मानव सभ्यताका विषयमा पटक–पटक प्रश्नहरू उठिरहेकै छन्। पृथ्वीको कुनै पनि भाग त्यस्तो छैन, जहाँ मानव सभ्यताको अवशेष भेटिँदैन। पृथ्वीको सबैभन्दा होचो भूभाग इजरायलको मृतसागरदेखि सर्वोच्च शिखर सगरमाथासम्म मानव समुदायका पदचापहरू बसेकै छन्।
इतिहासको बत्ती मानिने युनानी सभ्यता आजका दिनमा निकै खोज एवम् अनुसन्धानमूलक बनेको छ। पूर्वीय वाङ्मयमा जसरी जम्बुदीप, भरतखण्ड, हिमालय क्षेत्र र नदीलगायतका प्राकृतिक सम्पदाका साथसाथै वैदिक सनातन सभ्यताको उच्चतम महिमा छ, यसै गरी पश्चिमी वाङ्मयमा ग्रीस सभ्यताको उच्चतम स्थान रहेको छ। तर वर्तमान परिप्रेक्ष्यमा धर्मान्तरणको समस्याबाट ग्रीस पनि अछुतो रहन सकेको छैन। ग्रीस आफ्नो सभ्यताबाट कसरी ध्वस्त भयो ? कहाँ गयो ग्रीसको मौलिकता ? यस विषयको पनि चर्चा गरिनेछ।
यति बेला नेपाली साहित्यमा फरक–फरक ढाँचाका कृतिहरू भित्रिइरहेका छन्। नेपाली साहित्यको क्षेत्र आज धेरै फराकिलो बनेको छ। पाठकहरूले इच्छा लागेको विषय र प्रसङ्ग छानी–छानी पढ्न पाउने अवस्था सिर्जना भइसकेको छ। कुनै समय नेपालीहरूले बाटो हिँड्दासमेत खानेकुरा बोक्नुपर्ने हुन्थ्यो। मतलब बाटो हिँड्दा उनीहरूले आजको जस्तो सुविधा सम्पन्न होटेल, लजको व्यवस्था पाएका थिएनन्।
ठीक यस्तै नेपाली साहित्यको आधुनिक कालखण्डको आधा समय बित्दा पनि नेपाली साहित्यका पाठकहरूले निश्चित घेरामा रहेर भाषा साहित्य अध्ययन गर्नुपर्ने बाध्यता रह्यो तर अहिले यो सबै बाध्यता हटिसकेको छ। जसरी आज हामी एकठाउँबाट अर्को ठाउँसम्म पुग्नका निम्ति आफूलाई मनपर्ने हवाई, स्थल तथा जलमार्ग र साधनको प्रयोग गर्न सक्छौं, यसै गरी नेपाली साहित्यमा पनि वर्तमान समयमा पाठकहरूले आफूलाई मन पर्ने विधाको कृतिमा उडान भर्न सक्छन्। नेपाली नियात्रा साहित्यलाई तारानाथ शर्मा र जनकलाल शर्माले जुन किसिमको उचाइ दिनुभयो, त्यो नै नियात्रा साहित्यको स्वर्णिम समय थियो। आधुनिक साहित्यतर्फ नियात्रालाई तारानाथ शर्माले धकेल्नुभयो भने परम्परागत सामाजिक धारामै रहेर जनकलाल शर्माले पनि खोजमूलक नियात्राहरू लेख्नुभयो। उसो त इतिहासको पाटोमा योगी नरहरि नाथका पनि सशक्त एवम् काव्यिक नियात्रा प्रकाशित छन्, जुन छन्दोबद्ध छन्।
नेपालमा हाल प्रचलित यात्रा साहित्यमा मनोभाव एवम् अनुभूतिलाई उच्च स्थान दिएको पाइन्छ। कतिपय समीक्षक, समालोचकहरूले त अनुभूतिको मिश्रणविना यात्रा साहित्य अर्थात् नियात्रा नै बन्दैनन् भनेर ठोकुवा गरेका छन् तर म त्यसो भन्ने पक्षमा छैन । किनकि कतिपय यात्राहरू अनुभूतिविनाका पनि हुन सक्छन्। के अनुभूतिविना यात्रा सम्भव छ ? अवश्य, अनुभूतिविनाको यात्रा सम्भव छ । जब हराउँछ मान्छे प्रकृतिको पूर्ण लालित्यमा, त्यसपछि मान्छेसँग अनुभूति व्यक्त गर्ने सामथ्र्य नै रहँदैन । कुनै कुरा व्यक्त गर्ने सामथ्र्य नहुनु भनेकै ऊ प्रकृतिसँग सम्मिलित हुनु हो।
