कांग्रेस र एमालेद्वारा राष्ट्रिय सरकार गठनको तयारी

प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न कांग्रेसको आह्वान



–कांग्रेसद्वारा सहमति अनुमोदन
–एमालेसँगको सत्ता सहकार्यमा कांग्रेस एक मत
–नयाँ गठबन्धनलाई तराई केन्द्रित दलको पनि समर्थन

 काठमाडौं ।

सोमबार मध्यरातमा प्रतिनिधिसभाका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच भएको समझदारीअनुसार राष्ट्रिय सहमतिको सरकार गठनबारे नेताहरूले तीव्र तयारी थालेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको नयाँ सत्ता समीकरणको सहमतिलाई दुवै दलले आ–आफ्नो पार्टीबाट अनुमोदन गराउँदै नयाँ सरकार गठनको तयारी थालेका हुन्। यसका लागि दुवै दलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।

कांग्रेसले पदाधिकारी, कार्यसम्पादन समिति र एमालेले सचिवालयको बैठक बोलाएर उक्त सहमति पारित गराउँदै प्रधानमन्त्रीलाई सरकार छाड्न आग्रह गर्ने निर्णय भएको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न गठबन्धन बनाइएको हो । यसलाई पूर्ण कार्यान्वयन गर्ने गरी अघि बढ्छौं ।’

बुधबार कांग्रेसको कार्यसम्पादन समितिले कांग्रेस–एमालेसहितको राष्ट्रिय सरकारका लागि भएका पछिल्ला निर्णयको अनुमोदन गरेको डा.महतको भनाइ छ । ‘संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलोपटक एमाले अध्यक्ष ओली र दोस्रोपटक कांग्रेसका सभापति देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्त गर्दछ,’ कांग्रेसको निर्णयमा भनिएको छ । त्यस्तै, नेकपा एमालेले मंगलबार नै नयाँ सत्ता समीकरणको निर्णय अनुमोदन गर्दै प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरिसकेको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरूबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताउनुभएको छ । ‘हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्पर्धाका आधारमा चल्नुपर्छ भन्नेमा छौँ’–उहाँले भन्नुभयो– ‘हामीले मिलेरै संविधान बनायौँ, मिलेरै अघि बढ्ने हो । मिलेरै अघि बढ्दा मुलुकका लागि आवश्यक निकास दिन सकिन्छ ।’

प्रायःजसो पार्टी निर्णयको विपक्षमा उभिने कांग्रेस संस्थापनइतरका नेताहरूले समेत एमाले सँगको सत्ता सहकार्यलाई सहजै समर्थन गरेका छन् । पार्टीको संस्थापन पक्षले नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनलाई प्राथमिकता दिँदै आएको बेला फरक मत राख्ने संस्थापनइतर समूहका नेताहरूले एमाले कांग्रेसबीच हुने भनिएको सत्ता सहकार्यले मुलुकलाई निकास दिन सक्ने बताएका छन् । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेस र एमालेबीच भएको सहमतिले मुलुकले निकास पाउने दाबी गर्नुभयो । कांग्रेस र एमालेबीचको सहकार्यले मुलुकलाई स्थिरता र समृद्धितर्फ अगाडि बढाउने विश्वास लिएको उल्लेख गर्दै नेता कोइरालाले भन्नुभयो– ‘कांग्रेस सधैँ सहमति, सहकार्य र एकताको राजनीतिमा दृढ रहेको छ । मुलुकको राजनीति सधैँ अस्थिरता र अन्योलपूर्ण बन्दै गएको अवस्थामा मुलुकका प्रमुख राजनीतिक शक्ति मिल्नु सुखद् हो ।’

