सलमानको हत्या योजना निगरानीमै खटिएका थिए ७० जना



एजेन्सी ।

गत अप्रिल १४ मा बलिउड सुपरस्टार सलमान खानको घरबाहिर भएको फायरिङको खबरले मानिसबीच सनसनी मच्चायो। हालसम्म मुम्बई प्रहरीको अपराध शाखाले सो घटनामा संलग्न बिश्नोई ग्याङका पाँचजना आरोपीविरुद्ध मुद्दा दायर गरेको छ भने उनीहरूले पञ्जावी गायक सिद्धू मुसेवालाई जस्तै गरी सलमानको पनि हत्या गर्नेे योजना बनाएको प्रहरीको दाबी छ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले दाएर गरेको मुद्दामा ग्याङस्टर लरेन्स विश्नोईको ग्याङले सलमान खानको हत्या गर्न ती व्यक्तिलाई २५ लाख भारु सुपारी दिएको छ। आरोपीहरूले पाकिस्तानबाट अत्याधुनिक हतियार एके–४७, एके–९२ र एम–१६ का साथै टर्कीमा बनेको जिगाना पेस्तोल समेत खरिद गर्ने तयारी गरेको र सोही हतियारद्वारा सलमानको हत्या गर्ने योजना बनाइएको उल्लेख छ।

त्यस्तै, प्रहरीको चार्जसिटमा जनाइएअनुसार सलमानको हत्याको योजना अगस्ट २०२३ देखि अप्रिल २०२४ को बीचमा बुनिएको र सो कार्यका लागि करिब ६०\७० जना व्यक्ति उनको निगरानीमा खटाइएका थिए। अनुसन्धानको क्रममा खुलेको सलमानसँग जोडिएको यो रहस्यले प्रहरी नै चकित परेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

प्रहरीलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार ग्याङस्टर गोल्डी ब्रार र लरेन्स बिस्नोईका भाइ अनमोल बिश्नोईको आदेश पाएपछि सलमानमाथि आक्रमण गर्ने तयारीमा सुटर रहेको समेत खुलेको छ। भारतको पूणे, रायगढ, नया“ मुम्बई, ठाणे र गुजरातमा लुकेर बसेका ती सुटर ब्रार र अनमोलको आदेश आउनासाथ सलमानलाई हमला गर्न तयारी अवस्थामा रहेको र उनीहरू सबै १८ वर्षभन्दा कम उमेरका किशोर रहेको बताइएको छ।

गत अप्रिलमा मोटरसाइकलमा आएका दुईजना सुटरले सलमानको मुम्बईको बान्द्रास्थित ग्लालेक्सि अपार्टमेन्टबाहिर ५ राउन्ड गोली चलाउँदा एउटा गोली सलमानको अपार्टमेन्टको भित्ता र अर्को गोली ड्रइङ रुमको भित्तामा लागेको थियो। प्रहरीले सो घटनापछि एकपछि अर्को गर्दै ६ जनालाई पक्राउ गरेर बयान लिएको थियो। घटनापछि कुख्यात ग्याङ्स्टर लरेन्स विश्नोईका भाई अनमोल विश्नोईले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सो घटनाको जिम्मेवारी लिएका थिए।

प्रहरीको अनुुसन्धानमा अनमोल पोर्चुगलमा रहेको खुलेको थियो। त्यसपछि लरेन्स र अनमोललाइ मुख्य आरोपी मानेर अनुसन्धान अगाडि बढाइएको थियो। घटनाबारे प्रहरीले ४ जुनमा सलमान र उनका भाइ अरबाज खानको पनि बयान लिएको थियो। सलमानले प्रहरीलाई दिएको बयानमा घटना भएको रात आफ्नो घरमा पार्टी रहेको र ढिला सुतेका कारण बिहान अबेरसम्म निदाएको बताएका थिए। उनले बिहान गोली चलेको आवाज सुनेर निद्रा खुलेको बताएका थिए।

घटनामा पक्राउ परेकामध्ये एक २३ वर्षीय अनुज थापनले हिरासतको शौचालयमा ओढ्नेको फाँसी लगाएर आत्महत्या गरेका थिए। पञ्जाबका उनलाई हतियारको आपूर्ति गर्ने गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। घटनाको मुख्य आरोपी ३१ वर्षीय लरेन्स बिश्नोई साबरमति जेलमा बन्दी छन्। उनलाई विशेष सुरक्षा भएको कोठामा राखिएको समाचारममा जनाइएको छ।

सन् २०२२ मा गुजरातको जेलमा रहेका बेला लरेन्शले पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्या गराएका थिए। सन् २०१३ मा प्रहरीस“गको मुठभेडपछि उनलाई प्रहरीले हिरासतमा लिएको थियो। एक टेलिभिजनसँगको अन्तर्वार्तामा लरेन्स बिश्नोईले अभिनेता सलमान खानलाई धम्की दिएका थिए।

सलमानले कालो हरिण मारेर बिश्नोई समुदायलाई अपमानित गरेको भन्दै माफी माग्न आग्रह गरेका थिए। बिस्नोईको धम्कीपछि महाराष्ट्र सरकारले सलमान खानलाई वाई प्लस सुरक्षा दिएको छ। सो समय बिस्नोई भटिंडा जेलमा रहेका थिए। तर अन्तर्वार्ताको स्थान कुन थियो भन्ने अज्ञात राखिएको थियो।

त्यसपछि पञ्जाब सरकारले पनि एक विज्ञप्ति जारी गर्दै उक्त भिडियो पञ्जाबको कुनै पनि जेलमा खिचिएको कुरालाई अस्वीकार गरेको थियो। त्यति बेलादेखि साबरमति जेलमा रहेका उनीमाथि हत्याको साथै करिब एक दर्जन आपराधिक आरोप लागेका छन्। करिब सात सय सुटर रहेको भनिएको उनको ग्याङमा उनले विभिन्न आपराधिक व्यक्तिलाई आश्रय दिएको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्