जतिसुकै विषयमा ननग्रेड आएकाले पनि मौका परीक्षा दिन पाउने



–निर्देशिका संशोधन गर्ने निर्णय मन्त्रीको टेबलमा
–कक्षा ११ को पठनपाठन ढिला हुन सक्ने

काठमाडौं ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा जतिसुकै विषयमा ननग्रेडेड (एनजी) प्राप्त गर्नेले मौका परीक्षामा सहभागी हुन पाउने निर्देशिका संशोधन गर्ने तयारी गरेको छ।

दुईभन्दा बढी विषयमा एनजी आएका सबै विद्यार्थीलाई फेरि परीक्षा दिन पाउने व्यवस्थाको आलोचना भइरहेको अवस्थामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले लेटर ग्रेडिङ निर्देशिका संशोधनसम्बन्धी निर्णय गर्न लाग्नुभएको हो।

लेटर ग्रेडिङ निर्देशिका संशोधनका लागि पाठ्यक्रम विकास केन्द्रले प्रस्ताव तयार गरी आइतबार शिक्षा मन्त्रालयमा पठाइसकेको छ। उक्त प्रस्ताव मन्त्रीको टेबलमा पुगिसकेको जानकारी दिँदै मन्त्रालयका प्रवक्ता केशव दाहालले नेपाल समाचारसँगको कुराकानीमा केही दिनमा निर्णय हुनसक्ने बताउनुभयो ।

सो प्रस्तावमा दुई विषयभन्दा बढीमा एनजी प्राप्त गर्नेले मौका परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था राखिएको छ। यसबाट आगामी वर्षहरूमा समेत जतिसुकै विषयमा एनजी प्राप्त गरे पनि मौका परीक्षामा सहभागी हुने अवसर खुला हुनेछ।

पाठ्यक्रम विकास केन्द्रको बैठकले निर्देशिका संशोधन गरी मन्त्रालयमा पेस गरिसकेको जानकारी दिँदै केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठले भन्नुभयो–‘मन्त्रालयमा निर्णय गरेर पठाएका छौं, के भयो उतै बुझ्नुस्।’

वि.सं. २०७८ पुस ७ गते स्वीकृत भएको लेटर ग्रेडिङ निर्देशिकामा सोही वर्षको फागुन १८ गते पहिलो संशोधन भएको थियो । सोअनुसार एसईई परीक्षामा सैद्धान्तिकमा न्यूनतम ३५ र प्रयोगात्मकमा न्यूनतम ४० प्रतिशत प्राप्त गरेकै हुनुपर्छ। अर्थात् सैद्धान्तिक विषयमा २७ र प्रयोगात्मकमा १० अंक ल्याउनै पर्ने व्यवस्था छ। यसै प्रावधानअनुसार राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको थियो।

सार्वजनिक नतिजाअनुसार ५२ प्रतिशत बढी विद्यार्थीको एनजी आएपछि मन्त्रालयले एनजी आउने सबै विद्यार्थीलाई पुनः परीक्षा दिन पाउने व्यवस्था गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले साउन २३ देखि ३१ सम्म सबै विषयको परीक्षा गर्ने तालिका सार्वजनिक पनि गरिसकेको छ ।

एसईईको नतिजाअनुसार १ लाख १५ हजार ८ सय ३४ परीक्षार्थीले मौका परीक्षामा सम्मिलित हुन पाउने छन्। प्रस्तावित निर्देशिका संशोधन भएमा अब परीक्षा फारम भरेर सहभागी नहुने ८ हजार १ सय ९५ सहित २ लाख ४२ हजार ३ सय विद्यार्थीले पुनः परीक्षा दिन पाउने छन् ।

एसईई नतिजाअनुसार कक्षा ११ मा भर्ना हुन योग्य २ लाख २२ हजार ४ सय ७२, दुई विषय लाग्ने १ लाख १५ हजार ८ सय ३४ र दुई विषयभन्दा बढीमा २७ अंक पनि नल्याएका १ लाख २६ हजार ४ सय ७९ विद्यार्थीले पुनः परीक्षा दिन पाउनेछन्। एनजी आउने सबै विद्यार्थीले परीक्षा दिन पाउने भएपछि यो वर्षको कक्षा ११ को भर्ना पछि धकेलिनेछ भने पढाई शुरू हुन झण्डै भदौ अन्तिमसम्म कुनुपर्ने अवस्था आउने छ।

प्रतिक्रिया दिनुहोस्