‘सैद्धान्तिक भन्दा व्यवहारिक शिक्षाको माग बढ्दो’



काठमाडौं ।

शिक्षामा अतिरिक्त क्रियाकलापले उद्यमशील बन्न र रोजगारी गर्नका लागि सहज हुने एक कार्यक्रमका वक्ताले धारणा राखेका छन्। आजको युगमा सैद्धान्तिक भन्दा पनि व्यवहारिक शिक्षाको माग बढ्दै गएको उनीहरूको भनाइ थियो ।

काठमाडौंको पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेज व्यवस्थापन संकायका विद्यार्थीहरूले प्रकाशन गरेको ‘म्यानेजमेन्ट स्कूलर म्यागेजिन, भोल्यूम ९’को सार्वजनिक कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले व्यवहारिक शिक्षामा पोख्त विद्यार्थीहरूलाई निजी क्षेत्रका उद्योगहरूमा प्रशस्त अवसर रहेको बताए। ‘सैद्धान्तिक शिक्षामार्फत सफलता हासिल गरेकाहरू व्यवहारिक शिक्षामा फेल भएका प्रशस्त उदाहरणहरू छन्। आफ्नो दक्षता र खुबी विक्री गर्न व्यवहारिक शिक्षा अपरिहार्य छ । भविष्य सुन्दर छ र निजी क्षेत्रमा अवसरहरू छन्,’ अध्यक्ष अग्रवालले भने ।

उनले नेपालको अर्थतन्त्र धेरै अगाडि गइसकेको उल्लेख गर्दै अस्थिर सरकारका कारण निजी क्षेत्र उत्साहित हुन नसकेको बताए। ‘कोभिडको मारमा परेको अर्थतन्त्रमा बिस्तारै गति लिँदै आइरहेको छ तर अस्थिर सरकारका कारण व्यवसायी त्यति खुसी हुन सकेका छैनन्।’

आर्थिक गतिविधिलाई तीव्रता दिनका लागि निजी क्षेत्रको भूमिका उल्लेख्य रहे पनि परिवर्तन भइरहने सरकारका कारण समस्या आउने गरेको छ,’ उनले भने । अध्यक्ष अग्रवालले व्यवहारिक शिक्षामा जोड दिँदै आत्मविश्वासका साथ नेपालमै सम्भावना खोज्नुपर्नेमा जोड दिए ।

म्यानेजमेन्ट एसोसिएसन अफ नेपालका महासचिव इन्द्रकुमार श्रेष्ठले व्यवहारिक शिक्षाले मात्र विज्ञता हासिल गर्ने उल्लेख गर्दै आफूलाई रुपान्तरित भएर अघि बढ्न सुझाव दिए।

प्राध्यापक रामकृष्ण रेग्मीले कान्तिपुर सिटी कलेजका विद्यार्थीहरूले आधुनिक नेपालको परिचय दिन र राष्ट्रमा नयाँ सन्देश प्रवाह हुने गरी म्यागेजिन तयार गरेकोमा बधाई दिए। कलेजका म्यानेजिङ डाइरेक्टर डा.प्रल्हाद कार्कीले शिक्षालाई कक्षाकोठामा मात्र सीमित राख्न नहुने उल्लेख गर्दै अबको नेपालमा प्रयोगात्मक शिक्षाको महत्त्व बढेको बताए।

व्यवहारिक शिक्षाले अवसरहरूको ढोका खोल्ने उनको भनाइ थियो । कलेजका प्रिन्सिपल राजु कट्टेलले शिक्षाको पाठ्यक्रम भन्दा बाहिर रहेर प्रशस्त परिवर्तन गर्न सकिने भएकाले अतिरिक्त क्रियाकलापमा कान्तिपुर सिटि कलेज सफल भएको दाबी गरे।

‘स्कूलर म्यागेजिन एउटा रोडम्याप बनाएर हिँडेकाले सफल भएको छ । सिङ्गो कलेज अतिरिक्त क्रियाकलापमा सफल हुँदै गएको छ । विश्वका ९१ देशमा इन्ट्रसिपका लागि विभिन्न निकायसँग सम्झौता गरिसकेका छौं र उत्पादित विद्यार्थीहरु कोहीपनि बेरोजगार बस्नुपरेको छैन्,’ उनले भने ।

म्यागेजिनको निरन्तरता

सन् २०११ देखि प्रकाशित हुँदै आएको ‘म्यानेजम्यान्ट स्कूलर म्यागेजिन’ आगामी वर्ष पनि प्रकाशन गरिने भएको छ। हाल नवौँ अङ्कका रूपमा प्रकाशित म्यागेजिनलाई शनिबार उपस्थित अतिथिहरूले सार्वजनिक गरेका हुन्।

निरुपम श्रेष्ठ र समीप केसीले संयोजन गरेको म्यागेजिन आगामी अङ्क प्रकाशनका लागि नयाँ टीमलाई हस्तान्तरण गरेका थिए।सार्वजनिक कार्यक्रममा म्यागेजिनका संस्थापक शिवराम शर्मा, प्रोगाम कोअडिनेटर पूजा पोखरेल, भाइस प्रिन्सिपल भानुभक्त निरौलालगायतले म्यागेजिन निरन्तरताका लागि शुभकामना दिए। म्यागेजिनमा खोजमूलक कथाहरु समेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्