दीपिका मानसिक स्वास्थ्य प्रवर्द्धनमा सक्रिय

84
Shares

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण फिल्ममा मात्र नभई विभिन्न क्षेत्रमा सक्रिय छिन्। उनी बेलाबेलामा स्वास्थ्य र सामाजिकदेखि व्यावसायिक क्षेत्रका कार्यक्रम गरिरहेकी हुन्छिन् भने यी क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यमा सरिक भइरहेकी हुन्छिन्।

उनले सामाजिक कार्यका लागि सन् २०१५ मा लाइभ, लभ लाफ (एलएलएल) नामक फाउन्डेसनसमेत सञ्चालनमा ल्याएकी छन्। हालै उनले सो फाउन्डेसनमार्फत लेक्चर सिरिज अनप्लग्डको सुरुवात गरेकी छन्। त्रैमासिकरूपमा हुने भनिएको सो कार्यक्रमको उद्देश्य आममानिसमा मानसिक स्वास्थ्यबारे चेतना अभिवृद्धि र कुराकानीलाई प्रवर्द्धन गर्नु रहेको जनाइएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनको यो सिरिजमा समाजका प्रसिद्ध व्यक्तिले आफ्नो जीवनको अनुभव, सफलता, असफलता र सिकाइसम्बन्धी अनुभव बाँड्नेछन्। दीपिकाले सञ्चारमाध्यमलाई जानकारी गराएअनुसार लेक्चर सिरिज अनप्लग्ड असङ्ख्य मानिसबीच पुग्नुका साथै विभिन्न व्यक्ति, समुदाय र समाजमा एलएलएलको प्रभावलाई अझ बलियो बनाउनुका साथै मानसिक स्वास्थ्यसँग सम्बन्धित व्यक्तिको अनुभव बाँड्ने लक्ष्य रहेको छ। एलएलएलले एक दशकभित्र समाजमा महत्वपूर्ण मानसिक स्वास्थ्यबारे कुराकानीका लागि सुरक्षित स्थान बनाएको छ।

हालै प्रसारित सिरिजको पहिलो भागमा अभिनेता, उत्प्रेरक तथा कन्टेन्ट क्रिएटर दानिश सैतले आफ्नो मानसिक स्वास्थ्यबारे अनुभव सेयर गरेका छन्। कार्यक्रमको प्रस्तोता मनोचिकित्सक तथा लाइभ लभ लाइफका अध्यक्ष डा. श्याम भाट र लिभ लभ लाइफकी सीईओ अनिषा पादुकोण रहेका छन्।

दीपिका बेलाबेलामा मानसिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रम गरिरहेकी हुन्छ्नि भने उनले आफूले भोगेको मानसिक समस्याबारेमा अनुभव सेयर गर्ने गर्छिन्। उनले संस्थामार्फत भारतमा मानसिक स्वास्थ्यबारे जागरुकता ल्याउन र मानसिक समस्या भोगिरहेका मानिसप्रति समाजको दृष्टि परिवर्तन गर्न संस्थाको सुरुवात गरेकी हुन्।