बोर्डले मनायो २४औं वार्षिकोत्सव

हालसम्मका १३ पूर्वअध्यक्ष नै सहभागी भएनन्



काठमाडौं ।

चलचित्र विकास बोर्डले चावहिलस्थित बोर्ड कार्यलयमा एक कार्यक्रम आयोजना गरी २४औं वार्षिकोत्सव मनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाललाई चिनाउने प्रभावकारी माध्यम फिल्म भएको बताइन्।

‘पढाएर वा सुनाएर भन्ने कुरालाई श्रव्य दृश्य माध्यमले सहजै बुझाउन सकिन्छ। देशमा भएको परिवर्तन र ऐतिहासिक घटनाक्रम तथा देशलाई योगदान दिएका व्यक्तित्वलाई लिएर निर्माण भएका फिल्मलाई हामी सघाउने छौँ। किनकि फिल्म मनोरञ्जनमात्र नभई सन्देश प्रवाह गर्ने प्रभावकारी माध्यम पनि हो,’ मन्त्री शर्माले कार्यक्रममा भनिन्, ‘२०२६ मा तयार भई लागू भएको फिल्म ऐनलाई परिमार्जन गर्नुपर्नेमा सरकार स्पष्ट छ र त्यसका लागि प्रक्रिया अगाडि बढाइएको छ। पुरानो ऐनले अहिलेका कठिनाई सम्बोधन गर्न सक्दैनन् भन्नेमा मन्त्रालय स्पष्ट छ। तर, त्यसले सम्पूर्ण फिल्मकर्मी र यसमा जोडिएका संघसंस्थाको राय सुझाव लिँदै प्रक्रियागत रूपमा काम अगाडि बढाएका छौँ।’

समारोहमा बोर्डका अध्यक्ष भुवन केसीले आगामी वर्षका लागि फिल्म क्षेत्रले स्विकार्ने बजेट तथा कार्यक्रम ल्याउने दाबी गरे। आगामी साउन पहिलो सातासम्मका लागि बोर्ड अध्यक्ष रहेका केसीले आफू बोर्डको नेतृत्वमा अन्तिम चरणमा रहेको अवस्थमा बोर्डमा नरहे पनि नेपाली फिल्म क्षेत्रको हक हितका लागि सदैव समर्पित रहने बताए। भुवनले चलचित्र ऐन छिटोभन्दा छिटो पारित गर्न आग्रह पनि गरे।

त्यसैगरी सञ्चार सचिव रामकृष्ण सुवेदीले फिल्म जीवन, साहित्य र समाजको ऐना भएको चर्चा गर्दै बोर्ड गठन हुँदा बनाइएका योजनामध्ये केही पूरा भएका र बाँकी पूरा गर्नेगरी काम भइरहेको बताए।

पूर्वनेपाल सुन्दरी सुगरीका केसीद्वारा सञ्चालित कार्यक्रममा बोर्डका सदस्य तथा प्रवक्ता केएल बुढाथोकीले स्वागत गरेको कार्यक्रममा सदस्य सचिव राजेशकुमार थापाले बोर्डले गतआर्थिक वर्षदेखि चालू आर्थिक वर्षसम्म गरेका काम तथा भावी योजना प्रस्तुत गरेका थिए।

कार्यक्रममा बोर्डद्वारा आयोजित लघु फिल्म प्रतियोगिताका विजयीहरूलाई पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगितामा अनहदबाट निरञ्जनराज भेटुवालले प्रथम भई एक लाख ५० हजार रुपियाँ प्राप्त गरेका छन्। त्यसैगरी शिलाबालाबाट विभुता सिटौलाले द्वितीय भई एक लाख रुपियाँ प्राप्त गरिन् र म कमरेडबाट निर्मल पौडेलले तृतीय भई ७५ हजार रुपियाँ प्राप्त गरे।

सोही अवसरमा बोर्डको वार्षिक पुस्तक चलचित्र मञ्च २०८० र महिला फिल्मकर्मीको अभिलेख समेटिएको पुस्तक विमोचन गरिएको थियो। सोही अवसरमा बोर्डको लोगो र नारा पनि सार्वजनिक गरिएको छ।

नेपाली फिल्म र बोर्डलाई बुझाउँदै नेपाली फिल्मको इतिहासदेखि वर्तमानसम्मका विकासक्रम, रिलिजदेखि डिजिटलसम्मको प्रविधि र नेपाली मौलिकता झल्किने लोगोको डिजाइन प्राध्यापक एवं वरिष्ठ कलाकार राधेश्याम मुल्मीले गरेका हुन्।

लोगोसँगै बुद्धको ज्ञान सगरमाथाको शान, राष्ट्रिय चलचित्र हाम्रो पहिचान भन्ने नारा पनि सार्वजनिक गरिएको छ। यसअघि बोर्डले नेपाल सरकारको लोगो प्रयोग गर्दै आएको थियो। कार्यक्रममा बोर्डका उत्कृष्ट कर्मचारीलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो।कार्यक्रममा विभिन्न नृत्य पनि प्रस्तुत गरिएको थियो।

अभिनेता भुवन केसीसहित २३ वर्षको अवधिमा हालसम्म १४ जना अध्यक्ष पाएको बोर्डले वार्षिकोत्सवको अवसरमा सबै पूर्वअध्यक्षलाई निम्तो गरेको जानकारी गराएको छ। तर, तीमध्ये एकजना पूर्वअध्यक्ष पनि कार्यक्रममा सामेल भएनन्।

बोर्डमा हालसम्म निकिता पौडेलमात्र महिला अध्यक्ष भएकी थिइन्। तर, सबै पूर्वअध्यक्षलाई सम्बोधन गरिएको कार्यक्रममा उनको नाम नै लिइएन।

प्रतिक्रिया दिनुहोस्