‘बर्नआउट सिन्ड्रोम’बाट सावधान !

10.9k
Shares

लक्ष्मण अधिकारी

नेपालमा कुनै बेला बैंकमा जागिर खानु निकै ठूलो सान र इज्जतको कुरा मानिन्थ्यो तर आज नेपालका बैंकहरूबाट जागिर छोड्दै युवाहरू विदेश पलायन भइरहेका छन्, किन होला ? त्यसको एउटा कारण हो कामको अधिक बोझ र उत्साह तथा उत्प्रेरणाको कमी ।
बैंकमा प्रशस्त निक्षेप संकलन भएको छ ऋण लिन मानिस आउँदैन, बल्लतल्ल लगानी गर्‍यो समयमा ब्याज तिर्न आउँदैन, साँवा नै डुब्ने खतरा बढ्दै जान्छ । अनि कर्मचारीहरूलाई व्यवस्थापनले बिदाको समयमा समेत काम गराएर आलसतालस पारिरहेको छ । जसका कारण कर्मचारीहरूलाई कामप्रति लगाव घट्दै जान्छ र मौका पर्नासाथ विदेश पलायन हुन्छन् । यीमध्ये कतिपय ‘बर्नआउट स्ट्रेस सिन्ड्रोम’को शिकार हुन पुगेका हुन्छन् ।

यो समस्या सन् २०१९ को अन्त्यदेखि २०२२ सम्म चिकित्सा क्षेत्रमा निकै वृद्धि भएको थियो । कोभिड १९ को महामारीका कारण विश्वभरकै चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरूमा यो समस्या देखिएको थियो । त्यस बेला चिकित्साकर्मीहरूले लगातार २४ घण्टासम्म पनि काम गर्नु परेको थियो । उनीहरूको खाना, आराम, निन्द्रा, बिदा सबै भताभुङ्ग भएको थियो, तर पनि व्यवस्थापनले उनीहरूलाई कामप्रति प्रेरित गर्ने आश्वासनबाहेक केही दिन सकेको थिएन । जसले गर्दा उनीहरूमध्ये धेरै बर्नआउट स्ट्रेस सिन्ड्रोमको शिकार भएको कुरा विभिन्न अध्ययनहरूमा पाइएको थियो । जुन अहिले नेपालका विशेषगरी बैंक र वित्तीय क्षेत्रमा धेरै देखिएको छ । अन्य क्षेत्रमा श्रम गर्ने कामदारहरूमा पनि यो समस्या हुँदै नभएको चाहिँ होइन ।

काम शुरू गर्दा हरेक पेसाका मानिसलाई केही नयाँ गर्ने, कार्यालयमा प्रभाव छोड्ने शरीरमा जाँगर, मनमा उत्साह र आँखामा चमक हुन्छ। तर, त्यसमध्ये कसैकसैलाई काम शुरू गरेको केही समयपछि नै काममा उत्साह नहुने, थकान महसुस हुने, चिडचिडाहट हुने समस्या हुन्छ। अन्तै काममा जान पाए हुन्थ्यो भन्ने लाग्छ, काम नै छोड्न मन लाग्छ। यस्तो बेला बिहान अफिस जान नै मन लाग्दैन, कुनै कुरामा ध्यान केन्द्रित हुँदैन। आफ्ना सहकर्मी एवं आफूभन्दा माथिल्लो तहकाहरूसँग छलफल गर्न पनि असहज हुँदै आउँछ । निन्द्रा राम्रो पर्दैन, शरीरमा कतै दुखेको अनुभव हुन थाल्छ।

उसलाई आफ्नो पेसामा अगाडि बढ्ने चाहना हुँदैन, उ निष्क्रिय हुँदै जान्छ र नियमित काममा जाने आउने मात्र गर्न थाल्छ। उसले सेवाग्राहीलाई व्यक्तिको रूपमा भन्दा वस्तुको रूपमा व्यवहार गर्न थाल्छ। जस्तोः बैंकमा पैसा लिन जानुस्, उसले तपाईंको मुखै नहेरी काम गर्छ। अस्पतालको श्ययाको बिरामीको नियमित रिपोर्ट बनाउन आएको नर्स ज्वरो, विपी, अक्सिजन नापेर बिरामीको मुखै नहेरी, एक शब्द नबोली अर्को श्ययातिर लाग्छन्।

के हो बर्नआउट सिन्ड्रोम ?

