कलाकर्मीलाई एक्सिलेन्स अवार्ड



काठमाडौं ।

राजधानीमा हालै इन्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेसनल एक्सिलेन्स अवार्ड सम्पन्न भएको छ। कार्यक्रम नेपाल चेम्बर अफ कमर्श नेपाल महिला चेम्बरको प्रस्तुति, लिडिभाइन, भारतको आयोजना तथा प्याजेन्ट नेपालको सहकार्यमा लाजिम्पाटस्थित र्‍याडिसन होटेलमा सम्पन्न भएको हो।

नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष एवं साल्ट ट्रेडिङ कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको सभापतित्व, प्रतिनिधिसभाका उप–सभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यता तथा भारतकी प्रख्यात अभिनेत्री जय प्रदाको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल, भारत, युकेलगायत देशका व्यक्तित्व सहभागी थिए। कार्यक्रममा कला साहित्य र संस्कृतिलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै विभिन्न विधाका करिब चार दर्जन व्यक्तित्वलाई अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रममा नायक आर्यन सिग्देल, कलाकार गोपाल ढकाल, श्रीदेव भट्टराई, मोडल दीपक घिमिरे, गायक आनन्द कार्की, एम बराल, सिताराम पोखरेल, गायिका देविका बन्दना, ऋतु कर्णेललगायतलाई विभिन्न अवार्ड प्रदान गरिएको थियो। त्यसैगरी वलिउड अभिनेत्री जय प्रदालाई सम्मान गरिएको कार्यक्रममा भारतीय गुगल आन्टी ७९, प्रिमिला हिंगोरोनी, युकेका व्यवसायी सोनिया भाटिया, भारतीय डान्सर हिमांशु द्विवेदीलगायतलाई सम्मान गरिएको थियो।

गायक आनन्द कार्की, एम बराललगायतले गीत संगीतको माध्यमबाट मनोरञ्जन दिलाएको कार्यक्रममा भारतीय कत्थक कलाकारले नृत्य प्रस्तुत गरेका थिए। अभिनेत्री जय प्रदाले आफूले अभिनय गरेको सुपरहिट फिल्म सरगमको लोकप्रिय गीत डफली वाले डफली बजामा नृत्य गरेर दर्शक उफारेकी थिइन्। त्यसैगरी नेपाल र भारतका र्‍याम्प मोडलहरूले दुवै देशको संस्कृति झल्कने पहिरन पहिरेर र्‍याम्प शो गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि उपसभामुख रानाले यस्ता कार्यक्रमबाट नेपाल र भारतको मित्रताको डोरी कसिलो बन्दै जानुका साथै दुवै देशको संस्कृति प्रवर्द्धनमा समेत सहयोग पुग्ने चर्चा गरिन्। अभिनेत्री प्रदाले नेपाल आफ्नो दोस्रो घर भएको र नेपालीको माया पाउँदा हर्षित भएको बताइन्।

सञ्चारकर्मी तथा फिल्मकर्मी दिनेश डिसीद्वारा सञ्चालित कार्यक्रममा आयोजक लिडिभाइनकी प्रमुख पुनम कौशिक, नेपालका आयोजक प्याजेन्ट नेपालका राज लुईंटेललगायतले कार्यक्रमबाट मिलेको सफलताले आगामी दिनमा हुने कार्यक्रमका लागि थप उर्जा मिलेको बताए।

प्रतिक्रिया दिनुहोस्