नेपाली राजनीतिको भविष्य

376
Shares

वि.सं. २००७ देखि आम नेपाली जनताले राजनीतिक उपलब्धिको आशा गर्दै आएका थिए। १०४ बर्र्से राणा शासनको अन्त्यसँगै अब देशमा धेरै कुरा परिवर्तन होला, नेपाली जनताका लागि न्यूनतम बचाइका लागि आवश्यक पर्ने गाँस, बास र कपासको आवश्यक व्यवस्था अवश्य होला। अब देशका विभिन्न क्षेत्रमा विद्यालय, विश्वविद्यालयहरु खोलिएलान्। आम नेपाली जनताका सन्तानले सुविधासँग शिक्षा आर्जन पाउलान्।

यस्ता विविध क्षेत्रका अनि विभिन्न तह र तप्काका नेपालीहरुको खुशीको सोचाइको लहर मानसमा मात्र होइन कि बाहिर दृष्टिगोचर हुने तरिकाले हाउभाउमय खुशीको पलभित्र समेटिएको थियो। ती खुशीका सिलो खोजेका दानाहरुमा शिक्षाको दानो केही मात्रामा भए पनि अलि मौलाएरै जान सकेको देखियो। तर अरु कुनै पनि क्षेत्रमा आशातीत फक्राइमा फक्रन सकेको महसुस गर्न हामीभन्दा ३ पुस्ताअगाडिका सम्मले पाएनन्। यो निकै दुःखद विषय थियो। तर ०७ सालदेखि १७ सालसम्मकै एक दशक लामो राजनीतिक घिस्राइमा पनि आम नेपाली जनताका ती निर्दोष र सुखद भविष्यको सोचको कुराले मौलाउने मौका नपाएकै हुन् भन्न सकिन्छ । यो पवित्र अवसर नजुट्नु या त नजुटाउन खोज्नु नै राजनीतिले बाटो बिराउन थालेको पहिलो संकेत थियो भन्नुपर्छ । यसको मतलव त्यस बेलाको नेपालको सिंगो राजनीतिको एक्लो नेतृत्वको दाबेदार भनेको नेपाली कांग्रेसजस्तो आफूलाई परिवर्तनको संवाहक ठान्ने राजनीतिक दल रहेको थियो । अरु साना राजनीतिक दलको अस्तित्व करिब शून्यको अवस्थामा थियो ।

नेपाली कांग्रेस पार्टीको स्थापना हुँदै गर्दाको बीजरोपणको शतप्रतिशत निःस्वार्थ भावनाले ओतप्रोत भएर भएको थियो । १०४ वर्ष लामो समय टिकेको राणाशासनलाई आफल्न सकियो भने आम नेपाली जनताले सुख पाउनेछन्, शिक्षाको विकास हुनेछ भन्नेजस्ता पवित्र अवधारणा मनभित्र साँचेर स्थापना गरिएको एउटा राजनीतिक दलभित्र समयको दगुराइमा धेरै परिवर्तन आउँदै गए । ती सबै परिवर्तनहरुमध्ये धेरैजसो नकारात्मक र नगन्य मात्रामा सकारात्मक परिवर्तनहरु थिए । सकारात्मक अवधारणाले रोपेको बीउमा बिस्तारै कीरा लाग्दै जान थालेपछिका दिनमा उक्त राजनीतिक दलबाट देश र नेपाली जनताका लागि गरिनुपर्ने कर्तव्य कर्महरु अलि–अलि टाढा सर्दै जान थालेको जस्तो आभास आमजनताका मानसमा हुन थाल्यो । तथापि चुनावको समयमा अरु भरपर्दो विकल्प नपाएर मतदान गरी जिताउन कर लाग्यो ।

