शिक्षामन्त्रीको अपरिपक्व निर्णय

होला त दशैंअघि मौका परीक्षाको रिजल्ट !



–परीक्षा सञ्चालन गर्न ७ करोड लाग्ने
–११ कक्षा सञ्चालनमा अन्योलता
–मन्त्रालयले गरेको निर्णय घातक
–परीक्षादेखि पढाइमा गम्भीर असर पर्ने

काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले गरेको अपरिपक्व निर्णयका कारण कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्न थप अन्योल भएको छ। मन्त्री श्रेष्ठले जतिसुकै विषयमा नन ग्रेडेड (एनजी) ल्याउने विद्यार्थीलाई परीक्षा दिन पाउने गरी अपरिपक्व निर्णय भएको थियो । त्यसका कारण अब कक्षा १० को मौका परीक्षा कसरी गर्ने भन्ने विषयमा अन्योल देखिएको छ ।

साउन २३ गतेबाट ३१ गतेसम्म सञ्चालन हुने मौका परीक्षामा फारम भरेर सहभागी नहुने ८ हजार १ सय ९५ र लेटरग्रेडिङ निर्देशिका संशोधन गरेपछि २ लाख ४२ हजार ३ सय विद्यार्थीले पुनः परीक्षा दिन पाउनेछन् । यसअघि दुई विषयमा मात्र मौका परीक्षा दिने व्यवस्था थियो । दुई विषयमा मात्र एनजी ल्याउने १ लाख १५ हजार ८ सय ३४ परीक्षार्थीले मौका परीक्षामा सम्मिलित हुन पाउने थिए । ‘अब कहिले परीक्षाफल प्रकाशित गर्ने अन्योल छ । धन्न दशैंअघि परीक्षाफल प्रकाशित भए ठूलो सफलता हुने थियो’ –स्रोतले भन्यो ।

‘यो त मिनी एसईईजस्तै भयो । केन्द्राध्यक्ष, परीक्षा केन्द्र, प्रश्नपत्र र उत्तरपुस्तिका छपाइलगायत सबै काम गर्नुपर्छ’ –बोर्डका अधिकारीले भने । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले प्रश्नपत्र छपाइ गर्ने कि अनलाइनमा पठाउनेलगायत परीक्षा व्यवस्थापनको विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

कक्षा १० परीक्षा नियन्त्रण कार्यालयले यसअघि करिब १ लाख ५० हजार विद्यार्थीका लागि मौका परीक्षा दिन मिल्ने गरी तयारी गर्ने गरेको थियो । अब करिब २ लाख ५० हजार विद्यार्थी हुने भएपछि कसरी परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने भन्ने विषय अन्योल छ। बोर्डले गएको शनिबार मौका परीक्षा व्यवस्थापन र सञ्चालन गर्ने विषयमा बैठक बसेको थियो । बैठकले परीक्षा पूर्वतयारी, परीक्षाको अवधि र परीक्षाफल प्रकाशित गर्ने विषयमा छलफल गरेको थियो ।

त्यसबेला अधिकांशले मन्त्रालयको गलत निर्णयका कारण परीक्षाफल प्रकाशित गर्ने देखि ११ को कक्षा सञ्चालन गर्न समस्या पर्नेसम्मको विषय उठान गरेका थिए। अधिकांशले चाडबाडको मुखमा दशैंअघि परीक्षाफल प्रकाशित गर्ने विषयमा प्रश्न गरेका थिए।

एसईईको परीक्षाफल प्रकाशित गर्न करिब ३ महिना लागेको थियो। त्यस बेला ५ लाख विद्यार्थी थिए। मौका परीक्षा दिने विद्यार्थीको संख्या झन्डै साढे २ लाख हुँदा परीक्षाफल प्रकाशित गर्न कम्तीमा पनि डेढ महिना लाग्न सक्ने अनुमान छ। ‘साउने संक्रान्तिलगत्तै चाडवाड शुरू हुन्छ । त्यही बेला सामुदायिक विद्यालयको परीक्षा शुरू गर्ने बेला हुन्छ। चाडबाडले छोप्दै गर्दा कसरी उत्तरपुस्तिका परीक्षण गर्ने, कुन बेला परीक्षाफल प्रकाशित गर्ने यस विषयमा गम्भीर छलफल गर्नुपर्ने हुन्छ’ –बोर्डका कर्मचारीले भने।

बोर्डले कक्षा ११ को पठनपाठन साउन १५ बाट गर्न निर्देशन दिएको छ । कक्षा १० को मौका परीक्षा शुरू नहँुदै कक्षा ११ को कक्षा सञ्चालन गर्ने कि नगर्ने यस विषयमा बोर्डले थप निर्णय गर्नुपर्छ । बोर्डका अध्यक्ष शर्माले यो वर्ष विशेष परिस्थिति भएकाले विशेष निर्णय गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘मन्त्रालयको निर्णयअनुसार क्यालेन्डर नैै बनाएर परीक्षा सञ्चालनदेखि, परीक्षाफल प्रकाशन र कक्षा ११ को कक्षा सञ्चालन गर्ने विषयमा निर्णय गर्नेछौं ।’

कक्षा ११ को कक्षा सञ्चालन भदौ अन्तिमसम्ममा गर्दा क्रेडिट आवर पुग्छ कि पुग्दैन भन्ने विषय गम्भीर छ। यस विषयमा मन्त्रालयले थप निर्णय गर्नुपर्नेछ। मन्त्री श्रेष्ठले बोर्डको अधिकार हनन गर्दै विद्यार्थीको हितका लागि भन्दै सबै विषय लाग्नेलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरेर गलत निर्णय भएको छ। पनिकाले यो वर्ष मौका परीक्षा सञ्चालन गर्न करिब ७ करोड माग गरेको छ । सो बजेटको हालसम्म टुंगो लाग्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्