डीआईजीमै पोखरेल अवकाश, अब को बन्दैछन् एआईजी ?



काठमाडौँ।

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका पोषराज पोखरेल प्रहरी नायब महानिरीक्षक (डीआईजी) मै अवकास भएका छन्।

१० असारमा गृह सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

तर, यही बीचमा सत्ता साझेदार प्रमुख घटक नेकपा एमालेले समर्थन फिर्ता लिएपछि बसेको मन्त्रिपरिषद बैठकमा उक्त विषयमा छलफल नै भएन। छलफल नभएपछि ट्राफिक महाशाखा प्रमुख समेत रहेका पोखरेल शुक्रबार अनिवार्य अवकास भएका हुन्। उमेर हदका कारण उनी बिहीबार राति १२ बजेपछि अवकासमा गएका हुन्।

प्रहरी प्रधान कार्यालयले सबै प्रक्रिया पूरा गरेर गृह मन्त्रालयमा पठाएको थियो। तर गृहमन्त्रालयबाट फायल अगाडी नबढ्दा पोखरेल एआईजीमा सिफारिस भएर पनि फूली लगाउन पाएनन्।

एआईजी उमेशराज जोशी बुधबारदेखि अनिवार्य अवकास भएपछि नेपाल प्रहरीमा एक जना अतिरिक्त महानिरीक्षकको पद रिक्त भएको थियो।

पोखरेल डीआईजीबाटै अवकास भएसँग अब प्रहरीमा एक एआईजी र एक जना डीआईजी रिक्त भएको छ।

अब डीआईजीहरू रामदत्त जोशी, बुद्धिराज गुरुङ, दुर्गा सिंह, किरण राणा, कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भतरबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, अर्जुन चन्द ठकुरी र यज्ञ विनोद पोखरेल मध्येबाट एक जना एआईजीमा बढुवा हुनेछन्।

प्रतिक्रिया दिनुहोस्