देशका समस्या सम्बोधन गर्न कांग्रेस-एमाले एक भयौँ : सांसद महत

126
Shares

काठमाडौँ।

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले देशका समस्याहरू सम्बोधनका लागि कांग्रेस र नेकपा (एमाले) एक भएको बताएका छन् । मङ्गलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठिक दिशामा नलैजाने भएकाले कांग्रेस एमाले मिल्नुपरेको बताए । उनले वर्तमान सरकारले प्रतिबद्धता एउटा र काम अर्को गर्ने गरेको जिकिर गरे ।

सांसद महतले स्थिर सरकार बनाउन र देशका समस्या समाधानका लागि दुई दल एक ठाउँमा आएको बताए । उनले संविधानमा रहेका समस्या समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न आफूहरू एक भएको बताए ।

‘‘गठबन्धन परिवर्तन गरिरहने, कहिले एउटा दल, कहिले अर्को दलको प्रवृत्तिले देशलाई ठिक बाटोमा लगेन । आम जनतालाई पनि विश्वास दिन सकेन । कुरा धेरै भए, काम उल्टो भयो । त्यो परिवेशमा देशका जल्दोबल्दो समस्या समाधान गर्ने हो भने दुई ठुला दल बाँकी समयमा स्थिर सरकार बनाउन हामी लागेका हौँ। ’ सांसद महतले भने।