपन्देहीका सचिव विशाल पौडेलको कथन रहेको छ ।

बैंक आतंक बन्द गरी एकल अंकको व्याजदर कायम गर्नुपर्ने बैंक तथा वित्तिय संस्था पीडितहरुको माग छ । त्यस्तै ऋणीहरुसंग समन्वय गरी समय थप गर्नुपर्ने पीडितहरुले माग गरेका छन् । सम्झौता अनुसारको व्याज तिर्न ऋणीहरु तयार भएको बताउंदै ऋण खाएको भरमै सम्पती लिलाम गर्ने प्रकृया बन्द नभए आन्दोलन चर्काउने अभियानका अभियान्ताहरु मानबहादुर रसाइली र महेन्द्र शाहीको कथनरहेको छ ।

बैंक तथा वित्तिय संस्था पीडितहरुका माग तत्काल सम्बोधन गर्न नागरिक बचाउ अभियानका रुपन्देही अध्यक्ष दिनेश भण्डारीले सरकारसंग माग गर्नुभयो । ऋणीमाथि अनावश्यक टर्चर दिने बैंक तथा वित्तिय संस्थाहरुमा तालावन्दी गरेर आन्दोलनमा उत्रने समितिका अध्यक्ष दुगा पोखरेलले चेतावनी दिनुभयो ।

अनावश्यक तथा सम्भौता भन्दा बाहिर गएर ८ प्रतिशत व्याजमा ऋण लिएको पैसाको १७ देखि १८ प्रतिशत व्याज गराएर ऋणीहरुका घरजग्गा लिलाम गर्ने सामन्तबादी सोंच बोकेका बैंक र बैंकका सञ्चालकहरु नसुध्रिए भौतिक कारवाहीमा उत्रने अध्यक्ष पोखरेलको चेतावनी दिनु भयो । बैकमा लगाईएको ताला भने प्रहरीले खोलि सकेको छ ।