बर्नआउट सिन्ड्रोम भावनात्मक, मानसिक र शारीरिक रूपमा देखिने विभिन्न समस्याहरूको लक्षण समूह हो। अमेरिकी मनोवैज्ञानिक हर्बट फ्रेडेनबर्गरले नर्स र डाक्टरहरूका बीच अनुसन्धान गरी सन् १९७४ मा यसलाई समस्याका रूपमा व्याख्या गरे तापनि विश्व स्वास्थ्य संघले भने सन् २०१९ मा कोभिड १९ महामारी फैलिइरहेको समयमा ‘राम्ररी व्यवस्थापन नगरिएको कार्यस्थलको दीर्घ तनाव’को परिणामको रूपमा यसलाई परिभाषित गरेको थियो।

संघले बर्नआउट सिन्ड्रोमको समस्यामा परेपछि मानिसमा शक्ति क्षिण भएको महसुस हुने, थकान अनुभव हुने, आफ्नो कामप्रति मानसिक दूरी बढ्ने, कामप्रति नकारात्मक धारणाको विकास हुने र व्यावसायिक कार्यक्षमता ह्रास भएर जाने उल्लेख गरेको छ ।
काम गर्दा तनाव हुनु नै बर्नआउट सिन्ड्रोम होइन, तनाव मात्र हुँदा काम पूरा गर्न कडा मिहिनेत गरिएको हुन्छ भने बर्नआउटको समस्यामा काम फत्ते गर्ने चाहना नै हुँदैन, काम गर्न मन लाग्दैन। तनावमा भावनात्मक पक्ष अत्यन्त सबल भएको हुन्छ भने बर्नआउटमा भावना नै मरिसकेजस्तो निरासापन हुन्छ। तनाव मात्र हुँदा शरीर सक्रिय हुन खोज्ने तर शक्ति कमजोर भएको अनुभव हुन्छ भने बर्नआउटमा दिमाग नै खाली भएजस्तो असहाय र भावनाहीन अनुभव हुन्छ ।

एकै प्रकारको कामले वाक्क हुनु, उत्साह र प्रेरणदायी कुराहरू नहुनु, कामसँग सम्बन्धित जिम्मेवारी अत्यधिक हुनु, लगातार तनावपूर्ण कार्य गर्न बाध्य हुनु, आफ्नो दक्षताभन्दा बाहिरको काम गर्नुपर्ने बाध्यता, उपयुक्त साधनस्रोतको अभाव जस्ता कुराले बर्नआउट सिन्ड्रोम देखा पर्छ। आराम गर्ने मनोरञ्जन गर्ने समय नपाउनु, आफ्नो कामबाट बढी अपेक्षा गर्नु र अपेक्षा गरेजति लाभ प्राप्त गर्न नसक्नु पनि यसका कारणहरू हुनसक्छन्।

बर्नआउट हुँदा मुड अलि डिप्रेसनमा गएको जस्तो हुने भएकोले डिप्रेसन र बर्नआउन उस्तै जस्तो लागे पनि यी दुईमा भिन्नता भने अवश्य छन्। बर्नआउटमा मेडिकली कुनै रोगको निदान हुँदैन तर डिप्रेसनमा रोगको निदान हुन्छ। बर्नआउट काम वा जिम्मेवारीको तनावको कारण हुन्छ भने डिप्रेसन वंशानुगत, मनोवैज्ञानिक र वातावरणीय परिस्थितिको संयुक्त कारणबाट हुन्छ।

बर्नआउटमा आफूलाई तनाव दिइरहेको कुनै निश्चित कामप्रति नकारात्मक अनुभव हुन्छ भने डिप्रेसनमा जीवनको कुनै पनि पक्षप्रति नकारात्मक अनुभव हुन्छ । बर्नआउट सिन्ड्रोममा जुन कारणले तनाव भइरहेको हो, त्यसको उचित व्यवस्थापन र आराम गर्दा ठीक हुन्छ भने डिप्रेसनमा औषधि उपचार र जीवनशैली परिवर्तनको आवश्यकता पर्नसक्छ ।

कार्डियोलोजीसम्बन्धी युरोपेली जर्नलमा हालै प्रकाशित एक अध्ययन प्रतिवेदनअनुसार बर्नआउट सिन्ड्रोको कारण मुटुको धड्कनमा गडबडी आउन सक्ने औँल्याइएको छ । मुटुको चालमा गडबडी आउने समस्याले हृदयघात र मस्तिष्क घातसमेत गराउने गर्छ।

प्रशस्त आराम गर्नु, चुरोट, मदिरा नखानु, सन्तुलित भोजन गर्नु, काममा प्राथमिकता निर्धारण गरेर निश्चित अवधिमात्र काम गर्नु, बढी महत्वाकांक्षी बनेर कामको जिम्मेवारी नलिनु, अफिसको काम घरमा नलैजानु, आफूलाई खुसी लाग्ने कार्यमा हरेक दिन सहभागी हुनु, नियमित व्यायाम गर्नु, बेलाबेलामा कामबाट छुट्टी लिएर घुम्न जानु। राम्रो निन्द्रा पर्ने गरी सुत्ने बानी गर्नु पनि यसका समाधानका उपाय हुन सक्छन्।