अर्थात् अनुभूतिविहीन बन्नु पनि हो। तपाईंले कहिल्यै त्यस्तो यात्रा गर्नु भएको छ ? जुन यात्रामा कुनै किसिमको अनुभूति गर्न पाउनुभएन । उसो त नेपाली साहित्यमा काल्पनिक अनुभूति र शब्दको अनावश्यक भार थपेर नियात्रासंग्रह प्रकाशन गर्ने परिपाटी पनि नौलो होइन। यो त परम्परा बनिसक्यो। यतिमात्र कहाँ हो र । दुई–चारजनाको समूह बनायो, एउटा ठाउँ घुम्न गयो। चाउचाउ र चटपटे खायो। अनि लेख्यो मनभरिका श्ब्दहरूले जबरजस्ती नियात्रा । किताब लेख्ने उद्देश्यले नै दौडियो हिमालतिर वा मधेसतिर। यस प्रकारको संस्कृति नेपाली साहित्यमा भित्रिएकै हो । तर आज मैले एउटा त्यस्तो कृति पढेँ जहाँ अनुभूति होइन, यात्रा छ। काल्पनिकता होइन, वास्तविकता छ । जहाँ वर्तमान होइन, इतिहास छ । जहाँ लेखक हाबी भएको छैन, प्रकृतिको सुन्दर चित्रण छ । त्यो कृति ‘युङफ्राउ’ हो ।
डायास्पोरिक नेपाली साहित्यमा आफ्नो गर्विलो स्थान बनाउनुभएका कृष्ण बजगाईंको नवीन नियात्रासङ्ग्रह ‘युङफ्राउ’ जसले खोतलेको छ मानव सभ्यताको करिब पच्चीस सय वर्षअघिको इतिहास। एथेन्सको सामाजिक–सांस्कृतिक पद्धति, स्वीट्जरल्यान्डको प्रकृतिप्रदत्त सुन्दरता, पोर्चुगलले खोजेको संसारको बाटो र बेलायतले देखाएको आधुनिक मानवतालाई संयोजन गरेर सङ्गृहीत गरिएको छ ‘युङफ्राउ’ लाई । यस कृतिमा ग्रीस, स्वीट्जरल्यान्ड, पोर्चुगल र बेलायतका महत्वपूर्ण स्थलको भ्रमण गर्दा त्यहाँको इतिहासको गहिराइसम्म पुगेर वर्तमान समयलाई सम्बोधन गर्ने प्रयास गरिएको छ । प्राचीन कालको ग्रीस सभ्यता र वैदिक सनातन सभ्यताका बीचमा केही हदसम्म तालमेल छ।
जस्तै– ग्रीसको एउटा पुरानो शहर छ– एथेन । एथेनको सुरक्षा तथा संरक्षण देवी एथेनाले गरेको त्यहाँका स्थानीयवासीको विश्वास छ । यसर्थ ग्रीकवासीहरू देवीको आराधना गर्दछन् । देवी एथेना आमाको कोखबाट होइन, आफ्ना पिता जिउसका निधारबाट जन्मेकी थिइन् । यही कुरा वैदिक सनातनमा हजारौँ वर्षअघिदेखि प्रयोग छ । यहाँ आदिदेवी, आदिशक्तिको चर्चा छ। उसो त वैदिक सनातनका सप्तऋषि पनि ब्रह्माका मानसपुत्र हुन्। उनीहरू कोही पनि आमाको कोखबाट जन्मिएका होइनन्। ग्रीकवासीले देवीलाई संरक्षकका रूपमा लिन्छन्। भारतवर्षमा पनि प्राचीन समयदेखि नै देवीलाई मानव समुदाय मात्र नभई जगत्कै लागि संरक्षकका रूपमा लिइन्छ। यस्तै प्रकारका सामाजिक, सांस्कृतिक पक्षहरूलाई जोडेर बजगाईंले ग्रीसको यात्रालाई लेखेका छन् । उनले ग्रीसजस्तो प्राचीन सभ्यता भएको देश आज धर्मान्तरणको धन्दामा फसेर कसरी ध्वस्त भएको छ । त्यो इतिवृत्तान्त पुस्तकमा सविस्तार उल्लेख गरेका छन् ।