दुई ठूला दलको सत्ता सहकार्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी, उपेन्द्र नेतृत्वको जनता समाजवादी पार्टी, महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीसहित तराई केन्द्रित दलले समर्थन गर्ने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्ने कुरा स्वागतयोग्य रहेको बताउनुभयो । अध्यक्ष लिङ्देनले भन्नुभयो– ‘संविधान संशोधन गर्न पहिलो र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने भन्ने कुरा आयो, त्यसलाई हामीले प्रारम्भिक रूपमा स्वागतयोग्य विषय मानेका छौं । संविधान के–केमा संशोधन गर्ने, यसका प्रक्रिया के हुन्छन्, यसले कस्तो स्वरूप लिन्छ, यसलाई हामीले होसियारीपूर्वक हेर्ने र आफ्ना धारणा बनाउन छौं ।’

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समेत पछिल्लो राजनीतिक घटनाक्रमपश्चात् कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुनसक्ने संकेत गर्नुभएको छ । अब गठन हुने सरकारमा सहभागी हुन साना दलहरूले अपेक्षा राखेका छन् भने ठूला दलका सांसदहरू मन्त्रीको लबिङमा लागिसकेका छन् ।

माओवादी–रास्वपासहित साना दलको छटपटी

संविधान संशोधनको एजेन्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउन कांग्रेस–एमाले सहमत भएपछि सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र), रास्वपासहित साना दलहरूमा तीव्र छटपटी देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालसहित सत्तामा रहेका अरू दलहरूले पनि आन्तरिक र अन्तरपार्टी छलफललाई तीव्र बनाएका छन् ।

कांग्रेस–एमालेको निर्णयप्रति टिप्पणी गर्दै सत्ताको नेतृत्वकर्ता माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले कांग्रेस र एमालेबीच भएको गठबन्धन पश्चगामी भएको बताउनुभयो । राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुन सक्ने तर पछि फर्किने गरी दुई दलबीच भएको सहमतिले देशमा द्वन्द्व निम्त्याउने उहाँको जिकिर छ। बुधबार संवाद डबलीले गरेको कार्यक्रममा बोल्दै गुरुङले भन्नुभयो– ‘संविधानको जग बृहत् शान्ति सम्झौता हो, बृहत् शान्ति सम्झौताको जग जनयुद्ध र जनआन्दोलन हो।’

२०८१ असार १७गते मध्यरातमा भएको कांग्रेस–एमाले सत्ता सहकार्यको सहमतिपछि छटपटीमा पर्नुभएका प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री बन्न पटक पटक आग्रह गरे पनि सभापति देउवाले आफूले ओलीसँग सहमति गरिसकेकाले पछि नफर्कने जवाफ दिइसक्नुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) आफूहरूले भ्रष्टाचारका फाइल खोल्न लागेपछि एमाले–कांग्रेसले नयाँ गठबन्धन बनाएर सरकार ढाल्ने काम गरेको टिप्पणी गरेको छ । पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर प्रचण्ड नेतृत्वको सरकारमा भएकादेखि सत्ताबाहिर भएका सबै राजनीतिक दलहरूले आन्तरिक र अन्तरपार्टी छलफललाई सकारात्मक र नकारात्मक दुवै कोणबाट तीव्र बनाएका छन् ।

समर्थन फिर्ताको निर्णयसँगै एमाले मन्त्रीले दिए राजीनामा

नेकपा (एमाले)ले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमालेको तर्फबाट गएका आठ मन्त्रीले राजीनामा दिएका छन्। कांग्रेस–एमाले सत्ता सहकार्य गर्ने निर्णयपछि बसेको पार्टीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेसँगै एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

राष्ट्रिय सरकार निर्माणमा सहयोग पुर्‍याउन प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्ने समय दिइएको भए तापनि प्रधानमन्त्रीले त्यसो नगर्नुभएको टिप्पणी गर्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भन्नुभयो, ‘प्रधानमन्त्रीको राजीनामा नआएपछि समर्थन फिर्ता लिने निर्णयमा पुग्यौं र सरकारमा गएका मन्त्रीहरूसमेत फिर्ता गरिएको छ।’

प्रतिक्रिया दिनुहोस्