असक्षम नेतृत्वले सञ्चालन गरेको पार्टीको महाधिवेशन आफूलाई रुचि थिएन : प्रेम आले



काठमाडौँ ।

नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले पार्टीको केन्द्रीय कमिटीको सदस्य बन्न आफूलाई कुनै ईच्छा नभएको बताएका छन् ।
नेकपा एसको दशौँ महाधिवेशनले आज शुक्रबार ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दा आलेको नाम नपरेको भन्ने प्रचार भएपछि उनले आफू पार्टीको केन्द्रीय कमिटीको सदस्य बन्न इच्छुक नरहेको बताए । उनले भने, “मलाई केन्द्रीय कमिटीको सदस्य बन्न मन थिएन, त्यसैले वास्ता गरिन ।”

यसैगरी उनले कुनै पनि हैसियत नभएको पार्टीको केन्द्रीय सदस्य होईन पदाधिकारी नै दिएपनि आफूलाई स्वीकार्य नभएको उनको भनाई छ । उनले भने, “म डोटीले जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुँ । जनताका लागि स्वतन्त्र रुपमा काम गर्ने हो पदले के चाट्ने हो र ?”

नेकपा (एकीकृत समाजवादी) पार्टी र नेतृत्व पिँध नभएको लोटा जस्तो भएको उनको आरोप छ । असक्षम नेतृत्वले सञ्चालन गरेको पार्टीको महाधिवेशनमा आफूलाई रुचि नभएको उनको भनाई छ । नेकपा एस पार्टी नेतृत्वको कार्यशैली प्रति आलेले निरन्तर रुपमा बिमति राख्दै आएका छन् । घरायसी कामले आफू मुलुकबाहिर रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्