गुञ्जियो नौमतीका नौ राग



काठमाडौं ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, संगीत विभागको आयोजनामा राजधानीमा नौमती बाजामा आधारित नौमतीमा नौ राग कार्यक्रम सम्पन्न भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कलाकारहरूले नौमती बाजाको प्रयोग गरी नौ किसिमका राग प्रस्तुत गरेका थिए। कार्यक्रममा १२ जना कलाकारले परम्परागत विवाहमा बजाइने नगरा, बटुवा ताल, डाँडै ताल, दुलाहा पर्साइ, जन्ती पर्साइ, डाँफे ताल र दुलही रुवाउने ताल राग प्रस्तुत गरेका थिए।

कलाकारहरूले नौमती बाजामा सोरठीमा आधारित नचरी भाका, तारु भाका र झलकमान गन्दर्भको बाला जोबन भाका प्रस्तुत गरेका थिए। नौमती बाजा कमल परियार, मनबहादुर दर्जी, तीलबहादुर दर्जी, दीलबहादुर दर्जी, लालबहादुर दर्जी, नवीन परियार, सागर परियार, सुवास परियार, मदन परियारलगातले प्रस्तुत गरेका थिए।

कार्यक्रमको अवसरमा राष्ट्रिय गीत लेखन प्रतियोगिता २०८१ का विजेतालाई पुरस्कृतसमेत गरिएको थियो। पुरस्कृत हुनेमा कोशी प्रदेशबाट तेज राई, मधेश प्रदेशबाट लिलाराज दाहाल, बागमती प्रदेशबाट सृजना अर्याल, गण्डकीबाट बाबुराम श्रेष्ठ, लुम्बिनीबाट वसन्तकुमार आचार्य, कर्णालीबाट रामकुमार शाही र सुदूरपश्चिमबाट धीरजनाथ थिए।

प्रतिक्रिया दिनुहोस्