थाइल्यान्डमा सगरमाथा म्युजिक अवार्ड सम्पन्न

84
Shares

काठमाडौं ।

अर्थ नेपाल प्रालिको आयोजनामा छैटौँ सगरमाथा म्युजिक अवार्ड २०८१ थाइल्यान्डमा सम्पन्न भएको छ। कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतका अनुसार फुलको माला गीतबाट उद्धव कार्की सर्वोत्कृष्ट लोकदोहोरी गायक र भाग्यमा विछोडबाट राजु सापकोटा सोही विधाको जुरी अवार्ड विजेता भएका छन्।

जुन मायाको पूजा गरेबाट नारायण थापाले पप आधुनिक गायक, सोल्टीनीको रेशमी केशबाट तृष्णा घर्तीमगरले लोकदोहोरी गायिका, मुस्कानै मिठोबाट सिमा थापाले जुरी अवार्ड, उमेर सत्र भयो बाट राजेश बर्देवाले लोकपप गायक, चुम्पा चपक्कैबाट सुमी पराजुलीले लोकपप गायिका, मलाई मन परेको मान्छेबाट दीपक चौंलागाईंले पपआधुनिक युगल गायन र मलाई तिमी हौ बाट रोम श्रेष्ठले नवप्रतिभा गायन, माया गरेउबाट प्रतीक्षा काफ्लेले मोडल, कसम होलाबाट दिया जिसीले पप मोडल, जिन्दगानी छोटो छ बाट प्रताप मर्दन बस्न्यात र कास्कीको फेवातालबाट मुना भुर्तेलले नवमोडलको अवार्ड पाए।

एनआरएनए थाइल्यान्डका अध्यक्ष भवीन्द्र बस्नेतको प्रमुख आतिथ्यता तथा एनआरएनए थाइल्यान्डका सल्लाहकार डेभिड खनाल र नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर दामोदर मिश्रको आतिथ्यतामा सम्पन्न कार्यक्रममा कलाकार सविना आचार्य, सोनिया राई र गायक विकी सिन्चौरी सगरमाथा कला सम्मान, सुरज प्याकुरेल सगरमाथा आर्थिक पत्रकारिता अवार्ड, सुदर्शन श्रेष्ठ सगरमाथा आर्थिक पत्रकारिता सम्मान र हेमेन्द्र घर्तीमगर सगरमाथा सम्मानबाट सम्मानित भए।

गीतकार कालिप्रसाद रिजाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड र पत्रकार रमण घिमिरेलाई सगरमाथा रजतकला पत्रकारिता सम्मानबाट सम्मान गरिने कार्यक्रम संयोजक मनोज थापाले जानकारी गराए। उनका अनुसार बाँकी विजेतालाई काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी अवार्ड प्रदान गरिनेछ।