नेपाली कांग्रेस पछि स्थापित भएर राजनीतिको सतहमा आइसक्दा पनि उनीहरुभित्रको असन्तुष्टि प्रस्ट अनुभव हुन्थ्यो । त्यो असन्तुष्टिबाट मुक्त हुनको लागि तिनीहरुले जे–जस्ता क्रान्तिकारी वा परिवर्तनकारी कदम अगाडि चाल्दै जान सक्थे, त्यति नै राजनीतिको एउटा सिस्टम वा तरिका स्थापित हुँदै जान्थ्यो । पहिलोेपटक औपचारिकरुपमा राजनीतिको सतहमा आउने र निरङ्कुश शासनका विरुद्धमा विद्रोह गर्न तम्सिए । तिनले विगतको निरङ्कुश शासकको तामझामी रबैयालाई थोरै मात्रामा भए पनि नियाल्ने मौका पाएपछि उनीहरुको मानसपटलमा पनि त्यसको नकारात्मक प्रभाव पर्न गयो।

विगतमा निरङ्कुश शासनका विरुद्धमा संघर्ष गर्दाको पीडाको दिन एकपटक झलक्क सम्झेपछि विगतको निरङ्कुश शासककै रबैया उनीहरुको छनोटमा पर्न पुग्यो । तदनुसार उनीहरुले एउटा चट्टानी अडान र धैर्यताका साथ गर्नुपर्ने कर्मलाई ख्यालख्यालको रुपमा लिए । निरङ्कुशताको विरुद्धमा लड्दै गर्दाको जस्तो संयमता आधा पनि रहेन । उनी अचानक स्वर्गको आनन्दमा परीहरु नचाउँदै गरेको मानसमा रुमल्लिन थाले । यो दुष्कर्मले गर्दा उनीहरुका मानसमा लोभीपापीपना अधिक मात्रामा बढेर जान थाल्यो । यसै ब्यग्रताले गर्दा उनीहरुको मानस घमण्डले पूर्णरुपमा भरियो । घमण्डले भरिएको मानसले सही काम गर्न सक्ने कुरै भएन । त्यही घमण्ड तोडेर उनीहरुको तेजोवध गर्नका लागि तत्कालीन राजा महेन्द्रले २०१७ सालमा नेतालाई जेलमा कोच्न बाध्य हुनुपरेको थियो ।

अँध्यारो राण शासनको १०० वर्ष भनेको दिक्क लाग्दाको हजार वर्षजत्तिकै लामो अवधि हो । विगतको २०१७ सालदेखि अहिलेसम्मको उबडखाबड र अनिश्चित राजनीतिक भविष्यको कालखण्ड पनि एक प्रकारले पट्यार लाग्दो नै मान्नुपर्छ । राणाशासन कालमा आम नागरिकका आवश्यकताका कुरा सीमित थिए । राजनीतिक सचेतना अहिलेको तुलनामा ज्यादै कम थियो । त्यसैले उनीहरु त्यसैमा अभ्यस्त हुन सकेर केही मात्रामा उन्नतिका कर्म गर्दै जान सकेका हुन् ।

राणाशासनको तुलनामा हालका हामीमा राजनीतिक चेतना निकै बढेको छ । सञ्चार प्रविधिको तीव्र विकासले गर्दा सूचनाको प्रवाह अझै दू्रत गतिमा बढ्दै छ । राणाशासन कालका हामीभन्दा धेरै दीनहीन अवस्थामा बाँच्दै गरेका देशले अहिले आएर हरेक क्षेत्रमा अथाह उन्नति गरेका छन् । यो कुराले हाम्रा सचेत युवालाई निकै खिज्याएको जस्तो लाग्छ । तर आजका देश हाँक्ने जिम्मा पाएका शासकहरुले त्यस कुरालाई आत्मसात् गर्न नसकिरहेको अवस्था छ । यो अवस्थाले आम युवामानसमा निराशाको भाव पैदा गरिदिएको छ । यो देशको राजनीति सुधारिएर एउटा सिस्टममा हिँड्ला, राजनीतिक स्थिरता कायम होला, हाम्रा युवाले स्वदेशमै रोजगारी पाएर सन्तुष्ट हुन सक्लान् भन्नेजस्ता कुरामा देशका नब्बे प्रतिशत युवाको विश्वास टुटेर गएको छ । विश्वास टुटेर अविश्वास उत्पन्न भएपछि निराशाको उत्पति हुन्छ । आज हाम्रा युवा मात्र नभएर आम नेपालीको बचाइको अवस्था यसै उबडखाबड र निराशाको बादलभित्र रुमलिएर बित्दै छ ।