स्वीट्जरल्यान्डको कुरा गर्नुपर्दा करिब साढे तीन हजार मिटर अग्लो ‘युङफ्राउ’ हिमाल, जसलाई स्थानीय भाषामा कुमारी हिमाल भनिन्छ । त्यो हिमाललगायत त्यहाँका प्राकृतिक स्थलहरूको वर्णन गरिएको छ । नेपाल र स्वीट्जरल्यान्डबीचको समानतालाई संयोजन गरी नेपालको विकासका सम्बन्धमा ठोस निर्णय दिने प्रयास गरिएको छ । हाम्रा महत्वपूर्ण पर्यटकीय स्थलमा सोही स्थानको पहिचान खुल्ने छाप, रेस्टुरेन्ट, पुस्तकालय निर्माण गरी सञ्चालन गर्ने हो भने त्यसले देश र विदेशलाई कसरी जोड्छ, त्यो विषय उल्लेख छ । यस्तै पोर्चुगलको कुरा गर्नुपर्दा, पोर्चुगलका व्यापारीहरूले संसारभर आफ्नो व्यापार कसरी बढाए ? संसार परिक्रमा गरेर इतिहास कसरी लेखे ? भारत पुग्ने भास्को दा गामा कसरी यात्रामा हिँडेका थिए ? यी लगायतका रोचक तथ्यहरू साभार गरिएका छन् । बेलायतको कुरा गर्नुपर्दा, आधुनिक समयमा संसारका ४ दर्जन बढी देशलाई उपनिवेश बनाएको देशले अरू देशको सम्मान र महिमा कसरी गाउने गरेको छ भन्ने अद्भुत विषय पस्किएको देखिन्छ ।
राजनीतिक पृष्ठभूमिलाई केलाउँदा, ग्रीसको परम्परागत राजनीति विस्थापित, पोर्चुगलमाथि रोमन र मुस्लिम साम्राज्यको हस्तक्षेप, स्वीट्जरल्यान्डको आधुनिक शासन विधान, बेलायतको राष्ट्रप्रतिको जिम्मेवारीपनका पक्षलाई सूक्ष्म तरिकाले केलाइएको छ । जर्मनमा जन्मेका अल्बर्ट आइन्सटाइनले तीन देशको नागरिकता लिएका थिए।
उनलाई सन् १९५२ मा इजरायलको राष्ट्रपति बन्नका लागि आएको अफर, जसलाई आइन्सटाइनले नै स्वीकार गरेनन् । यसलाई बडो विम्बात्मक ढङ्गले प्रस्तुत गरिएको छ । यसैबाट सिकून् हाम्रा नृपहरूले । सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक, प्राकृतिक एवम् मानवीय पक्षहरूलाई केलाउँदै देशसँग देशलाई जोडेर नेपालीपनको मौलिकतालाई समेत संयोजन गरी तयार पारिएको ‘युङफ्राउ’लाई नवीन ढङ्गले पृष्ठपोषण गरिएको छ । यसले भुइँभरि छरिएको मानव सभ्यतालाई टपक्क टिपेर कापीका पानामा सजाएकोे छ । यो नेपाली साहित्यमा बौद्धिक क्षमता सुन्दर एवम् निखारिएको अवस्था हो । यसले लेखक, पाठक दुवैलाई जीवित राख्नमा मद्दत गर्नेछ । जसले जे सुकै भनून्, यो कृतिले ग्रीसको सांस्कृतिक इतिहास नपढेकाहरूलाई इतिहास पढ्न बाध्य गराउँछ।
साथै इतिहास पढेकाहरूलाई गहिराइसम्म पुग्न सहायता गर्दछ । सरल भाषाशिल्पको प्रयोग गरिएको यस सङ्ग्र्र्रहमा कहीँ–कहीँ व्याकरणात्मक विचलन आएको छ । तथापि यो कृति नियात्रा साहित्यको सुन्दर र महत्वपूर्ण कृति हो । कृष्ण बजगाईंले आगामी दिनमा पनि यस्तै सशक्त कृतिहरू लेखून् । समीक्षात्मक अभिमत राख्नुपर्दा डायास्पोरिक कृति ‘युङफ्राउ’ मानव सभ्यताका सन्दर्भमा प्राकृतिक संयोजन गर्न सक्ने नवीन एवम् आधुनिक कृति हो ।
प्रतिक्रिया