रुचाइयो दयाहाङ र मिरुनाको घरज्वाईं

98
Shares

काठमाडौं ।

असार २८ गते रिलिजमा आउने फिल्म घरज्वाईंको हालै सार्वजनिक ट्रेलरले दर्शकमा कौतुहलता र चर्चा कमाएको छ। फिल्मको ट्रेलरलाई प्राप्त प्रतिक्रियाले दर्शक फिल्म हेर्न आतुर रहेको पाइको छ।

ट्रेलरले पाँच दिनमै नौ लाखभन्दा बढी भ्यूज, ३६ हजार बढी लाइक्स र २४ सय बढी कमेन्ट पाएको छ। कमेन्टमा अधिकांश दर्शकले दयाहाङ राई र मिरुना मगरको जोडीलाई रुचाएको जनाएका छन्।

‘कबड्डीमा हिमालको थकाली, जारीमा पूर्वको लिम्बू, अब पश्चिमको मगर समुदायको कथामा शुभकामना दयाहाङ मिरुनाको जोडी’ ट्रेलरको कमेन्ट बक्समा प्रवीण गुरुङले कमेन्ट गरेका छन्। अर्का कमेन्टर सनिम वान्तवाले लेखेका छन्, ‘सिनेमा समाजको ऐना हो। रुकुमको तकसेराको मगर समुदायको रीतिरिवाज, परम्परा, संस्कृति र विश्वास पद्धतिलाई त्यहाँका मगरले लगाउने भेषभूषा, बोलिचाली, खानपानलाई बहुत सुन्दर ढंगले देखाएको घरज्वाईं हेर्न आतुर छु।’

जीएम मुभिज् र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा जनक घर्ती मगरद्वारा निर्मित फिल्म पूर्वीरुकुम आसपासमा छायांकन गरिएको छ। दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, सोनाम लामा, विवेश बुढामगर, सुनिल मगरलगायत कलाकारले अभिनय गरेको फिल्ममा अनिल बुढामगरको कथा र निर्देशन छ।

फिल्ममा पटकथा र संवाद उनका साथमा विनोद खतिवडा र सुभाष कोइराला, शब्द रचना हर्क साउद र राम अविरल विष्ट, संगीत मनोज थापामगर र एसडी योगी, कला ध्रुव कार्की, छायांकन सुसन प्रजापति र सम्पादन कृष्ण भण्डारीको रहेको छ।