हामीले भोग्दै गरेको राजनीतिक वातावरण अनिश्चित भएसँगै भविष्यको राजनीतिक वातावरणसमेत अनिश्चितताको गर्भमा डुबेको छ । राजनीतिमा घुसेको कोही व्यक्तिले उसको व्यक्तिगत प्रयासमा किन नहोस् थोरै भए पनि आशा जगाउने काम गर्न खोजेको खण्डमा चारैतिरबाट उसको तेजोवध गर्न खोजिन्छ । उसलाई गिल्लामा उडाइन्छ । उसको कमजोर प्वाल कहाँनेर छ भनेर मसिन्याएर खोज्ने काम गरिन्छ । यसको वास्तविक उद्देश्य भनेको ऊभन्दा अग्रजहरु जसरी असफल भए तिमी पनि त्यसै गरी असफल हुन सिकन, किन सफल हुन खोज्छौ ? अथवा सफल भएर तिमीले के पाउँछौ ? भन्ने खालको अगुवाहरुको अन्तरहृदयले बोलेको कुरो सुनेजस्तो लाग्छ । यति भइसक्दा बिचरा एक्लो पारिएको व्यक्तिको धैर्यता बिस्तारै टुटेर जान थाल्छ । नेपालको राजनीतिमा यो कुतत्वलाई फुटाएर पूर्णरुपले विनाश नगर्दासम्म जति बेला र जोसुकै व्यक्ति शासक बनेको कालखण्डमा पनि हाबी भइरहने सरुवा रोगजस्तै हो । यो सरुवा रोगलाई पूर्णरुपले फालेर नयाँ र निःस्वार्थ भावको राजनीतिक अभ्यासको थालनी हुनु आजको टड्कारो आवश्यकता हो ।

राजनीतिको सतहमा देखा परेका नेत्रविक्रम चन्दजस्ता व्यक्तिहरु पनि तिनै स्वार्थी र खुरापाती दिमाग भएका गुरुका साख्खे चेला हुन् । अबको राजनीतिक चिन्ताको विषय भनेको नै बूढी मरेर केही आपत्ति भएन, काल पल्क्यो भने आपत्ति नै भयो भन्ने उखानले सार्थकता पाउने देखिन्छ । तर भविष्यको राजनीतिमा पनि खासै सुधार भएर जालाजस्तो विश्वास जगाउने खालको वातावरण बन्न सकेको छैन । आउँदो भविष्यमा समेत यही रबैयाले अगाडि बढ्लाजस्तो अनुमान लगाउन सकिन्छ ।

विगतका केही वर्षदेखि हाम्रा नेपाली युवाहरु वैदेशिक रोजगारीको सिलसिलामा संसारका विभिन्न देशमा पुगेका छन् । ती देशको छोटो समयमा भएको उन्नति हेरेर आफ्नो स्वदेशको उन्नतिसँग तुलना गर्दछन् । विदेशको तुलनामा आफ्नो देश कता हो कता पछाडि परेको कुरा थाहा पाएर उनीहरु धेरै निराश हुन्छन् । यो निराशाले गर्दा उनीहरुलाई स्वदेशमा बस्न मन लाग्दैन । यसरी हाम्रो देशको युवा जनशक्ति तीव्रगतिले विदेश पलायन हुने क्रम दिनानुदिन बढेर गएको छ । यो विषय आम देशभक्त र सचेत नेपाली नागरिकको चिन्ताको विषय बनेको छ । तर यता शासक वर्गतिर नजर लगाउने हो भने देशको चिन्ताको तुलनामा सत्तास्वार्थको चिन्ता र चासो अधिक भएको पाइन्छ ।

