पहिलो पटक प्रकाशन भएको ‘ट्राफिक पुलिस मिरर’ बिमोचन



काठमाडौं

ट्राफिक प्रहरीले पहिलो पटक प्रकाशन गरेको ‘ट्राफिक प्रहरी मिरर २०२४ ’ विमोचन भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रम बीच उक्त मिररको विमोचन गरेका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले मिरर प्रकाशन गर्न सहकार्य गर्ने भाटभटेनी सुपरमार्केट, नाडा, बिवाईडि मोटर्स, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, स्याकर ट्रेडिङ, सिप्रदि ट्रेडिङ लगायतका संघ-संस्थाहरूलाई प्रशंसापत्र प्रदान  गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले ट्राफिक पुलिसको इतिहास र विकासक्रमका साथै सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा गरिएका प्रयासहरूलाई समेटेर तयार पारिएको उक्त मिररको प्रथम संस्करणको प्रकाशन कार्य प्रशंसनीय रहेको बताए ‌।

सो अवसरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक केशव बरालले विगतमा ट्राफिक प्रहरीले गरेका कामहरू देखाउने ऐनाको रूपमा मिरर प्रकाशन भएको र मिररले ट्राफिक व्यवस्थापनको विगत र वर्तमानलाई स्पष्ट पार्नेमा विश्वस्त रहेको बताए ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले  पहिलो पटक लिखित दस्तावेजको रूपमा प्रकाशन भएको मिररले २००७ सालदेखि हालसम्म ट्राफिक प्रहरीले गर्दै आएका कार्यहरूलाई समेटेको बताए ।

कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले ट्राफिक पुलिस मिररले विगतलाई स्मरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै ट्राफिक पुलिसको इतिहास देखि वर्तमान गतिविधि मिररमा प्रष्ट पारिएको उल्लेख गरे । उनले ट्राफिक प्रहरीको ऐतिहासिक विकासक्रम, ज्ञान, सिप तथा ट्राफिक प्रहरीका क्रियाकलापलाई लोप हुन नदिन मिरर प्रकाशन गरिएको बताए।

कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, यातायात व्यवस्थापनसँग सरोकार राख्ने सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरू, यातायात व्यवसायीहरूका साथै विभिन्न संघ-सस्थाका प्रतिनिधिहरू र संचारकर्मीहरूको समेत उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्