हाम्रो देशको राजनीति जति मात्रामा सद्भावपूर्ण हुनुपर्ने हो त्यो भएको पाइँदैन । सद्भावपूर्ण राजनीति भन्नाले शासन र कानुनका नजरले हेर्दा आम नागरिकलाई समताका नजरले हेर्नुपर्ने हो, तर नजानिदो तबरबाट विभेदपूर्ण नीति र व्यवहारबाट जकडिएर जबरजस्तरुपमा समाज अगाडि बढेको छ । न्याय दिने न्यायलयसमेत आफ्नो सही मार्गमा हिँड्न नसकेर धर्खराउँदै समान परिवेशमा पनि कहिले वल्लो किनार त कहिले पल्लो किनारको यात्री बनिरहेको छ । शासकवर्गले आफैँले स्थापना गरेको न्यायालयलाई आफैँले लँगडो वा अपाड्ग बनाउन उद्यत् हुन्छन् भने त्यो देशको न्याय प्राणली कत्तिको विश्वासिलो होला ? भन्ने प्रश्न स्वयंमा उठ्ने प्रश्न हो । तथापि यस प्रश्नको उत्तर कहिल्यै आउने छैन भन्ने कुरामा पूर्ण विश्वस्त छौँ भन्न विवश बन्नुपरेको छ । आम नेपाली जनता आशा र निराशाको चर्खामा कतिन्जेलसम्म पिङ खेलर बाँचिरहने ? भन्ने मूल प्रश्न हो ।

हाम्रो नेतृत्ववर्गलाई यस विषयमा कुनै खालको चिन्ता र चासो नभएकै मात्र होइन कि जो स्वार्थ भरिएर घमण्ड गर्दै बसेको छ उसले देशको राजनीतिलाई सकेसम्म चौपट पारेर घाटको किनारासम्म लैजान उद्यत् रहेको हुन्छ । अहिलेको हाम्रो देशको दोधारे परिवेश हेर्दा मानसिक चिन्ता बढाउने खालको छ । शायद कानुका किताबमा कतै लेखिएको पनि हुन सक्छ, आखिर जे भए पनि हाम्रो देशको राजनीतिक परिवर्तन अपरिहार्य बनेको छ । अबको युवावर्गले मन दुखाएर यो देशमा कुनै राम्रा नियतले गरेका कामबाट पनि अपजश पाइन्छ भन्ने कुरा बुझी विदेशको बाटो मात्र हेर्ने होइन कि स्वदेशको बारीको सानो पाटो पनि हेर्न सक्नुपर्ने हुन्छ । त्यति मात्र होइन, स्वदेशको माटोलाई अन्तरहृदयदेखि नै प्रेम गर्न सक्ने र तिनलाई व्यवहारमा लागू गर्न सक्ने क्षमताको पहिचान गरेर मजबुतीका साथ आफ्ना कर्ममा लागिरहनुपर्ने हुन्छ ।

अबका सचेत नेपाली युवाले आफैँ उज्यालो भविष्यको स्रष्टा बनेर बलियो नेतृत्वका साथ अगाडि बढ्ने बेला भइसकेको छ। साँघुरो मानसिकताको साटो राजनीति फराकिलो मानसिकताको नेतृत्वमा हस्तान्तरण हुन आवश्यक छ। यसो नभएमा हाम्रो देशको राजनीतिको भविष्य अझै डामाडोल अवस्थाबाट ढिलो गतिको हिँडाइमा अगाडि बढ्न बाध्य हुनेछ । यो सबै कुराको दोष नेतृत्ववर्गको टाउकोमा थोपरिने हो ।